Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका

भुटानमा भीषण बाढी, हिमताल विस्फोटको आशंका

नेपाल सम्वत् ११४६, कौलागाः ५, पञ्चमी (१३ कार्तिक २०८३, ३० अक्टोबार, २०२६) शुक्रवार, बाँपिझ्याला । भुटानमा गएराति अचानक आएको भीषण बाढीले जनजीवन प्रभावित बनाएको छ। बाढीका कारण गासा जिल्लाको छाचु क्षेत्र प्रभावित भएको छ भने पुनाखा–गासा राजमार्गका केही खण्ड बगाउँदा लाया क्षेत्र सडक सम्पर्कबाट विच्छेद भएको छ।

भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)का अनुसार मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्‍याएको छ। जोमलिङथाङ क्षेत्रमा बाढीले पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ भने लाया गेओगअन्तर्गत टोङचुद्राक क्षेत्रमा सडक क्षतिग्रस्त भएको छ।

सिन्ताफु हिमताल विस्फोटको आशंका

गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुन सक्ने आशंका गरिएको छ। मो छू नदीको मुहान क्षेत्रमा पर्ने यो हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरमा हिमतालबाट पानी बाहिरिएको जस्तो देखिए पनि ताल विस्फोट भएकोबारे आधिकारिक पुष्टि हुन बाँकी छ।

जोखिम क्षेत्रमा सतर्कता

बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, कर्मचारी, स्थानीय बासिन्दा र आगन्तुकलाई सुरक्षित स्थानमा सारिएको छ। पुनाखाको येबिसा क्षेत्रमा बाढीको पानी पुगेपछि त्यहाँको सेन्ट्रल स्कुलका आवासीय विद्यार्थीलाई समेत अग्लो स्थानमा सारिएको छ।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको तासिथाङ र येबेसा क्षेत्रमा जलस्तर निगरानी गरिरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा साइरन प्रणाली सक्रिय पारिएको छ।

बाढीसँगै ढुंगा, माटो र गेग्रान बगेर आउन सक्ने जोखिमका कारण पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका युनिट बन्द गर्नुका साथै जलाशयको पानीको सतह घटाउन बाँधका ढोका खोलेको छ।

बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन। हिमताल विस्फोट भए–नभएको तथा बाढीको वास्तविक कारणबारे थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार