हामी सबैलाई श्री आर्यावलोकितेश्वर जनबहाद्यः रहेको जनबहाल त थाहा छ, तर यहि जनबहाल बाहिर रहेको लुँचुभुलु अजिमाको बारे कतिलाई थाहा छ त ? प्रायः सधैं अस्तव्यस्त रहने असन–वंघः ( इन्द्रचोक) बाटोमा पर्ने यो मन्दिर हामी सबैले देखेकै होला, तर भित्र कुन देवी–देवता छ या के मन्दिर हो भनेर धेरै लाई थाहा नहोला !!
काठमाडौको प्राचीन नगर भित्र पर्ने लुँचुभुलु अजिमा, अस्तव्यस्त हुने ठाउँमा रहेर पनि ओझेलमा परेको सम्पदा हो भन्दा फरक नपर्ला ! प्राचीन नगरको केलटोलमा अवस्थित श्री लुँचुभुलु अजिमाको मन्दिरमा र तोरणमा कालिका चामुण्डा रुपमा मुर्ती स्थापना गरिएको छ । तीन तल्ले नेपाली छत्र शैलीमा बनेको यस मन्दिरको बनावट निकै सुन्दर र भव्य रहेको छ । कलाकृतिहरु प्रशस्त मात्रामा कुँदिएको यस मन्दिरमा कामासुत्रमा देखाइने विभिन्न यौन मुद्रा र भावनाहरु कुँदिएका छन् ।
लुँचुभुलु अजिमालाई लुँचु अजिमा, लमि अजिमाको नामले पनि चिनिन्छ भने लुँचुभुलु अजिमालाई प्राचीन काठमाडौ नगरको दशमहाविद्या मध्येकी एक देवीको रुपमा पनि मान्ने गरिन्छ तथा भद्रकाली देवीकै स्वरुप मनिन्छ । हरेक वर्ष पाहाँचह्रे तथा घोडेजात्राको समयमा अन्य देवी–देवता सँगै लुँचुभुलु अजिमाको पनि भव्य खट जात्रा हुने गर्दछ ।
महाबौद्धमा रहेको द्यः छेँ अर्थात देवघरबाट लुँचुभुलु अजिमाको जात्रा गरिने मुर्तिलाई खटमा राखेर केलटोल स्थित मन्दिरमा राखी विधिवत् पूजा गरेपछी जात्राको आरम्भ हुने गर्दछ । विभिन्न गुथिका बाजागाजाका साथ लुँचुभुलु अजिमाको भव्य जात्रा हुने गर्दछ ।
लुँचुभुलु अजिमाको बारेमा समाजमा विभिन्न लोककथा तथा किंवदन्तीहरु रहेको पाइन्छ। लोककथा तथा किंवदन्तीहरु प्रमाणिक नहुने भएकोले यसलाई प्रमाण तथा साँच्चै भएको हो भनेर यकिन गर्न सकिन्न, तथापी मिथ्या मात्र हो भनेर नकार्न पनि मिल्दैन !
प्रचलित किंवदन्ती अनुसार एकदिन भद्रकालेव देवी शक्ति नलिइकन साधारण मनुष्य रुपमा आफ्नो देशमा के–कस्तो भैरहेको छ भनि हेर्न आए । यताउता डुल्दै घुम्दै उनी जात्रा भइरहेको ठाउँमा पुगिन् । शक्ती नलिइकन साधारण मान्छेको रुपमा आएकी उनले जात्रा देखेपछी आफू देवी भएको कुरा पनि बिर्सिन् र जात्रामा मज्जाले रमाउन थालिन् ।
उल्लासमय, बाजागाजाको आवाज, मानिसहरुको रमाइलोपन देखेर उनी त्यसैमा भुलिन् र कति बेला रात बित्यो पत्तै पाइनन् । भोलिपल्ट ब्रम्ह मुहर्तमा झिसेमिसे उज्यालो भएपछी त्यसको प्रभावले उनको शरिरमा उर्जा उत्पन्न भयो र बल्ल उनी होसमा आइन्, जात्रामै भुलेकी भद्रकाली होसमा आउँदा बिहान हुनै आँटेको देखेर उनी अलप हुन खोजिन तर साधारण रुपमा भएकोले सकेन।
त्यसपछी उनी जति सक्दो छिटो फर्कन थाले, तर हालको केलटोलमा आइपुग्दा भाले बासेपछी, उनी त्यहिँ अन्तर्ध्यान भइन् र त्यहाँ शक्तिपीठ उत्पन्न भएको मानिन्छ । यसरी भाले बासेपछि अन्र्तध्यान भइ स्थापित भएकोले उनलाई ग्वंग हा द्यः भनेर पनि चिनिन्छ भने यहि शब्द अपभ्रंस भइ गंगा द्यः भनेको पनि सुन्न पाइन्छ ।
यसै गरी अर्को किंवदन्ती अनुसार भने एक समय अत्ति नै शक्तिशाली तान्त्रिकले प्राचीन सहरको ठ्याक्कै बाहिर रहेको भद्रकाली देवीलाई आफ्नो तन्त्र बलले तानेर आफ्नै घरमा लाने सोचे । त्यसैले सो तान्त्रिक ७ दिनसम्म हरेक रात शक्तिपीठमा गएर आफ्नो भएभरको बिद्या र शक्ति प्रयोग गरि तान्त्रोक्त पूजा गर्दथे । सातौं दिनमा उनले आफ्नो ३ जना चेलाका साथ गोप्य पूजागरी, त्यहाँ नरबली दिएर देवीलाई आवहान गरि कलशमा सारे ।
यसरी कलशमा सारेर आफ्नो घर तर्फ लाँदै गर्दा दोबाटो र चौबाटोमा रहेको भूतप्रेतले दुःख दिन थाल्यो र बाटो सबै छेकर बढ्नै दुएनन् र उनले आफ्नो चेलाहरुलाई सो शान्त गर्न अह्राए तर उनीहरुले शान्त गर्न सकेनन् । अन्ततः सो तान्त्रिकले कलशलाई भुइँमा बिसाएर सो भूतप्रेतहरुलाई आफ्नो वशमा पारेर बाटो पन्छाए र सो कलश उठाउन खोजे, तर उनले सकेनन ।
जत्ती कोसिस गर्दा पनि नसकेछी उनी रिसले चुर भइ सो कलशलाई लातले हान्न लाग्दा, भद्रकाली प्रत्यक्ष भइ उनको रगत छादेर तत्कालै मृत्यु भयो। आफ्नो गुरुको मृत्यु भएको देखेर चेलाहरु डराइ देवीसँग क्षमा याचना गरे, र देवीले उनीहरुसँग भएको तन्त्रको दुरुपयोग नगर्ने सर्तमा माफ गरिदिए र सो स्थानमै शक्तिपीठ स्थापन गर्न आदेश दिए। यहि आदेश अनुसार ३ जना चेलाहरुले हालको स्थानमा लुँचुभुलु अजिमाको स्थापना गरेको मान्यता पनि रहेको पाइन्छ।
लुँचुभुलु अजिमा रातको समयमा मान्छेको भेषम देश घुम्न जान्छिन भन्ने जनविश्वास रहेको पाइन्छ भने अझै पनि बुढापाकाहरुले मन्दिरबाटै रातको समयमा २०–२५ वर्षकी युवतीहरु रुपमा देवी निस्केको देखेको कुराहरु सुनाउने गर्दछन् । लुँचुभुलु अजिमाको मन्दिरमा रहेको अर्को मुख्य विशेषता भनेको अखः हिति, अर्थात उल्टो धारा हो।
आकर्षक बुट्टाहरु कुँदिएको ढुंगेधारा मन्दिरको ढोकाको दायाँबायाँ रहेको छ भने यसको कारण अझै पनि रहस्यमय छ ।
यसै गरि नेपाल संवत् अनुसार १० औं महिना गुँलाको समयमा स्वयम्भू लगायत अन्य बौद्ध विहारहरु, चैत्य भएका स्थानमा १ महिना मेला लाग्ने गर्दछ । गुँला पर्व भरी १ महिना, काठमाडौका विभिन्न बाजा खलकहरु स्वयम्भूमा बाजागाजा सहित जाने परम्परा रहेको छ भने, स्वयम्भूमा गएका बाजा खलकहरु जनबहाल गइ अन्तिममा लुँचुभुलु अजिमा परिक्रमा गरेर द्यः ल्हाय् (देवता कहाँ बजाइने विशेष बोल) गरेपछी मात्र सम्पन्न हुने मान्यता रहि आएको छ।
कथा किंवदन्ती तथा जनविश्वास जे जस्तो रहेता पनि, अति नै महत्वपूर्ण रहेको यस मन्दिर तथा यस सँग सम्बन्धित विभिन्न पर्व तथा संस्कृतिहरु जोगाउनु हामी सबैको कर्तव्य हो !!
३ जयश्री लुँचुभुलु अजिमा
लेख : फ्य्राङ्की फ्रेण्ड्ज
तस्बिर साभार : फ्र्याङ्की फ्रेण्ड र आँचल महर्जन ।
संकलक : बालकृष्ण श्रेष्ठ पासा
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij