Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

जनैपूर्णिमा आज : जनै फेर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने परम्परा

जनैपूर्णिमा आज : जनै फेर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने परम्परा

देशभर वैदिक सनातन धर्मावलम्बीहरूले शुक्रबार नव यज्ञोपवीत (जनै) तथा रक्षाबन्धन धारण गर्दै जनैपूर्णिमा पर्व श्रद्धापूर्वक मनाइरहेका छन्। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने यस पर्वमा नदी, ताल, पोखरी तथा कुण्डमा स्नान गरी गुरु–पुरोहितबाट मन्त्रिएको रक्षासूत्र बाँध्ने तथा नयाँ जनै धारण गर्ने धार्मिक परम्परा रहेको छ।

धार्मिक विश्वासअनुसार मन्त्रद्वारा अभिमन्त्रित रक्षासूत्र धारण गर्दा नकारात्मक शक्तिबाट सुरक्षा प्राप्त हुने मान्यता छ। ब्राह्मण पुरोहितले वैदिक मन्त्रोच्चारणसहित यजमानको दाहिने नाडीमा रक्षाबन्धन बाँधिदिने चलन रहिआएको छ।

विधानशास्त्रअनुसार ब्राह्मण, क्षेत्री र वैश्य वर्णका तागाधारीहरूले यस दिन पुरानो जनै फेरेर नयाँ यज्ञोपवीत धारण गर्नुपर्ने व्यवस्था छ। त्यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि व्रत बस्ने, शुद्ध आचरण अपनाउने तथा पूर्णिमाका दिन बिहानै स्नान गरी वैदिक विधिअनुसार जनै परिवर्तन गर्ने परम्परा छ।

स्नानपछि जौँ, तिल र कुशद्वारा ऋषिहरूलाई तर्पण गरिन्छ। कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ, अगस्त्य तथा अरुन्धतीको पूजा एवं तर्पण गरिने भएकाले यस दिनलाई ‘ऋषितर्पणी’ पनि भनिन्छ।

वैदिक गुरु परम्परामा यज्ञोपवीतलाई ‘ब्रह्मसूत्र’ वा ‘ज्ञानको धागो’का रूपमा लिइन्छ। यही कारण जनै फेर्न र रक्षाबन्धन बाँध्न बिहानैदेखि पशुपतिनाथ, अशोकविनायक, वाग्मती किनारालगायत देशभरका मठमन्दिर र तीर्थस्थलमा भक्तजनको घुइँचो लागेको छ।

जनैपूर्णिमाको अर्को विशेषता क्वाँटी खाने परम्परा हो। एघार प्रकारका गेडागुडी भिजाएर टुसा उमारेर बनाइने क्वाँटीले शरीरलाई आवश्यक पोषण दिनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने विश्वास गरिन्छ। आयुर्वेदका अनुसार क्वाँटीको सेवनले वर्षायाममा लाग्ने रुघाखोकीजस्ता समस्याबाट बच्न मद्दत पुग्ने मान्यता छ।

तराई क्षेत्रमा भने यस दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर रक्षाबन्धन पर्व मनाउने परम्परा रहेको छ। यसले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास र आत्मीयता अझ प्रगाढ बनाउने सामाजिक विश्वास छ। पछिल्लो समय यो चलन पहाडी क्षेत्रमा पनि विस्तार हुँदै गएको छ।

जनैपूर्णिमाका अवसरमा काठमाडौँको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु तथा नवलपरासीको त्रिवेणीधामलगायतका तीर्थस्थलमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार