- बिके श्रेष्ठ "पासा"
हरेक भनाइलाई यहाँ सार्थक नगरिदिंदा,
वीर शहीदको रगतलाई मनले नभरिदिंदा,
आफू उकालो लागेर तलतिर नझरिदिंदा,
देश रम्थ्यो अझै कलाकारहरु नमरिदिंदा ।
श्रद्धासुमन ! जेबि टुहुरे प्रति !!
आज रहेनन् ती गायन क्षेत्रका उज्ज्वल तारा जेबि टुहुरे । जसले सारा संगीतका पारखीहरुलाई टुहुरै बनाएर गए । उनकै गीतको प्रभावले ढिकी जाँतो, पर्म गर्न छाडेर लाखौं जनसाधारण पछि लागे जनचेतनाको लागि । देशमा आमूल परिवर्तनको लागि अामाहरुको आशिर्वाद चाहिन्छ, दिदीहरुको स्नेह चाहिन्छ, बहिनीहरुको आदर सत्कार चाहिन्छ, नारीहरुको काम चुल्हो चौकामा मात्रै सिमित हुनुहुन्न, यहाँ हरेक बुहारीहरुले घर परिवार भित्रको सासूको बुहार्तन मात्रै होईन, समाज र देशको लागि पनि अँध्यारो चिरेर मझेरीमा घाम झुल्काउनु पर्छ, जेठानी, देउरानी, नन्द भाउजूहरु घर्यायसी कलहमा रुमल्लिने होईन, देशको लागि सलह बनेर उभिनु पर्छ भनेर सामाजिक चेतनामूलक सुमधुर गीत गाउने सक्षम र सशक्त गायनकलाका धनी आजबाट हामीमाझ भौतिक रुपमा रहेनन् ।
२०२४ सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका श्रद्धेय जेबि टुुहुरेले संसारबाट बिदा लिएको खबर सुन्दा कुन गायकको मन नरोला र, कुन संगीतकारको हृदयमा आघात नपर्ला र, अनि कुन गीतकारले मन थाम्न सक्लान् र !
जेबि टुहुरेले रेकर्ड गराएका करीब १५० भन्दा बढी गीतहरू कुनैपनि अलोकप्रिय छैनन् । मात्रै नेपाली मौलिक बाजाहरुमा समेटिएको ती गीतका धुनहरु सुन्दा, ती गीतहरुमा प्रयोग गरिएका वाद्ययन्त्रहरु देखणदा जेबि टुहुरेले कसैको करले, होइन, क्षणिक रहरले होइन, अन्तर हृदयदेखि नै यो देशलाई गरिमामय माया, सद्भाव दिएको देखिन्छ ।
अब उनलाई दुई थुँगा फूल र माला अनि झण्डा ओढाएर देखावटी श्रद्धाञ्जलि अर्पण गरेर मात्रै होइन, उनका देनले नै आफू उच्च ओहदामा पुगेको हुँ, उनका लागि र उनकै नामबाट अविस्मरणीय प्रतीक समर्पण गर्न हरेक नेताहरूले गहिरिएर मनन गर्दै उनी प्रतिको सम्मानलाई देशप्रेमको भावना जागृत गराए मात्र सच्चा श्रद्धाञ्जलि दिएको ठहरिन्छ ।
जेबि टुहुरेले गाएका…' आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुखको सँधै प्यासी बनेर, बसाइँ हिंड्नेको ताँती, लाखौंको लागि उजाड छ यो देश मुठ्ठीभरलाई स्वर्ग छ, जस्ता कर्णप्रिय र मार्मिक गीत गाएर सबैलाई भावनात्मक सन्देश दिएको देखिन्छ ।
नेताहरूलाई जब आफ्नो स्वार्थ पूर्ति गर्ने अवस्था आउँछ, तब मात्रै कलाकार, गीतकार र साहित्यकार सम्झिने बानीले गर्दा धेरै कलाकारहरुका सन्तानहरुमा वितृष्णा छाउनु अस्वभाविक होइन, यसभन्दा पहिले पनि धेरै कलाकारहरु अन्तिम समयमा कुनै सरकारी निकाय, राजनीतिक पार्टीको तर्फबाट सहयोग दिएको पाईएको छैन, यो जनमुखी सरकारले पनि केही गर्लान् कि भन्ने आशावादी हुनु पनि निरर्थक लाग्छ , यिनै कलाकारकै गीतको माध्यमबाट कैयौं नेताहरु सत्तामा पुगे, तर उनीहरूलाई ती कुराको महशुस गर्न समेत फुर्सद छैन कि आज यिनैको कारणले साइरन बजाउँदै झण्डावाल गाडीमा कुदिरहेका छौं भनेर । अब ब्युँताउन जरुरी छ, हरेक कलाकारलाई पहिचान दिलाउनको लागि उच्चस्तरीय नेताहरूलाई घच्घच्याउन आवश्यक छ ।
श्रद्धेय गायक कलाकार जेबि टुहुरे प्रति श्रद्धाञ्जलि छ ।
……………………………………………………………
२०७८/०५/१!
जोरपाटी, काठमाडौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij