Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

‘बा : एक योद्धा’को काठमाडौं प्रिमियर, परिवार र बुवाआमाको कथाले छोयो दर्शकको मन

‘बा : एक योद्धा’को काठमाडौं प्रिमियर, परिवार र बुवाआमाको कथाले छोयो दर्शकको मन

नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । शुक्रबारदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र **‘बा : एक योद्धा’**को मंगलबार साँझ काठमाडौंमा प्रिमियर गरिएको छ। क्युएफएक्स सिभिल महलमा आयोजित प्रिमियरमा चलचित्रकर्मी, कलाकार, संगीतकर्मी तथा पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

नेपालगञ्ज, दाङ, धरान र बुटवलमा आयोजित प्रिमियरबाट सकारात्मक प्रतिक्रिया पाएपछि काठमाडौंमा समेत प्रिमियर गरिएको हो। प्रिमियरमा सहभागी अधिकांशले चलचित्रको कथा आम परिवारसँग जोडिन सक्ने प्रतिक्रिया दिएका छन्।

विशेषगरी आफ्नै सन्तानबाट बुवाआमाले भोग्नुपर्ने अपमान, बेवास्ता र पीडालाई चलचित्रमा प्रस्तुत गरिएकाले दर्शकले यसलाई आफ्नै परिवारको कथाका रूपमा महसुस गर्न सक्ने प्रतिक्रिया दिएका हुन्।

चलचित्र हेरेपछि अभिनेता हरिवंश आचार्यले आफू भावुक बनेको बताए। उनले चलचित्रमा युवाको बढ्दो अपेक्षा र विदेश पलायनसँगै बुवाआमाले सन्तानका लागि गर्ने त्यागलाई प्रस्तुत गरिएको बताए। आफ्नो पुस्ताले भोगेको समय र चलचित्रको परिवेश फरक भए पनि यसको कथा अहिलेको आधुनिक समाजको वास्तविकतासँग नजिक रहेको उनको भनाइ थियो।

पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले ‘बा : एक योद्धा’को कथावस्तु, प्रस्तुति र सन्देश प्रभावकारी रहेको प्रतिक्रिया दिए। चलचित्रले आधुनिक समाजमा बढ्दै गएको स्वार्थ र त्यसले पारिवारिक सम्बन्धमा पारिरहेको असरलाई प्रस्तुत गरेको उनले बताए।

अभिनेत्री ऋचा शर्माले चलचित्र ‘एकदमै मिठो’ रहेको प्रतिक्रिया दिँदै अभिनेत्री झरना थापाको अभिनयको प्रशंसा गरिन्। उनले सुहाना थापाको अभिनयमा पनि क्रमशः निखार आउँदै गएको बताइन्। अभिनेत्री पुष्पा थिङ लामाले पनि चलचित्रले आफूलाई भावुक बनाएको बताइन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्रले सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको मुख्य विषय बनाएको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय छ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रको कथा तथा पटकथा पनि निर्देशक लम्सालकै हो। वसन्त लम्साल निर्माता रहेको चलचित्रमा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन्।

शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन्। चलचित्रलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार