नेपाल सम्वत् ११४६, यंलागाः १, प्रतिपदा –११ असोज २०८३, २७ सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । आइची–नागोया एसियाली खेलकुदमा नेपाली क्रिकेट टोलीले उत्कृष्ट सुरुवात गरेपछि पदकको आशा बढेको छ। समूह ‘ए’ मा रहेको नेपालले बलियो अफगानिस्तानलाई पाँच विकेटले पराजित गर्दै समूह विजेताका रूपमा क्वाटरफाइनलमा स्थान बनाएको हो। जापानसँगको खेल भने वर्षाका कारण रद्द भएको थियो।
जापानविरुद्धको खेल रद्द भएपछि नेपालले तीन अंकसहित समूहको शीर्ष स्थानमा रहेर अन्तिम आठमा प्रवेश गरेको छ। अफगानिस्तान दुई अंकसहित उपविजेता बनेको छ भने आयोजक जापानको प्रतियोगिता समूह चरणमै समाप्त भएको छ।
अफगानिस्तानविरुद्ध नेपालको जितमा बलिङतर्फ कुशल भुर्तेलले महत्वपूर्ण भूमिका खेलेका थिए। उनले चार विकेट लिएपछि अफगानिस्तानको ब्याटिङ दबाबमा परेको थियो। स्पिनर ललित राजवंशीले पनि प्रभावकारी बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्। कप्तान सन्दीप लामिछानेको लेग स्पिन पनि नेपालको बलियो पक्षका रूपमा रहेको छ।
नेपालको ब्याटिङ पनि पछिल्ला खेलमा राम्रो देखिएको छ। जापानविरुद्ध वर्षाका कारण खेल १५ ओभरमा सीमित भएपछि नेपालले चार विकेट गुमाएर १४९ रन बनाएको थियो। सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित ५७ रन बनाए भने लोकेश बमले २२ बलमा छ छक्का र एक चौकासहित अविजित ५७ रन जोडे। दुवैले पाँचौँ विकेटका लागि ३० बलमा ६५ रनको अविजित साझेदारी गरेका थिए।
यसअघि ह्वाङजाउ एसियाडमा पनि नेपाली क्रिकेटले विश्व क्रिकेटमा चर्चा पाएको थियो। मङ्गोलियाविरुद्ध दीपेन्द्रसिंह ऐरीले नौ बलमा अर्धशतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका थिए। त्यही खेलमा कुशल मल्लले ५० बलमा अविजित १३७ रन बनाएका थिए भने नेपालले २६ छक्का प्रहार गरेको थियो।
पछिल्लो प्रदर्शनका कारण नेपाली समर्थकले यसपटक एसियाडमा पदकको अपेक्षा गरेका छन्। टोलीमा बलिङ र ब्याटिङ दुवैतर्फ राम्रो संयोजन देखिएको छ भने प्रतियोगितास्थलको स्पिनमैत्री पिच पनि नेपालका बलरका लागि उपयोगी देखिएको छ।
पदकको सपना पूरा गर्न नेपालले अब क्वाटरफाइनलमा श्रीलङ्काको सामना गर्नुपर्नेछ। श्रीलङ्का एसियाड क्रिकेटमा अनुभवी टोली हो। सन् २०१४ को इन्छन एसियाडमा श्रीलङ्काले अफगानिस्तानलाई हराउँदै स्वर्ण पदक जितेको थियो।
यसपटक भने श्रीलङ्काले आफ्नो नियमित शीर्ष टोलीका धेरै खेलाडीलाई एसियाडमा सहभागी गराएको छैन। सहन अराचिगेको कप्तानीमा रहेको श्रीलङ्काली टोलीमा नयाँ तथा राष्ट्रिय टोलीमा आउने–जाने खेलाडीहरू समावेश छन्। त्यसैले नेपालले श्रीलङ्काविरुद्ध राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेको छ।
नेपाल र श्रीलङ्काबीच एसियाडमा यसअघि एकपटक मात्र प्रतिस्पर्धा भएको थियो। सन् २०१० को ग्वान्जाउ एसियाडको क्वाटरफाइनलमा श्रीलङ्काले नेपाललाई दुई विकेटले पराजित गरेको थियो।
यसपटक भने नेपाली टोली समूह विजेताका रूपमा आत्मविश्वाससहित क्वाटरफाइनलमा पुगेको छ। बलियो स्पिन बलिङ, राम्रो ब्याटिङ, पछिल्लो खेलको लय र नेपाली समर्थकको साथ नेपालका लागि महत्वपूर्ण पक्ष बनेका छन्। अब श्रीलङ्काविरुद्धको खेलमा जित निकाल्न सके नेपाल पदकको अझ नजिक पुग्नेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij