

नमस्कार रिमा जी ! यहाँलाई हाम्रो बाँपिझ्याला अनलाइन पत्रिकामा स्वागत छ !
नमस्कार हजुर ! अनि मनैदेखि धन्यवाद छ । यहाँहरुको अनलाइन पत्रिकामा मलाई सम्झिनु भएकोमा खुसी लाग्यो ।
यहाँको सामाजिक सेवा प्रतिको लगाव र अनाथ असहायहरु प्रतिको करुणादायी मनको गुणगान धेरै सुन्यौं, यहाँको आफ्नै आवाजबाट केही कुरा राखि दिनु हुन्छ की ?
यहाँसम्म आउनुभएकोमा खुशीसाथ स्वागत गर्दछु । आश्रम देखि हाल्नु भयो, त्यति करुणादायी त शायदै नहुँला जति बयान हजुरले गर्न खोज्नु भएको छ ।
यहाँको बारेमा अरुबाट सुनिएको कुरामा जरादेखि रुखको टुप्पासम्म त पक्कै स्पष्ट नहोला कि, किनकि भन्नेहरुले सुरिलो हाँगालाई पनि बङ्ग्याईदिन बेर लाउँदैनन्, त्यसैले प्रत्यक्ष आमनेसामने बोल्दा यथार्थलाई नियाल्न सकिन्छ नि होइन र ?
एकदमै सही कुरा गर्नुभयो । मलाई यसैमा आनन्द लाग्छ । अनि हजुरहरुको यो ‘‘अनलाइन पत्रिकाको नाम बाँपीझ्याला राख्नु भएको रहेछ यसको अर्थ के होला ?
यो “बाँपिझ्याला” शब्द दोलखाको नेवारी भाषाको मौलिक शब्द हो, यसको अर्थ हो आँखिझ्याल । यो झ्याल काठबाट बनिएको सानासाना काठलाई जोडेर ससाना दुलो बनाएर एउटा चौकोस पुरै बनाएको हुन्छ । यसमा खापा हुदैन । यो झ्याल भएको कोठाबाट बाहिरका दृश्यलाई नियाल्न सकिन्छ तर बाहिरबाट भित्र चाहिँ देखिदैन ।
ए हो, हो मैले थाहापाएँ १ नेवार बस्तीका पुराना घरहरुमा हुन्छ । नाम पनि रमाइलो रहेछ, बाँपिझ्याला‘ अनि बाँपि भनेको आँखा हो र हजुरहरुको नेवारी भाषामा ?
हैन, हैन खासगरी ’बाँपि’ भनेको हाम्रो भाषामा करङ हो, त्यो झ्यालमा छड्के पारेर राखिने काठहरु करङ जस्तै सानो लामो भएकोले शायद पूर्खाहरुले यो नामाकरण गरिएको हुनुपर्छ ।
अब बिषयगत सन्दर्भतिर लागौं, है त ।
हुन्छ, भन्नुस् ।
तपाईंको यो सामाजिक सेवा प्रतिको लगाव कसरी शुरुआत भयो ? कसको देन छ र यस्को पुन्य कार्यको लागि को बाट प्रेरणा पाउनुभयो ?
म यथार्थमा भन्नुपर्दा सामान्य मध्यम परिवारमा जन्मेर सामान्य दुःख सुखमा हुर्केको मान्छे हु । मेरो दिनचर्यामा त्यस्तो आर्थिक कठिनाइहरु कुनै भोग्नुपरेको थिएन र छैन पनि । तैपनि हुनेखाने र हुँदाखानेहरुको दैनिकी कसरी चलिरहेको हुन्छ त्यो मैले बच्चा उमेरदेखि महशुस गर्दै आएको थिएँ । यसै गरी निम्न स्तरका मान्छेहरुलाई गरिने आर्थिक दबाब र सामाजिक रवाफमा निकै सोच्थें । किन मान्छेले मान्छेलाई उँचो र नीचो गर्दोरहेछ भनेर धेरै बिचार राख्थें, जब कतै कुनै ठाउँमा जाँदा चाहे मन्दिरमा होस् या शहरको सडकपेटीमा होस् माग्नेहरु देख्दा मेरो मनमा चिसो पस्थ्यो, ओहो यिनलाई केही दिन पाए हुन्थ्यो,‘’ भन्ने पीडाको भाव जाग्थ्यो,‘ त्यसकारण पनि भविष्यमा केही गर्नु नै छ भने, दीन दुखीकै सेवा गर्छु भन्ने अठोट लिएकी थिएँ‘।

धेरै राम्रो उत्तम बिचार बोकेर लाग्नुभएको रहेछ । अनि यस्तो सोच हुनेबेला अध्ययनलाई कुनै वाधा अड्चन परेन र ?
अध्ययनको कुरा नगरौं, परिवारको हिसाबले म काइँली छोरी हुँ । छोरीको हिसाबले कान्छी छोरी त्यो बस्तीमा मेरो पहिचान नै सापकोटाकी कान्छी छोरीले हुन्थ्यो । मैले चाहेर पनि पढ्न पाईन पढिन । मैले आफ्नै परिवेशमा पनि छोरा र छोरीको विभेद देख्दा मन दुखित थिए । छोराछोरीलाई समान देख्न नजान्ने समाज देख्दा वितृष्णा जागेर आउँथ्यो । यसैको फलस्वरूप मैले उच्च शिक्षाको ढोका खुलाउन सकिन ।
भनेपछि वरिपरिका असामान्य र असामाजिक तिक्तता भोगेर नै तपाईं साईभक्त तिर उन्मुख भएर यता लाग्नु भएको हो र ?
एउटा तर्क त्यो पनि हो । अर्को कुरा जब विवाहित भएपछिको थप पीडा मलाई मेरो दुईवटा छोराहरू हुर्काउनमा थियोे । घ¥यासी असमानताले गर्दा पनि मैले आफ्ना लागि संघर्षरत जीवन जिउन अगि बढें, जहाँसम्म साईबाबाको कुरा छ । उहाँकै देन र मार्गदर्शनबाट नै यो कदम चाल्न सक्षम भएकी छु । वास्तवमा भन्नुपर्दा मलाई म सानैहुुँदा बाबाले मलाई सपनामा दर्शन दिनुभएको र सँधै मेरै छत्रछायाँमा रहेर दीनदुखीको सेवा गर भनेर आज्ञा दिनुभएको थियोे । त्यसैको फलतः म बाबाको ध्यान र भक्तिमा लिन हुनेगरेकी थिएँ । सोही अनुसार म विदेश इजरायलमा रहँदा पनि हरेक शनिबार र आईतवार बाबाको किर्तन गर्न जान्थें ।
अनि कत्तिको फलिफाप र कल्याण भएको जस्तो लाग्छ त ?
यसमा फलिफाप भन्ने कुरा हुँदैन, बाबाले चूपलागेर बस मेरो नाम लेउ अनि तिम्रो हरेक कार्य सफल हुन्छ, अनि जीवनभर आनन्द पाउँछौ, भनेर भन्नुहुन्न, सत्कर्म गर्ने हो, सत्मार्गमा हिन्ने हो, मन्दिरमा धुप बाती बालेर फूल चढाएर मात्रै सत्कर्म पूरा हुनेछैन, बरु त्यो धुप, दीप फूल अक्षताको दक्षिणाले कसैको भोको पेटलाई श्रद्धा गर्न सकियोस्, अनि बाबा प्रसन्न बन्नुहुन्छ जस्तो लाग्छ । कुनै पनि देवदेवीको व्रत, उपसाना गर्दैमा फलिफाप हुन्छ भनेर मनमा चिताउनु हुन्न ।
साह्रै असल र महान बिचार हो । अनि यो रिमा साई समाज संस्थालाई कसरी अगाडि बढाउनु भएको छ ? व्यवस्थापन गर्न त कठिनाई होला नि ?
पक्कै पनि कठिनाई हुन्छ नै । तर कठिनाई हुन्छ भनेर टुलुटुलु हेरेर बसेर त कहाँ हुन्छ र ! अलिक ज्ञान र जानकारी पाउने प्रयत्न गर्नुपर्यो, अरु संघ संस्था र सामाजिक गैरसरकारी संस्थालाई ध्यान दिएर हेर्दा यस्तो खालको संस्था राखेर असहाय, अपांग र असक्तहरुलाई कल्याण हुन्छ भने किन लागि नपर्नु, भनेर पहिले त अरुहरु संस्थामा हिंडियो, पछि साथीहरू चिनिदै गईयो, त्यसपछि मैले विदेशमा बस्ने साथीहरूसंग सल्लाह लिएर यो कदम अगाडि बढाएकी हुँ । हामी नेपालीहरु अधिकांशको बानी के छ भन्ने कसैले केही काम गरेर अलिक चलखेल भएको देखेपछि खोइरो खनेर अड्को थाप्ने गर्छन् । यो दुःखद कुरा हो । जो मान्छे सबैतिरबाट अवहेलित भएर सडकमा भौंतारिएका हुन्छन् । कोही सौतेलो परिवारको कारणले पारिवारिक अवस्था विथोलिएका हुन्छन् त्यस्तो बेलामा साथ सहयोग दिनु नराम्रो होइन नि !

हजुर , अनि हजुरले यो संस्था भित्र कस्तो अवस्थाका मानिसहरूलाई आश्रय दिनुभएको छ त ? यहाँ ल्याएर राखि सकेपछिको सामाजिक र पारिवारिक दबाब केही आएकोे छ कि ?
मैले माथि नै भनिसकेकीछु कि जो शहर बस्तीमा सडक पेटीमा बसेर दुनियाँलाई गुहारेर हात फैलाएर एक गाँसको लागि तड्पिएका हुन्छन् । जो नचाहँदा नचाहँदै विवश भएर आश्रय खोजिरहेका हुन्छन् त्यस्ता व्यक्तिहरूलाई ल्याएर एक पेट सन्तोषजनक रुपमा खुवाउन र छायामा राख्न पाए मन आनन्द हुन्छ । सामाजिक दबाबको कुरा त गर्दै नगरौं । जसले समाजमा रहेर सामाजिक मर्यादा भन्दा बाहिरका कुरालाई ल्याउने अनि ठूलाठूला कुरा गर्नेहरुले नै यस्तो काममा अवरुद्घ पार्ने गर्छन् । कुनै परिवार यस्ता पनि हुन्छन् कि बुढाबुढी अवस्थामा रहेर काम गर्न असक्षम हुन्छन् त्यस्ता व्यक्तिलाई घर परिवारले नै अनेकौं मानसिक यातना दिएर सडकको बाँस गराउँछन् । त्यही पीडितलाई हामीले कल्याण गर्न खोज्यौं भने प्रतिष्ठाको कुरा ल्याएर हामीलाई नै उल्टो अपजस दिने गर्छन् ।
त्यो त सबैले जानेबुझेकै कुरा हुन् । जे भएपनि एक साहसको साथ धैर्यतालाई समीक्षा गरेर यो कल्याणकारी काममा लाग्नु भएकोमा हामीले नमन गरिरहने छौं । छोरा र छोरीको बीचमा भएको विभेदकारी भावनालाई मनमा गुँथेर यी आमाहरु, बुबाहरु र बालबालिकालाई एकै थलोमा राखेर जुन कल्याणकारी काम गर्नु भएको छ । यसको लागि म लगायत हाम्रो बाँपिझ्याला परिवारले आत्मीय भाव व्यक्त गर्दछौं ।
हवस धेरै धेरै धन्यवाद छ यहाँहरुको यो बाँपिझ्याला पत्रिकामार्फत मेरो मनका केही कुरा राख्नकोलागि खालि ठाउँ दिनुभएकोमा हृदयदेखि आभारी छु । यहाँहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
हवस त धन्यवाद ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij