Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

दोलखाको आर्थिक विकासको नयाँ ढोका खोल्न लामाबगर नाका सञ्चालनको प्रस्ताव

दोलखाको आर्थिक विकासको नयाँ ढोका खोल्न लामाबगर नाका सञ्चालनको प्रस्ताव

नेपाल सम्वत् ११४७, कौलागाः १४, चतुर्दशी (२२ कार्तिक २०८३, ८ नोभेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । नेपाली कम्युनिस्ट पार्टी जिल्ला समिति दोलखाको आयोजना तथा नेपाली कम्युनिस्ट पार्टी दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको सहआयोजनामा दोलखावासी, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा शुभचिन्तकबीच आज उपत्यकाको काठमाण्डौ ब्याङ्केटमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नयाँ वर्ष नेपाल संवत् ११४७ तथा छठपर्वको अवसरमा आयोजित कार्यक्रममा दोलखा जिल्लाका विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, सामाजिक व्यक्तित्व तथा शुभचिन्तकहरूको उपस्थिति रहेको थियो।

nekpa2.jpg

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दोलखा जिल्ला इन्चार्ज विशाल खड्काले दोलखाको विकास, आर्थिक समृद्धि र उत्तरी सीमापार व्यापारिक सम्भावनालाई केन्द्रमा राख्दै लामाबगर–फलाक सीमापार नाका सञ्चालनको आवश्यकता र औचित्यबारे अवधारणापत्र प्रस्तुत गर्नुभयो।

लामाबगर–फलाक नाकालाई राष्ट्रिय प्राथमिकतामा राख्न माग

खड्काद्वारा प्रस्तुत अवधारणापत्रमा दोलखाको बिगु गाउँपालिकास्थित लामाबगर–फलाक नाकालाई नेपाल–चीनबीचको वैकल्पिक तथा पूरक अन्तर्राष्ट्रिय व्यापारिक नाकाका रूपमा विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ। अवधारणापत्रले उक्त नाका सञ्चालनलाई दोलखाको स्थानीय विकासमा मात्र सीमित नराखी नेपालको उत्तरी पारवहन सुरक्षा, व्यापार विविधीकरण, क्षेत्रीय सम्पर्क र राष्ट्रिय आर्थिक समृद्धिसँग जोडिएको रणनीतिक विषयका रूपमा अघि सारेको छ।

तातोपानी र रसुवागढीजस्ता विद्यमान उत्तरी नाकाहरू बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण पटक–पटक अवरुद्ध हुने गरेको उल्लेख गर्दै लामाबगर–फलाक नाकालाई वैकल्पिक व्यापारिक मार्गका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

अवधारणापत्रमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका क्रममा निर्माण भएका सडक, सुरुङमार्ग तथा पुलहरूको उपयोग गरी तुलनात्मक रूपमा कम लगानीमा नाका सञ्चालनको आधार तयार गर्न सकिने उल्लेख छ। सङ्गुटी–लामाबगर हुँदै सीमासम्मको करिब ४८ किलोमिटर सडकलाई स्तरोन्नति गरी दोहोरो लेनमा विस्तार गर्नुपर्ने प्रस्तावसमेत गरिएको छ।

कृषि उत्पादनको निर्यातदेखि पर्यटन प्रवर्द्धनसम्मका सम्भावना

लामाबगर–फलाक नाका सञ्चालनमा आएमा दोलखासहित आसपासका जिल्लामा उत्पादित कृषि तथा पशुपालनजन्य वस्तु, जडीबुटी र हस्तकलाका सामग्रीलाई चिनियाँ बजारसम्म पुर्‍याउन सहज हुने अवधारणापत्रमा उल्लेख छ।

विशेषगरी दोलखाको आलु, छुर्पी, घिउ, चौंरीजन्य उत्पादन तथा यार्सागुम्बा, पाँचऔँले र पदमचालजस्ता जडीबुटीको निर्यात सम्भावनालाई प्राथमिकतामा राखिएको छ। यसबाट स्थानीय उत्पादनको बजारीकरण, रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

त्यस्तै, बिगु गाउँपालिकाको लाप्चीस्थित महायोगी मिलारेपाको तपस्थल, रोल्वालिङ उपत्यका तथा छो–रोल्पा हिमताललाई जोडेर धार्मिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावनासमेत अवधारणापत्रमा प्रस्तुत गरिएको छ।

नेपाल सरकारसमक्ष पाँचबुँदे प्रमुख माग

अवधारणापत्रमार्फत नेपाल सरकारसमक्ष लामाबगर–फलाक करिडोरलाई राष्ट्रिय प्राथमिकताप्राप्त रणनीतिक उत्तरी सीमापार आर्थिक करिडोरका रूपमा घोषणा गर्न माग गरिएको छ।

त्यसैगरी, परराष्ट्र मन्त्रालय र नापी विभागको नेतृत्वमा लामाबगर–फलाक तथा लाप्ची–रामडिङ क्षेत्रका सीमा बिन्दुहरूको संयुक्त प्राविधिक प्रमाणीकरण गर्न, चीन सरकारसँग नाका सञ्चालनसम्बन्धी द्विपक्षीय समझदारी गर्न तथा सङ्गुटी–लामाबगर–सीमा सडकको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार गरी स्तरोन्नतिका लागि बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ।

लामाबगरमा आधुनिक सुक्खा बन्दरगाह, भन्सार कार्यालय तथा कृषि र पशुपन्छी क्वारेन्टिन प्रयोगशाला स्थापना गर्नुपर्ने र सङ्घ, प्रदेश तथा स्थानीय तहको सहभागितामा एकीकृत आयोजना व्यवस्थापन इकाइ गठन गरी कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने मागसमेत गरिएको छ।

अवधारणापत्रमा नाका सञ्चालनबाट बिगु गाउँपालिकामा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना हुनुका साथै दोलखाको व्यापार, कृषि, पर्यटन र पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा व्यक्त गरिएको छ। साथै, सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दाको जग्गा तथा सम्पत्तिको उचित क्षतिपूर्ति, पुनर्वास र स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिनुपर्ने विषयसमेत समेटिएको छ।

कार्यक्रममा चियापान तथा शुभकामना आदानप्रदान समारोहका संयोजक नेकपाका नेता महेन्द्रबहादुर कार्कीले उपस्थित सबैलाई नयाँ वर्ष तथा छठपर्वको शुभकामना व्यक्त गर्नुभएको थियो। नेकपा दोलखाका संयोजक अशोक दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमको औपचारिक तथा अनौपचारिक सत्रमा उपस्थित नेता तथा कार्यकर्ताहरूलाई सामूहिक रूपमा आसन ग्रहणका लागि सम्बोधन गर्दै कार्यक्रम सञ्चालन नेपाली कम्युनिस्ट पार्टी दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष एवं उद्घोषक इराजकुमार राउतले गर्नुभएको थियो।

कार्यक्रमले दोलखाको विकास, आर्थिक समृद्धि, आपसी सद्भाव र जिल्लाको साझा सरोकारका विषयमा राजनीतिक दल तथा जिल्लावासीबीच संवाद र सहकार्यको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार