सुरेन्द्रमान जोशी, “भक्ती” भीनपा–२, ट्वाल्चाटोल, दोलखा, हाल लाजिम्पाट–२
सस्मरणमा दाजु अक्कल बहादुर श्रेष्ठ
उहाँ मनकारी, निष्ठावान कर्तव्यनिष्ठ, इमान्दार, दयालु, सरल स्वभाव, शालिन व्यक्तित्व, सरकारी कर्मचारी तथा नेपाली गलैंचा उद्योगीको रुपमा परिचित हुनुहुन्थ्यो ।
२०१३ –१४ साल तिरको कुरा हो मेरो माइली बज्यैको डोक्छें घरमा गईरहन्थें, उहाँले मलार्इ हरेक चाडपर्वमा बोलाउनुहुन्थ्यो । त्यो घरमा बज्यै बाहेक अरु कसैलाई पनि आफु सानो भएकोले प्रत्यक्ष कसैलाई पनि चिन्दिन थिएँ । मोहन दाई आफु सरहको उमेर हुनाले साथी सम्झिन्थे तर अरु सबै दाई तथा दिदी उमेरमा आफु भन्दा निकै बढि हुनुहुन्थ्यो । पछि अक्कल दाईले “तिमी फुफुको छोरा, म मामाको छोरा” भनी यस्तै ८–९ बर्षको उमेरमा भन्नुभएको शब्द र बोली आज सम्म ताजा नै सम्झिन्छु । मेरो सस्मरणमा बालापनको कुरा यत्ति मात्र ।।।
यसै गरी २०३१ साल तिर सर्लाही मलंगवा जाने काम परेको थियो । आफु पहाडी भेगमा बसेको मान्छे तराईको गर्मीमा जमीन आकाश बाहेक अरु केही नदेखिने ठाउँमा अक्कल दाईलाई भेट्दा बुबा नै भेटेको भान भयो । “अब अन्त जाने हैन यही म सँग नै बस” भनेर भन्नु भयो । आफु पहाडमा ढुङ्गा माटोको घरमा बसेको तर त्यहाँ धेरै जसो घरहरु काठै काठले २–३ तल्ला सम्मको हुन्थे जुन घरहरु देखेर मलाई आश्चर्य साथै डर पनि लाग्यो ।
त्यत्ति बेला सर्लाहीको मलंगवामा वाग्मती कर्मया मेलामा एक रात रमाईलो गरि बिताएको क्षण अझै पनि मानसपटलमा छँदैछ ।
नोकरीको सिलसिलामा घरेलु विभाग प्रशिक्षण केन्द्र, त्रिपुरेश्वर, काठमाडौंमा पुगियो, त्यस बखत मेरो डेरा पक्नाजोलमा थियो । एक दिन अक्कल दाई डेरामा आउनुभयो र भन्नुभयो “तिम्रो लागि लाजिम्पाटमा घर–जग्गाको व्यवस्था गरि सकें अब दाजु भाई सँगै मिलेर बस्ने” त्यो सुनेर मैले भने “दाई काठमाडौंमा घर–जग्गा किन्ने पैसा नै छैन, सम्भव पनि छैन” दाई रिसाउँदै भन्नुभयो “हुन्छ मात्र भन म जिम्मेवारी लिन्छु, म जमानी वस्छु, मैले चिनेको, मेरो विश्वासिलो घर–जग्गा धनी हो ।
भोली नै घर सर्ने, अरु मलाई थाहा छैन” भन्नुभयो । घर–जग्गा हेरें, चित्त बुझ्यो तर सबै रकम तिर्ने सम्भव थिएन, पर्याप्त रकम थिएन, सारै आत्तिएँ, दाईको पनि भखरै भखरै चाइनिज ईंट्टाको घर बनाउँदै हुनुहुन्थ्यो । म सँग ५ तोला सुन बाहेक अरु रकम थिएन । दाई भोली पल्ट आउनु भयो र डेराको सबै समान सार्न भन्नु भयो । घर पास नगरी त समान सार्न अप्ठेरो लाग्ने कुरा गरें, दाईले भन्नुभयो “म भएँ तिम्रो लागी” अनि घर सरियो ।
रातभर निद्रा लागेन, घर धनीको मन बद्लिएर म घर बेच्दिन भन्यो भने त मेरो त बेइज्जत हुने भयो, यस्तै यस्तै सोच्न थालें, काठमाडौंमा भक्तिले घर किन्यो भनेर दोलखामा हल्ला फैलियो । काठमाडौंमा पनि दोलखावासीले थाहा पाए र नजिकका आफन्तहरुले बधाई तथा शुभकामना दिए । घर सरेको करिव १ महिनामा घर पास गरियो ।
दाई बराबर घर आउनुहुन्थ्यो र केही समय कुराकानी हुन्थ्यो, त्यस बेला उहाँले आफ्नो भाई “लड्डु”को धेरै चिन्ता गर्नुहुन्थ्यो, “लड्डुलाई एउटा गाउँको सोझी केटी विहे गरिदिन पाए हुँन्थ्यो, विहे गरिदिए घरवार हुन्थ्यो भनी जहिल्यै भन्नुहुन्थ्यो र छिट्टै विहे पनि गरिदिनुभयो ।
अक्कल दाईको दाम्पत्य जीवन
लाजिम्पाट एउटै टोल भएकोले उहाँको घर बेला–बेलामा गइरहन्थें । दाजु र भाउजु रतन एकदमै, अत्तिनै, धेरैनै मिल्ने चखेवा चखेवी जस्तै हुनु हुन्थ्यो । एकछिन पनि यताउता कतै नछुट्ने । छुट्टिहालै दुवैले खोज्ने गर्नुहुन्थ्यो । अजिवको माया प्रेम थियो । भाउजु पटक पटक विरामी हुनुहुन्थ्यो, दाई पागल सरी भौतारिनु हुन्थ्यो । भाउजु झण्डै २ वर्ष अगि स्वर्गे हुनु भयो । दाइले निरन्तर भाउजुको खोजी गर्न थाल्नु भयो । कहिले काँही मलाई सोध्नु हुन्थ्यो अनि मैले “अस्पताल लगेका छौं भोली डिस्चार्ज गरेर घर ल्याउँछौं” भन्थें अनि उहाँ खुशी हुनुहुन्थ्यो । फेरी रतन–रतन भनी बोलाउनु हुन्थ्यो । भाउजुको निधन पछि अल्जाइमर जस्तो रोग बेला बेला मान्छे नचिन्ने हुनुहुन्थ्यो ।
रोग त केही थिएन तर अस्वस्थ्य र कमजोर हुँदै जानु भयो । २०७९ कार्तिक २ गते विहान ६ः३० बजे म सँगै थिएँ। अस्पताल लग्यौं, लगभग १० मिनेट पछि डाक्टरले “उहाँको निधन भईसकेको जानकारी दिनुभयो” गोकर्ण औंसीको दिनमा बुवा समानको दाइलाई मुख हेर्न गएँ र सानो उपहार टिसर्ट सहयोगी वहिनी र परिवारको सहयोगमा लगाईदिएको थिएँ । त्यहि टिर्सट चितामा आफ्नै हातले फुकाली पिताम्बरले छोपीदिएँ । यो क्षण मलाई अत्ति असहय भयो ।
मलाई उहाँको लाखौ लाखको गुण लगाएर सदाको लागि हामी सबैलाई छोडी विदा हुनुभयो । उहाँ मेरा दाई मात्र नभएर अभिभावक र संरक्षक पनि हुनुहुन्थ्यो । आज वहाँ हामीबाट टाढा हुनु भएको पनी १३ औं दिन पुगी सक्यो, दाई हजुरको आत्माले शान्ती पाओस्, बैकुण्ठबास होस्, हजुर मेरो मष्तिकमा सदादिन् अमर हुनु हुनेछ । अलविदा दाई…..
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij