Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

आज भाइटीका, दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको पर्व

आज भाइटीका, दाजुभाइ–दिदीबहिनीको प्रेम र सद्भावको पर्व

नेपाल सम्वत् ११४७, कछलाथ्वः २, द्वितिया (२५ कार्तिक २०८३, ११ नोभेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज देशभर दाजुभाइ तथा दिदीबहिनीले एकापसमा टीका लगाएर भाइटीका पर्व मनाउँदैछन्। प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीका नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य तथा विशेष महत्त्व बोकेको पर्व हो। यस पर्वलाई यमद्वितीया पनि भनिन्छ।

भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने चलन छ। टीका लगाइसकेपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिने तथा आफ्नो गच्छेअनुसार उपहार, कपडा र दक्षिणा दिएर माया, सम्मान तथा आत्मीयता प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा रहेको छ।

धार्मिक मान्यताअनुसार दिदीबहिनीले दाजुभाइको पूजा आराधना गरी टीका लगाइदिँदा उनीहरूको आयु लामो हुने, रोगव्याधि तथा सङ्कटबाट रक्षा हुने र जीवनमा सुखसमृद्धि प्राप्त हुने विश्वास गरिन्छ। दिदीबहिनीको पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने धार्मिक मान्यता पनि छ।

टीकाको उत्तम साइत बिहान ११ः०७ बजे

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे रहेको छ। समितिका अध्यक्ष सहप्रा डा. पुरुषोत्तम भट्टराईका अनुसार भाइटीका दिनभर लगाउन सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः०७ बजेको समय उत्तम रहेको छ। राज्य सञ्चालकले भने निर्धारित साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ।

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पूर्वतर्फ र टीका लगाउने दाजुभाइ पश्चिमतर्फ फर्कनुपर्ने समितिले जनाएको छ। यसो गर्दा वृश्चिक राशिमा रहेका चन्द्रमा दाहिने पर्ने धार्मिक मान्यता छ। आज बिहान चन्द्रमा वृश्चिक राशिमा प्रवेश गर्नेछन्। त्यसअघि चन्द्रमा तुला राशिमा रहनेछन्।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार चन्द्रमा तुला राशिमा रहेका बेला पनि यही दिशाअनुसार टीका लगाउन सकिनेछ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्ने शास्त्रीय मान्यता रहेको उहाँको भनाइ छ।

पञ्चरङ्गी टीकाको धार्मिक महत्त्व

भाइटीकाका दिन दिदीबहिनीले लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गर्छन्। त्यसपछि मूल थालीमा लेखिएको अष्टदलमा अष्टचिरञ्जीवी मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुरामका साथै चित्रगुप्त, यमराज, यमुना, धर्मराज तथा गणपत्यादि देवताको पूजा आराधना गरिन्छ।

दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर निधारमा टीका लगाइदिने परम्परा छ। त्यसपछि मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने तथा ओखर, कटुस, मरमसला र सेलरोटीलगायत परिकार दिने चलन छ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङका टीका लगाउने व्यवस्था रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभएको छ।

टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई आफ्नो आर्थिक क्षमताअनुसार कपडा, गरगहना, दक्षिणा तथा विभिन्न उपहार दिने गर्छन्। यसले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।

दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर खुला

भाइटीकाका दिन दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिका लागि काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गर्ने परम्परा छ। वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने यस मन्दिरमा दिदीबहिनी वा दाजुभाइ नहुने भक्तजनले पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार भक्तजनका लागि बालगोपालेश्वर मन्दिर खुला गर्न आवश्यक तयारी पूरा गरिएको छ।

यसैगरी, जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा पनि दिदीबहिनी वा दाजुभाइ नहुनेले पूजा, दर्शन गरी टीका लगाउने प्रचलन छ। संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा. गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर बालगोपालेश्वर मन्दिर प्रवेश गर्ने समस्या देखिएपछि मन्दिर बन्द गरिने गरिएको थियो। त्यस समयमा दिदीबहिनी नहुने दाजुभाइ र दाजुभाइ नहुने दिदीबहिनी जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भेला भएर टीका लगाउने गर्थे।

विसं २०३५ पछि रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म भक्तजनले खञ्जनेश्वर महादेव मन्दिरमा पुगेर टीका लगाउने गरेका थिए। पुनर्निर्माणपछि विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः भक्तजनका लागि खुला गरिएको हो।

नेवार समुदायमा किजपूजा

भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउने गर्छन्। यस दिन नेवार समुदायमा दाजुभाइलाई विशेष पूजा गरी सगुन दिने, टीका लगाइदिने र दीर्घायुको कामना गर्ने परम्परा छ।

नेवार समुदायमा कुल परम्परा तथा स्थानीय चलनअनुसार कसैले कात्तिक शुक्ल प्रतिपदाका दिन त कसैले द्वितीयाका दिन किजापूजा गर्ने गर्छन्। भक्तपुरका अधिकांश नेवार समुदायले यस वर्ष अघिल्लो दिन अर्थात् मंगलबार किजापूजा गरेका छन्। त्यहाँको तलेजु मन्दिरका पुजारी तथा ज्योतिषीको निर्णयअनुसार किजापूजाको दिन निर्धारण गरिएको जनाइएको छ।

भाइटीका नेपाली समाजको धार्मिक, सांस्कृतिक तथा पारिवारिक सम्बन्धसँग जोडिएको महत्त्वपूर्ण पर्व हो। यसले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, सहयोग, सम्मान र पारस्परिक जिम्मेवारीलाई स्मरण गराउँदै परिवार तथा समाजमा एकता र सद्भाव कायम राख्न विशेष योगदान पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार