गत २०७९ साल जेठ महिनाको २ गते दिवंगत डम्वर बहादुर श्रेष्ठको धर्मपत्नी तारादेवी (जुलुम) श्रेष्ठको असामयिक निधनले परिवारमा विक्षिप्त भएको मनमा केही शान्तिको आभास फैलिन नपाउँदै फेरि आज भन्दा १३ दिन अगाडि अर्थात् विक्रम सम्वत् २०७९ साल साउन ४ गतेको दिनमा साँझपख एउटा अप्रत्याशित घटनाको खबरले मन भाव विह्वल बन्न पुग्यो ।
उनै दिवंगत जुलुम श्रेष्ठको श्रीमान् हाम्रा अति आदरणीय अग्रज गुरु समाजसेवी डम्बर बहादुर श्रेष्ठ कालोपुल स्थित आफ्नो निवास नजिकैको चिया पसलमा बसिरहनु भएकै अवस्थामा कुर्सीबाट एक्कासी ढलेर उहाँले एक घुट्को पानी संगै प्राण त्याग्नु भएको खबरले ठाउँको ठाउँमै मर्माहट बन्न विवश बनायो ।
“फल धेरै फलाएर बोक्न सक्छु भनेर घमण्ड गर्ने रुखले कहिल्यै पनि आफ्नो शीर ठाडो राख्न सक्दैन, उ कुनै न कुनै बेला जमीनतिर झुकेकै हुन्छ, त्यसैले हेर भाइ धेरै पढ्नमा सिपालु छु भनेर घमण्ड नगर,..” भनेर भन्नुहुन्थ्यो आदरणीय गुरु डम्बर बहादुर श्रेष्ठज्यूले हामीलाई जतिबेला साना साना थियौं, त्यतिबेला हामीलाई वहाँको गालीलाई उपदेश सम्झेर आफ्नो पढाईतिरको लापर्वाहीलाई निकै गहिरिएर सोच्न लगाउन वहाँले आफ्नो बाध्यता जिम्मेवारी अनी दायित्व सम्झीनु हुन्थ्यौ ।
भीमेश्वर नगरपालिका वडा नं. २ लिस्टोलमा बसोबास गरिरहनु भएका आदरणीय डम्बर बहादुर श्रेष्ठ तत्कालीन दोलखा गाउँ पञ्चायत वडा नं. ९ मा पर्ने पुरान्छेँ टोल निवासी स्वर्गीय पिता भीम बहादुर श्रेष्ठ र स्वर्गीया माता पूर्ण लक्ष्मी श्रेष्ठका कान्छो छोराको रुपमा जन्मनु भएका दिवंगत आदरणीय डम्बर बहादुर श्रेष्ठका बुबाका चार श्रीमती मध्येका कान्छी श्रीमतीका छोरा हुनुहुन्थ्यो । हामीलाई जानकारी भएसम्म उहााका दाजुहरू चित्रकार स्व.विष्णुभक्त श्रेष्ठ, तत्कालीन घरेलु तथा ग्रामीण उद्योग दोलखाका खरदार स्थानीय नाट्य कलाकार एवम् स्व.संगीतकार इला बहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
आदरणीय डम्बर बहादुर श्रेष्ठको चारित्रिक स्वभावमा कुनै त्यस्तो नराम्रो खोट थियो कि भनेर हामीले जानुन्जेलसम्म केही देख्न त परै जावस् सुन्नपनि पाएको छैनौ । न झगडा, न लफडा न कोही संग शत्रुता नै थियो । धार्मिक क्षेत्रमा तल्लीन, बोलीचालीमा मलीन, व्यवहारमा शालीन उहाँको मानवीय व्यक्तित्वमा देखिने असल विशेषता थियो । दोलखाको गुठीमा देखिएको अनियमित क्रियाकलापको बारेमा बारम्बार आवाज उठाउनु हुन्थ्यो । दोलखाको भजन कीर्तनमा नियमित लगाव राख्ने, भावी सन्ततीले ती भजनलाई निरन्तरता दिनका लागि अहिलेका किशोर युवाहरूलाई वाद्यवादन सिकाउन जरुरी रहेको कुरा उठाउँदा कतिपयले वास्ता नगरिँदिँदा उहाँले मन दुखाउनु हुन्थ्यो ।
६ जना छोरी विशन्ती, निर्मला, सावित्री, सम्झना, सानु मैया र वन्दना र एक जना छोरा दिनेश श्रेष्ठका पिता डम्बर बहादुर श्रेष्ठको दिवंगतले एक अनुशासनका पूजारी र एक निष्कपट निश्चल मनका धनी आदरणीय अभिभावकलाई गुमाउनु पर्दाको असैह्य पीडा त हामी माझ छँदैछ । यसलाई जसरी भएपनि सहनैपर्ने बाध्यतालाई ग्रहण गर्नैपर्छ ।
यस अप्रत्याशित घटनाले ल्याएको वेदनापूर्ण घडीमा शोकविह्वल बन्नु भएका उहाँका छोरी, छोरी ज्वाइँहरू, छोरा तथा बुहारी अनि सम्पूणै नातिनातिनाहरू र नजिकका सब परिवारजनमा धैर्यधारण गर्नसक्ने शक्ति मिलोस् र आजको उहाँको १३औँ दिनको पुण्य तिथिमा उहाँको आत्माले चीर शान्ति प्राप्त गरि बैकुण्ठमा बास गरुन् भनी म सह–सम्पादक बालकृष्ण श्रेष्ठ र बाँपिझ्याला मिडिया परिवारको तर्फबाट हार्दिक श्रद्धासुमन व्यक्त गर्दछौँ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij