Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दसैँ बिदामा रारा घुम्ने पर्यटक बढे, सडकमा चहलपहल

दसैँ बिदामा रारा घुम्ने पर्यटक बढे, सडकमा चहलपहल

नेपाल सम्वत् ११४६, कौलागाः २, द्वितिया (११ कार्तिक २०८३, २८ अक्टोबार, २०२६) बुधबार, बाँपिझ्याला । दसैँको बिदा मनाउन कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्ने आन्तरिक तथा भारतीय पर्यटकको संख्या बढेको छ। सडकको कठिन यात्रा र भौगोलिक चुनौतीका बाबजुद यस वर्षको दसैँमा रारा जाने पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढेको हो।

स्थानीय दीपेन्द्र उपाध्यायका अनुसार सुर्खेत हुँदै रारा जाने पर्यटकका दैनिक ५० भन्दा बढी गाडी पुग्ने गरेका छन्। त्यस्तै, २०० भन्दा बढी मोटरसाइकलमा समेत पर्यटक रारा भ्रमणमा आउने गरेका छन्।

अहिले पर्यटकहरू नाग्म–गमगडी सडक हुँदै राराताल पुग्ने र जुम्ला सदरमुकाम खलंगा हुँदै फर्किने गरेका छन्। दसैँ र तिहारको लामो बिदाका कारण यस वर्ष रारा घुम्न आउने पर्यटकको संख्या बढेको उपाध्यायले बताए।

‘अहिले पर्यटकको रोजाइमा रारा परिरहेको छ। दसैँमा नाग्म–गमगडी सडकमा निकै चहलपहल देखियो। कर्णालीको रारा पर्यटकका लागि दुःख बिर्साउने गन्तव्य बनिरहेको छ,’ उनले भने।

रारातालको प्राकृतिक सुन्दरता र शान्त वातावरणले देशविदेशका पर्यटकलाई आकर्षित गर्दै आएको छ। विशेषगरी दसैँ–तिहारको बिदामा परिवार तथा साथीभाइसँग घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेको स्थानीयको अनुभव छ। विदेशी पर्यटक भने प्रायः पदयात्राका लागि कर्णाली पुग्ने गरेका छन्।

पर्यटकको आगमन बढेसँगै नाग्म–गमगडी सडक आसपासका होटल तथा पसलमा व्यापारसमेत बढेको छ। भ्रमणमा आउने पर्यटकले स्थानीयस्तरमा उत्पादित अर्गानिक परिकार खाने र स्थानीय उत्पादन खरिद गर्ने गरेकाले स्थानीय व्यवसायीलाई फाइदा पुगेको उपाध्यायले बताए।

पर्यटकको चहलपहल बढे पनि सडकको कमजोर अवस्था र पर्याप्त खानपिनको सुविधाको अभावले उनीहरूलाई पुनः भ्रमणमा आउन प्रेरित गर्न कठिन भइरहेको स्थानीयको भनाइ छ। हिउँदमा हिउँ र वर्षायाममा हिलोका कारण कर्णालीका सडकमा यात्रा गर्न कठिन हुने गरेको छ।

रारा पुग्ने पर्यटकले नाग्म हुँदै तालको अवलोकन गर्ने र भुलभुले लेक हुँदै खालीको सडकबाट जुम्ला सदरमुकाम खलंगा फर्किने गरेका छन्। पर्यटकको बढ्दो आकर्षणलाई दिगो बनाउन सडक सुधार, गुणस्तरीय होटल तथा खानपिनको व्यवस्था र पर्यटनमैत्री पूर्वाधार विकास आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार