सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सहयात्री जीवन र मृत्युसंग संघर्ष गर्दागर्दै अन्ततः पराजित हुन पुगिन् । शाश्वत जीवनलीलाको युद्धमा विधाताले सीताको जित्न खोजेका अन्तरसाहसका हतियारहरूलाई निष्कृय बनाएर सबैबाट खोसेर लगे । यसमा वेदना व्यक्त गर्नुको अर्को विकल्प रहेन ।

कमरेड सीता दाहालको जीवन वैवाहिक चरणपछि पारिवारिक झमेलाभित्र अल्झिएर घेरिएको थियो भने ३८ वर्षको उमेरमा पार्टी प्रमुखका हैसियतले प्रचण्डले जनयुद्धको घोषणा गरेपछिको दश वर्ष सँधैंभरी मुत्यको बादल मडारिएर नै बित्यो । कतिबेला एकै चिहान हुने हो कि या कतै भिन्नाभिन्नै राखेर संगीन, भाला, बन्दूकको नालले ठोसिने पो हो कि या न कतै अङ्गभङ्ग बनाएर विपक्षीले त्रूmर यातना पो दिने हुन् कि भन्ने त्रासमा भौँतारिनु पर्दा समेत पति प्रचण्डको साथमा हातेमालो गर्दै हजारौँ आरोहअवरोह पार गर्ने साहसी र करुणमय मनकी धनी सीताको अतीत स्मरण गर्नुपर्दा हामीलाई कहाली लाग्छ तर उनलाई त्यो महशुस सम्म भएको पाइँदैन ।

शान्ति प्रक्रियापछिको झण्डै आठ वर्षमा पनि सीतालाई अनेकानेक पारिवारिक झमेलाले घेरे । कुनै बेला पार्टीभित्र प्रचण्ड र बाबुराम बीचको विवादमा मध्यस्थता गर्न सक्ने महिला सीताले उनकै परिवारमा आएको विपत्तिलाई भने छिचोल्न असफल रहनु पर्यो । पति प्रचण्डको पथलाई सारगर्भित मान्दै सहयात्री बनेकी सीताले आफ्ना पार्टीका अन्य साथीहरू बीचमा कुनै पनि अवस्थामा मनमुटाव र अहंवादको सृजना नहोस् भनेर दीर्घसोच राख्ने गणपूरक नारी थिइन् ।

कमरेड सीता दाहालसँग यस्ता अनेकन दुःख र वेदना तथा साहसका कथाहरू ज्यूँ का त्यूँ थिए । आफ्ना पति (प्रचण्ड) लाई उनकै साथीहरूले मार्ग परिवर्तन गरेर अर्कै मोडमा लान खोज्दा सीताले पति प्रचण्डलाई बडो संयमतापूर्वक सम्झाउने गर्थिन् । साथै उनका साथीहरूमध्ये बाबुराम भट्टराईलाई कहिलेकाहीँ अलि नमीठो पाराले घोचाइ भाव पनि व्यक्त गर्थिन् देशमा सच्चा नेता आवश्यक परेको बेला एकआपसमा मनमुटाव गरे भने सबैले साथ छाड्नेछन् र क्रान्ति विफल हुनेछ भनेर सम्झाउने गर्थिन् ।
वाम गठबन्धन भएर निर्वाचन चलिरहेका बेला सीताले खुट्टो टेक्न नसक्ने अवस्थामा पुगेकी थिइन्, प्रचण्डलाई त्यतिबेला धेरै धर्मसंकट आइपरेको थियो । यता चुनावमा आपूm उपस्थित नभइनहुने उता धर्मपत्नी जीवन र मृत्युको दोसाँधमा यति हुँदाहुँदै लगत्तै चुनावकै बीचमा भारतमा लगेर परीक्षण गरेर ल्याइएको थियो ।

पति प्रचण्डको देश दौडाहा कार्यक्रममा साथसाथै लागेर आम जनमानसको गुनासा र पीडा बुझेर सारा नेपाली जनमानसमा आफ्नो देश सुधार्ने संकल्प सुनाउने इच्छा सीतामा थियो तर दीर्घरोगी भएको कारणले पतिको हात समाएर साथ दिने मनोकाँक्षालाई कोठाको पलङमै बाँधिरहेकी थिइन् सीता दाहाल ।
आपूm बिमारी भएर इन्तु न चिन्तु अवस्थामा रहेर पनि पतिको कदमलाई डगमगाउन नदिइकन जहाँ जान जरुरी छ त्यहाँ जान आँखाले नै स्वीकृति दिएर साहस थपिरहेकै बेलामा अकल्पनीय रूपमा प्रकाशले देह त्याग गरे । त्यतिबेला प्रचण्ड देशभर घुम्न नसकेर चितवनमा रोकिएका थिए । यो आकस्मिक गम्भीर घटनाले सीतामाथि वज्रपात त भयो नै प्रचण्डलाई समेत भारी संकट आइपर्यो । तर पनि प्रचण्डमा साहसको अथाहा भारीले उनलाई अगाडि बढायो । छोरा प्रकाशको निधनले सीतालाई कहिल्यै उठ्न नसक्ने विषादमा पुर्याईदियो ।
प्रचण्डले शायदै त्यो तहको नेतामध्ये कमैले गर्नसक्ने पतिको भूमिका निभाउँदै उपचारमा कुनै कसर बाँकी राखेनन् । यतिसम्म कि खुमलटारमा हुँदा त अधिकांश अनौपाचारिक भेटघाट पत्नीकै बेड छेउमा गर्न थालेका थिए । जसले गर्दा बढी भन्दा बढी समय जीवनसाथीसँग बस्न पाइयोस् भन्ने ध्येय रहेको प्रष्टै थियो प्रचण्डमा ।

देशका प्रायः सवै भागमा र भारतको धेरै जसो शहरका गल्ली छिचोलेकी सीता दाहालमा कहिल्यै पनि सत्ताको सुखको मात चढेको देखिएन । साक्षर मात्र रहेकी सीतामा विचित्र खालको समझदारी र सामाजिक सद्भाव थियो । त्यो अभावमा तेसो पटक प्रधानमन्त्री रहेका पति प्रचण्डले जीवनसाथीको आत्माको शान्तिप्रति पनि अन्तिम पलसम्म जनताको पक्षमा उभिनु बाहेक अरू कुनै विकल्प पनि छैन ।
युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्ष पुग्दा नपुग्दै प्रचण्डले आफ्ना बुबासहित परिवारका चार सदस्य गुमाउनु पर्ने दुःख भन्न वा लेख्न सायद जो कोहीलाई कठिन त होला नै । प्रचण्डले राज्यबाट कति लखेटिनुपर्यो, कति रात गुफा ओढार, जङ्गल र सुरुङमा बिताउनु पर्यो, यतिमात्र नभएर विपक्षी पार्टीको दाउपेच पनि कति खेप्नुपर्यो यस्तो अवस्थामा पनि भगवान रामचन्द्रकी सीताले भने भैmँ ‘जहाँ राम, त्यहीँ अयोध्या’ भने जस्तै गरी आफ्नो शरीरका अङ्ग सक्रिय रहुन्जेल कहिल्यै साथ छोडेकी थिइन सीताले ।

आफ्नी पत्नीको त्याग, साहस र धैर्यताकै कारण जस्तोसुकै अवस्था आईपरे तापनि प्रचण्डले पत्नीको उपचारका लागि देश विदेशका जानेसम्मका डाक्टरहरूको सल्ला अनुसार उपचारका लागि लानेल्याउनेमा कुनै कसर बाँकी राखेनन् । तर विधिको विडम्बना ‘हुने हार, दैव नटार’ भने झै प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा २०८० असार २७ गते बुधबार विहान नर्भिक अस्पतालमा भयो ।
अस्पतालका अनुसार बिहान ८ बजे आकस्मिक रूपमा ल्याइँदा लगभग सीताको अन्तिम सास बाँकी थियो । ६ वर्षअघि अर्थात् २०७४ मंसिर ३ गते सीता दाहालका एकमात्र छोरा प्रकाश दाहालको पनि त्यहीं निधन भएको घोषणा गरिएको थियो । हरेक आमाको लागि पुत्र प्रेम कस्तो हुन्छ र पतिसँगको जीवन कस्तो हुन्छ भन्ने बुझ्न सकिने एक उदाहरणीय पात्र समेत थिइन् प्रचण्ड पत्नी सीता दाहाल । छोराको खुसीका लागि सीताले जे पनि सहन र जस्तोसुकै संघर्षगर्न तयार हुने गर्थिन् । पुत्र वियोगपछि कहिल्यै खुल्ला संसारमा आउन नसकेकी सीताले झण्डै दुई वर्षको अचेत अवस्था झेलेर यो संसारबाट विदा भइन् ।

अलविदा कमरेड सीता दाहाल ! तिमीलाई साहसी र सरल नारी र आदर्श आमाको रूपमा मात्र नभएर नेपालको इतिहासमा एक आदर्शवती सहनशील नारीको रूपमा पक्कै पनि सझिरहनेछ । भलै तिम्रा सिद्धान्तमा रुढीवादीको अर्थ नहोला तर यो नेपाली धर्तीको सन्तानको हिसाबले तिम्रो आत्माले चीर शान्ति प्राप्त गरी दिवंगत आत्माको बैकुण्ठको बास होस् भन्ने कामना सहित बाँपीझ्याला परिवारको तर्फबाट हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ ।
फोटो : बाँपीझ्याला डटकम, बिभिन्न अनलाईन


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij