नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । साहित्यिक क्षेत्रमा सक्रिय दुई महत्वपूर्ण कार्यक्रममार्फत स्रष्टाको सम्मान र नयाँ कृतिको सार्वजनिकरण गरिएको छ। साहित्यिक पत्रकार संघ (सापस) को ५५औँ वार्षिकोत्सवका अवसरमा पाँचजना सर्जकलाई ‘सापस विशिष्ट सर्जक सम्मान’द्वारा अभिनन्दन गरिएको छ भने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले साहित्यकार मन्जिला अनिलद्वारा लिखित महाकवि लक्ष्मीप्रसाद देवकोटामा आधारित महाकाव्य ‘बुवाहजुर’ लोकार्पण गरेको छ।
साहित्यिक पत्रकार संघको ५५औँ वार्षिकोत्सवका अवसरमा संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ, चित्रकार प्रा. मदन चित्रकार, कवि ज्ञान उदास तथा कलाकारद्वय चैत्यदेवी सिंह र सन्तोष पन्तलाई ‘सापस विशिष्ट सर्जक सम्मान’द्वारा अभिनन्दन गरिएको हो।
संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति के.के. कर्माचार्य प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा सहभागी थिए। अध्यक्ष लेकाली र प्रमुख आमन्त्रित कर्माचार्यले सम्मानित सर्जकहरूलाई दोसल्ला ओढाउँदै ढाका टोपी तथा फूलको माला लगाएर अभिनन्दनपत्र प्रदान गरेका थिए।
कार्यक्रममा डा. पुरुषोत्तमलोचन श्रेष्ठ, प्रा. मदन चित्रकार, कवि ज्ञान उदास, कलाकार चैत्यदेवी सिंह, सन्तोष पन्त, मदनदास श्रेष्ठ, इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, समालोचक प्रमोद प्रधान तथा कवि दीपा राई पुनलगायतको उपस्थिति थियो।
सोही अवसरमा ‘व्यथित काव्य डायस्पोरा सम्मान–२०८२’ कवि दीपा राई पुनलाई प्रदान गरिएको थियो।
प्रमुख आमन्त्रित व्यक्तित्व के.के. कर्माचार्यले सम्मानित व्यक्तित्वहरूसँग आफ्नो व्यक्तिगत तथा कलात्मक सम्बन्धसमेत रहेको स्मरण गर्दै सापसले स्रष्टाहरूको योगदानको खोजी गरी सम्मान गर्ने परम्पराको प्रशंसा गरे। उनले सम्मानित सबै सर्जकलाई बधाई तथा शुभकामना व्यक्त गरे।
संघका अध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्य राख्दै साहित्यिक पत्रकार संघको इतिहास र गतिविधिबारे प्रकाश पारे। वि.सं. २०२९ मा स्थापना भएको संघले विभिन्न आरोह–अवरोह पार गर्दै साहित्यिक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको उनले बताए।
संघका संस्थापक अध्यक्ष भवानी घिमिरेको योगदान स्मरण गर्दै लेकालीले संघले २०३८ सालदेखि कथा दिवस मनाउँदै आएको, २०६४ सालसम्म गाईजात्रा कार्यक्रम आयोजना गरेको तथा हालसम्म थुप्रै स्रष्टालाई सम्मान र अभिनन्दन गरिसकेको जानकारी दिए। पछिल्लो समय स्रष्टाहरूका कृतिलाई अडियो माध्यममा समेत ल्याउने काम सुरु गरिएको उनले बताए।
समालोचक प्रमोद प्रधानले सम्मानित पाँचैजना सर्जकको योगदानबारे विस्तृत परिचय प्रस्तुत गरे।
उनले कवि ज्ञान उदास साहित्यकार मात्र नभई पत्रकारसमेत रहेको उल्लेख गर्दै उनका हालसम्म आठवटा कृति प्रकाशित भइसकेको जानकारी दिए। उनले ‘हस्ताक्षर’ नामक संग्रहको सम्पादनसमेत गरेका छन्। प्रधानले सम्मान कार्यक्रमसँगै स्रष्टाका कृतिहरूको प्रदर्शनी र अप्रकाशित कृतिलाई प्रकाशनमा ल्याउने कामलाई पनि प्राथमिकता दिनुपर्ने धारणा राखे।
प्रा. मदन चित्रकारबारे बोल्दै प्रधानले उनलाई विरासतमा प्राप्त कलात्मक प्रतिभाका रूपमा चित्रण गरे। प्रसिद्ध चित्रकार तेजबहादुर चित्रकारका पुत्र मदन चित्रकारका कला सम्बन्धी विभिन्न पुस्तक प्रकाशित भएको र केही कृति अंग्रेजी भाषामा समेत रहेको उनले बताए। वि.सं. २०३४ मा पहिलोपटक चित्रकला प्रदर्शनी गरेका चित्रकारका कलाकृतिमा धर्म, दर्शन, मन्त्र र श्लोकको प्रभाव देखिने तथा उनका चित्रहरूमा ज्यामितीय आकारको प्रयोग पाइने प्रधानले बताए। चित्रकारले कला क्षेत्रमा अध्यापनसमेत गर्दै आएको उनको भनाइ थियो।
कलाकार चैत्यदेवी सिंहको योगदानको चर्चा गर्दै प्रधानले उनलाई अभिनय, नृत्य र गीति नाटकका साथै चलचित्र क्षेत्रमा समेत महत्वपूर्ण योगदान पुर्याएकी कलाकारका रूपमा प्रस्तुत गरे। ‘कुमारी’ चलचित्रकी नायिकाका रूपमा परिचित सिंहले वि.सं. २०२२ मा ‘आमा’ चलचित्रमा आमाको भूमिका निर्वाह गरेको उनले बताए। सोभियत संघमा कलामा स्नातकोत्तर अध्ययन गरेकी सिंह विदेशमा चलचित्रसम्बन्धी अध्ययन गर्ने पहिलो नेपालीमध्ये रहेको उल्लेख गर्दै प्रधानले उनको अभिनय तथा निर्देशनसम्बन्धी योगदानको चर्चा गरे।
संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ इतिहास, पुरातत्त्व र संस्कृति अनुसन्धानमा समर्पित व्यक्तित्व रहेको प्रधानले बताए। नेवारी संस्कृति र सम्पदाको क्षेत्रमा लामो समयदेखि अध्ययन तथा अनुसन्धान गर्दै आएका श्रेष्ठका विभिन्न कृतिको चर्चा गर्दै उनले अन्यले कमै अध्ययन गरेका विषयमा समेत श्रेष्ठले अनुसन्धान अघि बढाएको बताए।
त्यस्तै, कलाकार सन्तोष पन्तलाई अभिनयमा विविधता ल्याउन सफल कलाकारका रूपमा प्रस्तुत गर्दै प्रधानले रेडियो नाटक, स्टेज कार्यक्रम तथा टेलिभिजन सिरियलमार्फत उनले छुट्टै पहिचान निर्माण गरेको बताए। प्रतिस्पर्धात्मक कलाक्षेत्रमा आफूलाई फरक ढंगले प्रस्तुत गर्न पन्त सफल रहेको उनको भनाइ थियो।
सम्मानित सर्जकहरूले सम्मान तथा अभिनन्दनका लागि संघप्रति आभार व्यक्त गरे। सो अवसरमा कवि ज्ञान उदासले आफ्ना दुईवटा मुक्तकसमेत वाचन गरेका थिए।
कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, कलाकार मदनदास श्रेष्ठ तथा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले शुभकामना मन्तव्य राखेका थिए। किरण खरेलको शब्द तथा चन्द्रराज शर्मा र शिवशंकरको संगीत रहेको तारादेवीले गाएको चर्चित गीत ‘आँखाहरूले रून नखोजे, ओठहरूले हाँस्न नखोजे जीवन कति सुन्दर हुन्थ्यो होला’ गायिका सरिता शाहीले प्रस्तुत गरेकी थिइन्।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा सम्पन्न कार्यक्रमको अन्त्यमा संघकी कोषाध्यक्ष पद्मावती सिंहले धन्यवाद ज्ञापन गरेकी थिइन् भने साहित्यकार सविता श्रेष्ठ ‘बेहोसी’ले सहजीकरण गरेकी थिइन्।
यसैबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले साहित्यकार मन्जिला अनिलद्वारा लिखित ‘बुवाहजुर’ महाकाव्य लोकार्पण गरेको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन, व्यक्तित्व र योगदानमा आधारित उक्त कृतिको लोकार्पण काठमाडौंस्थित प्रज्ञाभवनमा गरिएको हो।
अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्षसमेत रहेकी मन्जिला अनिलको कृति लोकार्पण समारोह भागवत वाचक अजितप्रसाद गौतमको प्रमुख आतिथ्य तथा अनेसास नेपाल च्याप्टरका अध्यक्ष एवं केन्द्रीय कार्यसमिति सदस्य राजेन्द्र के.सी.को अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि गौतम, अध्यक्ष के.सी., महाकवि देवकोटाका सुपुत्र पदम देवकोटा, त्रिभुवन विश्वविद्यालय नेपाली विभागका पूर्वप्रमुख प्राडा. खगेन्द्रप्रसाद लुइटेल, अनेसास केन्द्रीय समितिका पूर्वअध्यक्ष राधेश्याम लेकाली, पूर्वसल्लाहकार प्रतीक ढकाल, प्राडा. बीओटी सल्लाहकार तीर्थ अधिकारी, पूर्वसूचना आयुक्त कमला ओलीलगायतले कृतिको लोकार्पण गरेका थिए।
कार्यक्रममा अनेसास बीओटीका कोषाध्यक्ष नेत्रबन्धु पोख्रेल, केन्द्रीय समितिकी निवर्तमान सदस्य तारा उप्रेतीलगायतको उपस्थिति थियो।
प्रमुख अतिथि अजितप्रसाद गौतमले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। त्यसपछि अतुल स्मृति गुरुकुलका बालबालिकाले मंगलाचरण प्रस्तुत गरेका थिए। लोकार्पित महाकाव्यबाट कवि कल्पना काफ्ले र भवानी खतिवडाले केही श्लोक वाचन गरेका थिए।
कार्यक्रममा महाकाव्यको समीक्षा साहित्यकार डा. देवी नेपाल र समालोचक ज्ञाननिष्ठ ज्ञवालीले गरेका थिए। उनीहरूले कृतिको विषयवस्तु, संरचना तथा देवकोटाको व्यक्तित्वलाई साहित्यिक दृष्टिले प्रस्तुत गर्ने प्रयासबारे चर्चा गरेका थिए।
कृतिकार मन्जिला अनिलले आफ्नो लेखकीय मन्तव्य राख्दै महाकवि लक्ष्मीप्रसाद देवकोटाका बारेमा समाजमा विभिन्न भ्रम तथा अपव्याख्या रहेको आफूले महसुस गरेको र ती भ्रमलाई चिर्ने उद्देश्यले ‘बुवाहजुर’ लेखेको बताइन्।
उनका अनुसार देवकोटाको बहुआयामिक व्यक्तित्व, सिर्जनशीलता र योगदानलाई थप अध्ययन तथा विमर्शका लागि कृतिले आधार दिने उद्देश्य राखेको छ।
सो अवसरमा अनेसास नेपाल च्याप्टरको तर्फबाट कृतिकार मन्जिला अनिललाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा र वरिष्ठ आख्यानकार राजेन्द्र विमलप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारणसमेत गरिएको थियो।
अनेसास नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले स्वागत मन्तव्य राखेकी थिइन् भने उपाध्यक्ष निर्मलरमण पराजुलीले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सहजीकरण डा. घनश्याम खतिवडाले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अजितप्रसाद गौतम, कृति समीक्षकद्वय डा. देवी नेपाल र ज्ञाननिष्ठ ज्ञवाली, अतुल स्मृति गुरुकुल तथा कार्यक्रम सहजकर्ता डा. घनश्याम खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो।
साहित्यकार, पत्रकार, अनेसासका सदस्य तथा कृतिकार मन्जिला अनिलका परिवारजनको उल्लेख्य उपस्थितिमा सम्पन्न कार्यक्रममा ‘बुवाहजुर’ महाकाव्यलाई नेपाली साहित्यमा देवकोटामाथि केन्द्रित नयाँ सिर्जनाका रूपमा सार्वजनिक गरिएको हो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij