
बाँपीझ्याला, दोलखा । दोलखा तिरको कोही एक सामान्य व्यक्तिलाई “के छ हालखबर ?” भनेर उनको हालखबर सोद्धा उनको जवाफ आउँथ्यो,– “ के हुनु र ! जिन्दगी वज्रवती जस्तै छ,” भनेर । एउटा कहावत छ ‘जीवन जिउनु त वज्रवती जस्तै’ यहाँ उल्लेख गर्एिको प्रसङ्गले वज्रवतीले सामान्य मानिसको जीवन जिउने आदर्श व्यक्त गरेको छ ।
यो वज्रवतीलाई गृष्म र वर्षा ऋतु लाग्यो भनेर हर्षले उन्माद हुनु पनि छैन र हिउँद या शिशिर ऋतु आयो भनेर बिस्मात पनि छैन । किनकि पथलैया देखि पूर्व लाग्दा देखिने पूर्व–पश्चिम राजमार्गमा गुडेको गाडीजस्तै एक तमाशले अगाडि बढिरहन्छ, न गियर बदल्नुपर्ने न दायाँबायाँ मोड्नुपर्ने । हो यो वज्रवती धारा त्यस्तै जसले प्राचिन शहर दोलखाको आफ्नो मौलिकता जोगाउन सहयोग गरेको छ ।

भीमेश्वर नगरपालिका वडा नं. २ अन्तर्गत दोलखा शहरको पश्चिम–दक्षिण कुनामा रहेको तीन वटा ढुंगे धारा मध्ये बीचमा रहेको यो एक ढुंगे लोकप्रिय र प्रचलित धारालाई नै वज्रवती (वज्र धारा) भन्ने गरिन्छ । यसको दायाँ पट्टि कुमारी धारा (चिचावती) र बायाँ पट्टि कुमार धारा (क्वाराङ्वती) रहेको छ ।
दोलखाको प्राण प्यास बनेर निरन्तर जलधारा बगिरहने राइती (राजहिटी) जसलाई तीनधारा पनि भन्ने गरिन्छ । यसको प्रवेशद्वारबाट ठीक बायाँतिरबाट सिँढी झर्दै तल गएपछि लहरै तीनवटा धारा आउँछ । यो धारा जाने मार्ग दोलखाबासीको खेतबारी जाने पैदल मार्ग हो ।
केही दशक पहिले यो पैदल मार्ग खेतबारी मात्रै नभएर सहर्पा, जिलु, किरातीछाप, चरङ्गे दोभान हुँदै रामेछाप सिन्धुली जाने छोटो दुरीको मूल मार्ग पनि थियो । जब चरिकोटबाट लामोसाँघु–जिरी सडक मार्ग बन्यो त्यसबेला देखि आवतजावतमा सुस्त हुँदै गयो । तथापि दोलखाको इतिहासमा यो मार्ग र ती धाराहरू अपरिहार्य रहेको छ ।

यो वज्रवती धारा लगायत अन्य तीन धाराको बारेमा यथेष्ट कुराको जानकारी नभएपनि तारीगाउँ निवासी दिवंगत आदरणीय रामदास जोशी (दोलखा मालपोत कार्यालयका पूर्व सुब्बा साहेब चन्द्रदास जोशीका पिता) र डोकुलुङा घर भएका दिवंगत इन्द्रबहादुर जोशी (हाल भीमेश्वर गुठी व्यवस्थापन सँग सम्बद्ध रहेका चरित्रकृष्ण जोशी र महेन्द्र जोशीका पिता ) र स्वर्गीय कृष्णमुरारी मास्के (डा.सुनिल मास्केका पिता) तीनजनाको बीचमा भएको वार्ताबाट जानकारी भएको थियो ।
ड्वाल्ङा (डोकलुङा) निवासी जोशीकै पुर्खाहरूले दीक्षाकर्म जान्नेहरूका लागि नित्यकर्म गर्नका लागि स्नान गर्न अन्य व्यक्तिले लसपस नगर्ने र छुवाछुत नगरिने स्थलमा पवित्र रूपमा गंगा धारा वगिरहने ठाउँको आवश्यक्ता परेकोले र आशौच गर्न एकान्त खोल्सा (झोर) पनि नजिकै रहेकोले सो ठाउँमा दीखापूजा (दीक्षाकर्म)का लागि छुट्टै, महिनावारी हुने किशोरी महिलाका लागि छुट्टै अनि कुमार केटाहरूका लागि छुट्टै भनेर भिन्नाभिन्नै धारा बनाइएको हो भन्ने सुनिएको हो ।
प्राचीन कथनको आधारमा बीचमा रहेको धारा वज्रवती डोकलुङाबासीको पुर्खाहरूले बनाउन लगाएका हुन् भन्ने कथन उनै हजुरबा रामदास जोशीले बताउनु भएको थियो । त्यसरी नै सबैभन्दा माथि रहेका (मिसामिवती) कुमारीवती र तल्लो भागमा रहेको कुमारवती भने हाबिचाका दिवंगत गेहेन्द्रबहादुर श्रेष्ठ (नरेन्द्र श्रेष्ठ) का पिताका पनि पुर्खा र बाहारटोलका पूर्खासँग मिलेर डोकलुङाबासीकै पुर्खाहरूको समन्वयमा बनेको भन्ने कुरा उनै दुईजना दिवंगत जोशीले कृष्णमुरारी श्रेष्ठलाई बताएको सुनिएको हो ।

हाम्रा अग्रज पुख्र्यौली अभिभावक जोशीद्वयले त्यो कुरा बताए पनि सो धारा नेपाल सम्वत् ६४४ भन्दा पहिले नै बनिसकेको देखिन्छ । यसको अर्थ दोलखामा जोशी परिवारको बसोबास पनि पुरानै हो भनेर मान्न सकिन्छ । सायद अहिलेकालाई यो कुरा अपत्यारिलो होला । यो लेखक त्यतिबेला भरखरै सातौँ कक्षामा पढिरहेको पनि जानकारी गराएँ । जतिबेला (२०३५ साल) स्वर्गीय सानुबुबा कृष्ण मुरारी मास्के कालिन्चोक निमावि चरिकोटमा शिक्षक हुनुहुन्थ्यो ।
वर्जवतीमा वहने धारालाई न साउने भेलसँग मतलव छ, न त खडेरीसँग । जुन धारा अनवरत रूपमा झरिरहेको हुन्छ । एकताका भने पानी वग्ने मार्गमा मुसाले दुलो बनाएकोले पानी ठ्याप्पै सुक्न लागेको थियो । पछि तत्कालीन गाउँ पञ्चायतको मातहतमा सबै निरीक्षण गरेर जस्ताको तस्तै बनाएका थिए । यसरी निरन्तर रूपमा इतिहास झल्काइरहने सो धाराको संरक्षण र सम्बद्र्धनका लागि त्यत्ति ध्यान दिइएको पाइएको थिएन ।
अहिले दोलखा शहर भित्रका र बाहिरका ढुंगे धारा पुनर्निर्माण प्रकिया जोडतोडका साथ अघि बढिरहेको छ । जुन कामका लागि खानेपनी तथा सरसफाई डिभिजन कार्यालय नं. ४ मन्थली रामेछापको आयोजनामा दोलखाको उपभोक्ता समिति अन्तर्गत दोलखाका प्राचीन ढुंगेधारा संरक्षण समितिको अगुवाइमा यी धाराहरू पुनर्निर्माण भैरहेको छ । उही असार १५ गतेभित्र पूर्ण निर्माण् भइसक्ने कुरा सोही समितिका अनिल श्रेष्ठले बाँपीझ्याला डटकमलाई बताएका छन् । वहाँको भनाइ अनुसार यो वज्रवती पुनर्निर्माण्को काम आजसम्म ८० प्रतिशत सकिसकेको छ । यो योजनाको लागत ३० लाखको रहेको उनले बताएका छन् ।

वज्रवतीको काम सम्पन्न भए लगत्तै दोलखा शहरकै नसु टोल मुनिको वतिचा धारा र पिङ्गल टोल मुनिको छोपती (छोबुवती), र वनारसीको ढुंगेधाराको पनि काम थालनी हुने बताए । यो भन्दा पहिले दोलखाको जीवनधारा राइती (राजहिटी) को पुनर्निर्माण सम्पन्न भएर पनि नव उद्घाटन भैसकेको छ । जुन राइती (राजहिटी) बनाउन स्थानीय स्तरबाट ५ लाख र वागमती प्रदेश सरकार खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखाबाट प्राप्त ५० लाख गरी ५५ लाखमा निर्माण सम्पन्न भएको थियो ।



अबको चरणमा हुन लागेको यो सािमतिले दोलखा बजारभन्दा मुनिरहेको खिङल्चा र पुरानो तुतुरवतीतिर पनि ध्यान गए अझ उत्तम हुने थियो कि ! हुन त दोलखामा लुकेका ती ढुंगे धाराहरू अझै कति होलान् जस्तै डोकुलुङा टोलको पूर्वपट्टि कुमारी छेँ जाने बाटोनेर, माथिल्लो टोलको महादेवको मन्दिरको उत्तरपट्टि पनि धेरै पहिले धारा थियो जस्तो लाग्छ । जे होस् यो उपभोक्ता समितिले गरेको कार्यलाई आभार व्यक्त गर्नै पर्छ ।
आफ्नो ऐतिहासिक स्थल भित्र रहेका सम्पदाको संरक्षण र सम्बद्र्धन गर्नका लागि सबैले हातेमालो गर्न अगाडि बढ्नुपर्छ । दोलखा हामी सबैको मुटुहो त्यो मुटुमा प्वाल पारेर क्षतविक्षत गर्ने प्रवृत्ति त्याग्नुपर्छ । आफ्नै घरदैलो बनाउदा एकआपसमा खिँचातानी गरेमा पल्लो देलकाले ताली बजाउलान् र अझै घाइते बनाउलान् भनेर दीर्घ सोच राख्ने बानी बसालौँ । भनिन्छ ‘भाइ फुटे गँवार लुटे’ ।
फोटो : अनील श्रेष्ठ
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij