नेपाल सम्वत् ११४६, यंलाथ्वः १४, चतुर्दशी (९ असोज २०८३, २५ सेप्टेम्वर, २०२६) शुक्रबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा दोलखामा महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी र तयारी तीव्र बन्दै गएको छ। यसैक्रममा कांग्रेसनिकट कानुन व्यवसायी अधिवक्ता खड्गबहादुर बुढाथोकी (सुवास) लाई पेशागत क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि बनाउने तयारी अघि बढाइएको छ।
वाणिज्य कानुनमा स्नातकोत्तर गरेका बुढाथोकी विगत करिब २५ वर्षदेखि कानुन व्यवसायमा सक्रिय छन्। उनी डेमोक्रेटिक लयर्स एसोसिएसन (DLA) नेपालका पूर्वकेन्द्रीय सचिव तथा सर्वोच्च अदालत बार एसोसिएसनका सदस्य हुन्।
कानुन व्यवसायसँगै नीतिगत तथा आर्थिक विषयमा समेत अनुभव हासिल गरेका बुढाथोकीले वित्तीय सुधार, कानुन निर्माण तथा दोलखाको जलविद्युत् विकास र लगानी प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको बताइन्छ। कांग्रेसको विधान संशोधन तथा पार्टीभित्रका विभिन्न नीतिगत बहसमा समेत उनले सक्रिय चासो राख्दै आएको निकट स्रोतहरूको भनाइ छ।
पेशागत अनुभव, कानुनी ज्ञान तथा राष्ट्रियस्तरको संस्थागत संलग्नतालाई आधार बनाउँदै बुढाथोकीलाई दोलखाबाट पेशागततर्फ महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढाउने तयारी गरिएको हो।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयनको कार्यक्रम २०८३ असोज ३ गतेका लागि तय गरिएको छ। त्यसपछि असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्वाचन कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको छ।
यसैबीच, दोलखामा कांग्रेसको महाधिवेशन तयारीलाई लिएर विभिन्न समूहले आ–आफ्नो ढंगबाट गतिविधि अघि बढाइरहेका छन्। पछिल्लो समय संस्थापनइतर समूहले समेत दोलखाका लागि महाधिवेशन तयारी संयोजक र सहसंयोजक तोकेर प्रक्रिया अघि बढाएको समाचार सार्वजनिक भएको छ।
बुढाथोकीलाई पेशागत क्षेत्रबाट प्रतिनिधिका रूपमा अघि बढाउने तयारीले दोलखाको कांग्रेस राजनीतिमा कानुन तथा नीतिगत क्षेत्रको प्रतिनिधित्वको विषयलाई समेत चर्चामा ल्याएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij