नेपाल सम्वत् ११४६, कौलागाः ७, सप्तमी (१५ कार्तिक २०८३, १ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–३, लामिडाँडामा वडास्तरीय मदिरा न्यूनीकरण समिति गठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। २०८३ कात्तिक १३ गते सम्पन्न कार्यक्रममा वडा अध्यक्ष दलबहादुर तामाङको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो। समितिको अध्यक्षमा वडा अध्यक्ष तामाङ रहनुभएको छ।
स्थानीयस्तरमा मदिराको उत्पादन, बिक्री वितरण तथा सेवनको अवस्थाबारे पहिचान गरी यसको प्रयोगबाट उत्पन्न हुन सक्ने सामाजिक समस्यालाई न्यूनीकरण गर्ने उद्देश्यले समिति गठन गरिएको हो। समितिमा स्थानीय भेग, भूगोल र समावेशितालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
नवगठित समितिले वडाभित्र मदिराको उत्पादन, बिक्री वितरण तथा सेवनको वर्तमान अवस्थाबारे जानकारी सङ्कलन गरी न्यूनीकरणका लागि आवश्यक पहल गर्नेछ। मदिराको प्रयोगलाई व्यवस्थित गर्न वडास्तरीय आचारसंहिता निर्माण गर्नुका साथै त्यसलाई अभियानका रूपमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।
त्यसैगरी, समितिका पदाधिकारीलाई सक्रिय बनाउने, मदिरा न्यूनीकरणसम्बन्धी गतिविधि सञ्चालन गर्ने र स्थानीय समुदायलाई यस विषयमा सचेत गराउने उद्देश्यसमेत राखिएको छ। मदिराको अनियन्त्रित सेवनले व्यक्ति, परिवार तथा समाजमा पार्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न समुदायको सहभागिता र सहकार्यलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ।
समिति गठन तथा अभिमुखीकरण कार्यक्रम ग्रामीण विकास टुकी संघ र सिविन नेपालको सहयोगमा सञ्चालित महिला तथा बालबालिका सशक्तीकरण एवं जीवनस्तर उत्थान परियोजना (ओसेलिप) अन्तर्गत सम्पन्न भएको हो।
परियोजनाले स्थानीयस्तरमा सामाजिक सचेतना अभिवृद्धि गर्दै समुदायको जीवनस्तर सुधार गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसैक्रममा गठित मदिरा न्यूनीकरण समितिले स्थानीय सरोकारवाला तथा समुदायसँग समन्वय गरी मदिराको उत्पादन, बिक्री वितरण र सेवनलाई व्यवस्थित बनाउन आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ।
समितिमार्फत वडास्तरमा आचारसंहिता निर्माण र कार्यान्वयन, सचेतनामूलक गतिविधि तथा सामुदायिक सहभागितामा आधारित अभियान सञ्चालन गर्न सके मदिरा न्यूनीकरणको प्रयास थप प्रभावकारी हुने विश्वास लिइएको छ। यसबाट स्वस्थ, सुरक्षित र मर्यादित सामाजिक वातावरण निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
रामचन्द्र श्रेष्ठ, कृषि विज्ञ, टुकी संघ, दोलखा ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij