१. राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न निर्देशन दिएका छन्। देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी बढाउनसमेत मन्त्रालयले निर्देशन दिएको छ। बैतडीमा शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका १० वटै स्थानीय तहलाई शिक्षकको राजनीतिक गतिविधिबारे निगरानी गर्न पत्राचार गरेको छ।
२. शुक्रबारदेखि तीन दिन देशभर वर्षाको प्रक्षेपण
मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ। गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ भने कोशी, बागमती, मधेश र सुदूरपश्चिमका केही क्षेत्रमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
३. भोटेकोशी बाढीपीडितलाई भाडादेखि मोड्युलर घरसम्मको व्यवस्था
सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अस्थायी आवासको व्यवस्था अघि बढाएको छ। आफैँ कोठा भाडामा लिएर बस्न चाहने चारजनासम्मको परिवारलाई मासिक १५ हजार र चारजनाभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय सरकारले गरेको छ।
४. भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति
भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र पहिरोबाट पर्यटन क्षेत्रमा प्रारम्भिक रूपमा ५२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रतिवेदन सार्वजनिक भएको छ। पर्यटन क्षेत्रको पुनरुत्थान र भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि पुनरुत्थान योजना बनाउने तयारीसमेत भइरहेको छ।
५. एन्फाको निलम्बन फुकुवाका लागि फिफासँग उच्चस्तरीय पहल
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल संघ (एन्फा) को निलम्बन फुकुवाका लागि फिफासँग उच्चस्तरीय पहल भइरहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले विधान संशोधन र तहगत निर्वाचनलगायत विषयमा राष्ट्रिय खेलकुद परिषद्ले दिएको निर्देशन पालना नगरेपछि एन्फा निलम्बनमा परेको बताए।
६. स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो, छानबिन समिति गठन
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई जिम्मेवारीबाट हटाइएको छ। पोखराको एक नर्सिङ होमको शय्या थप गर्ने विषयमा आर्थिक सौदाबाजी भएको आरोप सार्वजनिक भएपछि प्रदेश सरकारले घटनाको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
७. ओलीको राजनीतिक प्रतिवेदन : निर्वाचन हारको जिम्मेवारी स्वीकार, नेतृत्व नछाड्ने संकेत
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुनको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको नैतिक जिम्मेवारी आफूले स्वीकार गर्ने बताएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उनले जिम्मेवारी स्वीकार गर्नु नेतृत्वबाट हट्नु नभएको उल्लेख गरेका छन्।
८. त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक गम्भीर घाइते
काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्। उनको शरीरमा ९० प्रतिशतभन्दा बढी जलन भएको चिकित्सकले बताएका छन्। घाइते लामाको कीर्तिपुरस्थित जलन अस्पतालमा उपचार भइरहेको छ।
९. ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ वटा समस्याग्रस्त सहकारीका ७९ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको छ। ऋण असुलीबाट प्राप्त रकम नै बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ।
१०. बसमा आगलागीपछि राहदानी वितरण सेवा प्रभावित
काठमाडौंको राहदानी विभाग परिसरअगाडि बसमा आगलागी भएपछि विद्युत् तथा इन्टरनेट सेवा प्रभावित हुँदा राहदानी छपाइ र वितरण सेवा प्रभावित भएको छ। विभागले विद्युत् तथा इन्टरनेट सेवामा आएको अवरोधका कारण राहदानी वितरणमा कठिनाइ भएको जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij