गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्लाको ऐतिहासिक शहर हालको भीमेश्वर साँस्कृतीक नगर दोलखा नेपाल भित्र मात्र नभएर नेपाल बाहिर पनि उतिकै प्रख्यात र ख्याती प्राप्त रहेको पाउंछौं ।
ऐतिहासिक पृष्ठभुमीलाई नियाल्दा, नेपाल र तिब्बतको बीच ब्यापारीक कारोबारको लागि बाटोघाटो खुलेपछि दोलखाको विकास भएको मानिन्छ । अर्शुवर्माको समयमा भोट संग नेपालको सम्बन्ध कायम भएको र भोट मार्फत तिब्बतसंग पनि नेपालको सम्बन्ध कायम भएको पाईन्छ । नेपाल र तिब्बत बीचको ब्यापारीक मार्ग खुलेपछि चीन र भारत बीच आवत जावत गर्ने बाटो पनि नेपाल कायम भएको पाईन्छ । मल्लकालमा डेढशय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने ईतिहासविद् शिरोमणी बाबुराम आचार्यको भनाईले प्रशिद्धता पाइएको छ ।
ऐतिहासिक शहर हालको साँस्कृतीक नगर दोलखा भित्र जती पनी देव देवालय, मठ–मन्दिर, पाटी पौवा र ऐतिहासिक सम्पदाहरु रहेका छन् यसको संरक्षणमा चुनौती आएको छ । तसर्थ दोलखावासी नेवार जाती लगाएत यहाँका स्थानिय सरकारले साँस्कृतिक भीमेश्वर नगरको पहिचान र यसको गौरवताको लागि भईरहेको दोलखा भित्रका सम्पदाहरुको मर्मत सम्भार गरी संरक्षणको लागि विशेष पहल गर्नु पर्ने आजको आवश्यकता रहेको देखिन्छ ।
दोलखा शहरको बस्तीको पूर्वपट्टि छेउ भीमेश्वर नगरपालीका वडा नं. –२, दुङ्गल टोलमा त्रिपुरासुन्दरीको प्रसिद्ध मन्दिर रहेको छ । यसलाई देविकोट भनिन्छ । यहाँ दिक्षाकर्म प्राप्त पुजारी रहेको छ । अरु स्थानिय बासिन्दाले देवता रहेको भित्री भागमा पस्नु हुदैन । यी देवीको अद्भुत शक्ति सम्बन्धी अनुश्रुती दोलखामा निकै सुनिन्छ ।

यो देवीस्थल देवीकोट कहलाउनाको कारण उहीले यहाँ विशेष कोट थियो । दोलखाका पञ्चहरु, जिम्वाल एवं थरीहरु अतिआवश्यक कुराहरुको छलफल, सल्लाह गरी न्याय निसाफ छुट्टाउनु पर्दा अर्थात गर्नु पर्दा यस कोटमा भेला हुन्थे भन्ने स्थानिय बयोबृद्धहरुको भनाई रहेको छ ।
मन्दिर :
भीमेश्वर नगरपालीका वडा नं. –२ स्थित दुङ्गलटोलमा अवस्थित यस त्रिपुरासुन्दरी मन्दिर दोलखा शहरको उत्तर पूर्व स्थित काँलर जंगल नजिक रहेको छ । नेपाल राज्यभरी सात देवीहरुको एकशक्ति आरोग्य देवी त्रिपुरा सुन्दरीको आफ्नै महिमा छ । तान्त्रीक बिधि विधानबाट पुजा आजा गरिनु पर्ने यस देवीको मन्दिरमा प्रत्येक बर्ष मनाईने बिभिन्न जात्रामात्रा, चार्डपर्वहरुमा आफ्नै बिधी विधान अनुसार दशैमा विजया दशमीको दिन हिपाथामी र त्यस्को भोली पल्ट एकादशकिो दिन खड्गजात्रा जस्तो जात्राको विशेषताको केन्द्रको रुपमा मानिन्छ । यीनै देवीले सयल गर्ने मन्दिरको उत्तर पूर्वमा अवस्थित काँरल वन तथा देवीले दृश्यावलोकन गर्ने चम्पुजा डांडाको आफ्नै छुट्टै बिशेषता रहेको पाउँछौं ।

मन्दिरको चारै तिर ढुंगाको पर्खालले घेरिएको यस मन्दिर २०७२ सालको भुकम्प पश्चात पूर्ण क्षती भएको अवस्था रहेको थियो । हाल पुरानो मन्दिर यथावत कायम छैन तापनि तिनतले झिगटीको छाना भएको मन्दिर विनासकारी भुकम्पबाट क्षती भईसकेपछी अहिले पुरातात्वीक महत्वकासाथ स्विस सरकारको सहयोगमा निर्माण भएपछी जुन मन्दिर अहिले आकर्षक र ऐतिहासिक महत्वको देखिएको छ ।
मन्दिरको गाहेको चौडाई डेढ मिटरको रहेको छ । मन्दिरको पश्चिम तर्फ मुल ढोका रहेको छ भने मन्दिरको कोठामा पस्ने भ¥याङ बाहिरबाट राखिएको छ । मन्दिरको भुँईतल्लामा छिँडी छ, यसको ढोका दक्षिण तर्फ फर्केको छ । जसलाई दोलखाली नेवारी भाषामा भुँत छेँडी भनिन्छ । डरका कारण यस छेँढडीमा कोही भित्र जादैनन् । माथि कोठामा जाने भ¥याङनिर साधारण ढुंगाको मुर्ति रहेको छ । साथै यहाँ ढुंगाले बनेको सानो मन्दिर पनी रहेको छ । यस मन्दिरलाई भैरवको प्रतिमाको रुपमा पूजा गरि पूजिने चलन रहेको छ । यसरी यस मन्दिरको उत्तरतर्फ नेपाल सम्वत् ९२९ अर्थात विक्रम सम्वत् १८८६ को शिलालेख रहेको छ । यस शिलालेखमा त्रिपुरासुन्दरी मन्दिरको पूजाआजाको लागि खेतवारी चढाइएको कुरा उल्लेख गरिएको छ ।

त्रिपुरासुन्दरी भगवती देवीका छोरा बटुक भैरवको कोठा मन्दिरको पहिलो तल्लाको दक्षिण तर्फ रहेको छ । यसकोठाको दक्षिण तर्फको आँखिझ्यालमा बटुक भैरवको आमा स्वरुप देवी भगवतीको मुर्ति रहेको थियो । हातमा माला र फुल लिई पद्माशनमा बसेको मुर्ति करिव अन्दाजी ३५ धार्नीको ढलोटको खदिलो थियो । दशैको एकादशी अर्थात खड्गजात्राको दिन मुर्तिको काखमा बटुक भैरव हुने खड्गधारी बसी नाच्ने प्रचलन रहेको छ । तर बटुक भैरवको मुर्ति २०४१ सालको कोजाग्रतको दिनको भोली पल्ट चोरी भयो । यसै गरी बटुक भैरवको उत्तर तर्फको कोठा खुल्ला रहेको छ । यसै गरी पूर्व दक्षिण तर्फको कोठा दुङ्गलटोलका वासिन्दाहरुको कुलस्थान रहेको छ । यसै गरी मन्दिरको दोश्रो तल्लाको पश्चिमतिर मुल कोठा पर्दछ । यही कोठामा नित्य पूजाको लागि पूजाको सामान तयार गर्ने प्रचलन रहेको छ भने यसै गरी श्रद्धालु भक्तजनहरुले त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने बेलामा प्रसाद ग्रहणको लागि यस कोठालाई प्रयोग गर्ने गरिन्थ्यो । यसै गरी मुलकोठामा पस्ने मुलढोका संगै पश्चिम तिर फर्केको तिनमुखे काठको कलात्मक झ्याल रहेको छ जसले मन्दिरको आकर्षणमा थप सहयोग गरेको छ भने यस झ्यालको दक्षिणतिर देवी बस्ने भएकोले कोही बस्न हुदैन भन्ने किम्वदन्ती रहेको छ । यसै गरी मुल कोठाको ढोकामाथि गणेश, कुमार, भैरव र विचमा भगवतीको मुर्ती अंकित तामामा बनाइएको तोरण रहेको छ । प्रवेश ढोकाको दायाँ बायाँ ढलोटका सिंह राखिएको छ । यसै गरी पुर्व तर्फको कोठामा मन्दिरमा भक्तजनहरुले पूजाआजा गर्ने बेलामा खाना पकाउने काममा प्रयोग गर्ने गरिन्छ । तेश्रो तल्ला अर्थात चोटामा कोहि जादैनन् । जुन चोटा खुल्ला छोडिएको छ । पहिले पहिले कोठामा भोज गर्नको लागि ठाउँको अभाव भएको बेलामा उक्त चोटा प्रयोग गर्ने गरिन्थ्यो तर हाल सो बन्द गरिएको छ ।
तर जतीबेला मन्दिरमा बलिपुजा गर्ने गरिन्छ त्यतीबेला चोटामा नेवारी परम्परा अनुसार सगुन लिने चलन रहेको छ ।
मन्दिरको उत्पत्ती र स्थापना :
त्रिपुरासुन्दरीको मन्दिर कहिले उत्पती र स्थापना भयो भन्ने बारेमा अहिलेसम्म तिथीमिथी र आधार प्रमाणहरु भेटिएको छैन । त्यसताका स्थानिय बुढापाकाहरुको भनाई अनुसार मन्दिर अहिले रहेको भन्दा दक्षिण पुर्व चम्पूजा डाँडामा थियो र हालको मन्दिर भएको ठाउँमा पछी बनाईएको भन्ने भनाई रहेको छ । यसरी उहिले मन्दिर रहेको भन्ने चम्पूजा डाँडामा अहिलेसम्म पनी पर्खालका खण्डरहरु देख्न सकिन्छ । तर जव चम्पूजा पार्कको निर्माण गरियो त्यसपछी ति खण्डरहरु सम्याईएको कारणले ति खण्डरहरु देखिएको छैन । तर हालको मन्दिर कहिले बनाईएको भन्ने एकिन मिती उल्लेख भएको भन्ने पाईएको छैन ।
किम्वदन्ती अनुसार, स्कन्द पुराणको स्वस्थानी ब्रतकथामा त्रिपुरासुन्दरी देविलाई स्वर्ग, मत्र्य र पाताल तिनै लोककी अधिपती तथा सृष्टिकर्ता भनिएको छ । यसै गरी यीनलाई बह्मा, विष्णु र महेश्वरको अदृश्य शक्तिदाता पनी मानिएको पाईन्छ । जव अन्याय, अत्याचार बढ्छ तव मलाई सम्झनु र कुनै पनी रुपमा तिमीहरुको साथमा रही आपत विपदबाट मुक्त गर्नेछु भनी जगत जननी योगमाया अदृश्य भएको उल्लेख गरेको पाईन्छ । यसरी मधु र कैटभबाट ब्रह्माजीलाई बचाउन विष्णु भगवानलाई जगाई शक्ति प्रदान गर्न योगमायाका रुपमा सुम्भ, निसुम्भलाई बध गर्न जगदम्बा माता भगवतीका रुपमा तथा महिषासुर दानवलाई बध गर्न दुर्गा भवानीको रुपमा प्रकट भईन । त्यसैले महादेव र ब्रह्माजीलाई फुर्सद भएकी उनै जगत् जननी त्रिभुनेश्वरी माताको स्मरणमा जप गरि रहन्छन् ।
यसै गरी स्वस्थानी ब्रतकथामामा सतीदेवीले आत्मदाह गरेपछी विरहका कारण महादेवले उनको शव बोकी हिँडे । सतीदेवीको कुहिएको शरिर जहाँ जहाँ अङ्ग पतन भयो त्यहाँ त्यहाँ शिवशक्ति स्वरुपले पीठ उत्पन्न भयो । तिनै सतीदेवीको देब्रे घुँडा देवीकोट दोलखामा पतन भयो र देवीकोट पिठ भद्राक्षी योगिनी मातेश्वर महादेव उत्पन्न भएर शिवशक्ति स्वरुपले रहन्दा भए भनिएको छ ।
त्यसैले त्रिभुवनेश्वर अर्थात त्रिपुरासुन्दरी देवीको मन्दिरलाई देविकोट पनी भन्ने गरिन्छ । नजिकै काँलर वन मातेश्वर मन्दिरको शिवलिङ्ग रहेको छ । यसलाई बनारसी भन्ने गरिन्छ । मातेश्वर महादेवको मन्दिर र त्रिपुरासुन्दरी देवीको मन्दिर सँ–सँगै हुनुबाट पनी सतीदेवीको देव्रे घुँडा पतन भएको स्थान यही हो र कालान्तरमा यही देविकोट त्रिपुरासुन्दरी देवीको मन्दिर स्थापना भयो भन्ने किम्वदन्ती रहेको पाईन्छ ।
जनश्रृती अनुसार देवीकोट स्थान नजिकै दुङ्गल टोलमा दुई जना दाजुभाई सिन्धु र बन्धु आचार्यले तामाकोशी किनारामा दुईजना अद्भूत युवतीहरु खेलीरहेको देखे । ध्यान दृष्ट्रिले हेर्दा ति दुवै त्रिपुरासुन्दरी र बालकुमारी थिए । त्यसपछी ति दुई आचार्यहरुले दोलखामा बस्न आग्रह गरे । आग्रह अनुसार तामाकोशी देख्ने स्थानमा बस्ने सर्तमा हालको चम्पूजा डाँडामा मन्दिर स्थापना गरिएको भन्ने भनाई रहेको छ । तर चम्पूजा डाँडाको मन्दिर आगलागी भई नष्ट भएपछी हालको मन्दिर बनाईएको हो भन्ने भनाई रहेको छ ।
यसै गरी अर्को भनाई अनुसार २७ दिदिबहिनी मध्ये दोलखाको त्रिपुरासुन्दरी जेठी, अरु ९ दिदिबहिनीहरु दोलखा र अन्य विभिन्न स्थानमा रहेको किम्वदन्ती रहेको छ ।
यसै गरी दोलखा नक्छेका पारसमणी प्रधानले राजधानी कान्तिपुरमा वि.सं. १९०२ लेखेको पत्रमा यसरी प्रसुती गराईएको छ । “सौ वर्ण कौशीकाया पूर्व भागे ताम्रकोसी काया निकटे देवीकोट पिठे दुर्गा भवानी स्थाने भीमेश्वर भट्दारकार्य इहैय पुज्य भूमी ।” यसबाट त्रिपुरासुन्दरीको उत्पत्ती र स्थापना बारेमा माथि उल्लेखि गरिएको कुराहरु स्पष्ट हुन्छ ।
यसरी त्रिपुरासुन्दरीको मन्दिर उपत्यका, दोलखा र तौथलमा रहेको छ । दोलखाको नेवारी भाषामा देक्क्वार भनिन्छ भने तौथलको नेवारी भाषामा क्वारदेउ भन्ने गरिन्छ । यसैगरी बैतडीको देविमाण्डो, कालिकोटको निगाल सैली र डोल्पामा पनी त्रिपुरासुन्दरी मन्दिर रहेको छ । दोलखा र तौथलमा नेवार थाकती र पूजारीबाट नित्य पूजा गर्ने चलन रहेको छ भने त्यहा धामीहरुबाट नित्य पूजा गर्ने प्रचलन रहेको छ ।
किम्वदन्ती अनुसार, त्रिपुरासुन्दरीको स्थापना महाभारतकाल भन्दा पहिला भएको भन्ने भनाई पनी रहेको छ । पाँच पाण्डवलाई बाह् वर्षको बनबास सकेर एक वर्षको गुप्तवास कहाँ र कसरी विताउने भन्ने समस्या प¥यो । बनबास भन्दा गुप्तवास गाहे भयो । समस्याबाट मुक्ती पाउन पाँच पाण्डवले यही चम्पूजा डाँडामा बसी भगवान गौरीशंकरको प्रार्थना गरे । यसपछी महादेव र पार्वती उनिहरुको प्रार्थनाबाट खुसी भए र गौरीशंकर हिमालमा उनीहरुको दर्शन पाए । दर्शन पाउँदा समस्याबाट मुक्ती पाउन् त्रिपुरासुन्दरीको प्रार्थना गर्नु भन्ने आज्ञा भयो । यसरी पाँच पाण्डवले सोही अनुसार देवीको प्रार्थना र पूजा गरे । देवी खुसीभई समस्याबाट मुक्ती पाउन यस क्षेत्रबाट पूर्व विराटनगर विराट् राजाको सेवा गरी एकवर्ष विताउनु, कसैले थाहा पाउने छैन भन्ने आज्ञा भयो । त्यसपछी सुख सुविधा र राज्यको भोग गर्न पाउने छ भन्ने आज्ञा भयो । यसरी उनकोआज्ञा पालन गरेर पाँच पाण्डवहरुले मुक्ती पायो भन्ने किम्वदन्ती रहेको छ । यसरी बिभिन्न तथ्यबाट त्रिपुरासुन्दरीको स्थापना र उत्पत्ती महाभारतकाल भन्दा पहिला भएको अनुमान गर्न सक्छौं ।
पूजा व्यवस्थापन :
दैनिक नित्य पूजाआजाको लागि दिक्षा भएका र पञ्चकन्याबाट छानिएका पूजारी बाहेक अरु कसैले पनी देवीको मुलढोकामा पस्न, हेर्न र पूजा गर्न पाउँदैन अर्थात पूजारी बाहेक अरु कसैले भित्र हेर्न हुदैन । दोलखाका नेवार जातीका ६ थरी नेवार मध्ये दिक्षाकर्म लिएका र पाँच कन्याबाट छानिएका व्यक्तिमात्र यस मन्दिरको पूजारी हुन पाउँछ । तर सो जातीका दिक्षित महीला भएपनी पूजारी हुने चलन छैन । पूजारी पनी एकजना बाहेक दोश्रो पूजारी राख्ने र भित्र पस्ने चलन छैन । यसै गरी पूजारीको मृत्यु पश्चात मात्र दोश्रो पूजारी छान्ने प्रचलन रहेको छ । नयाँ पूजारी चुनिएपछी क्षमापूजा गरी सकेपछी मात्र नित्य पूजा गर्ने प्रचलन रहेको छ ।
यसै गरी भगवती मन्दिरको स्थापना सिन्धु आचार्य र बन्धु आचार्यले गरे । यसपछी तिनीहरुले तान्त्रिक विधिबाट पूजा गर्दै आएकोमा पछि तिनको सन्तानले नसक्ने भए त्यसपछी अन्य दिक्षीत व्यक्तिहरुलाई पूजा गर्ने जिम्मा दिईयो । यसरी हाल आचाजु लेख्ने यीनै आर्चायका सन्तानहरु हुन ।
प्रमाणहरुको आधारमा हालसम्म त्रिपुरासुन्दरीमा पूजारीहरु निम्न अनुसारको रहेका छन् ।
वि.सं. १९०० देखि १९२३ सम्म पृथ्वीराज प्रधान, गुर्कोट टोल
वि.सं. १९२३ देखि १९७१ सम्म धुपले, तल्लो विहार्छे टोल
वि.सं. १९७१ देखि १९९५ सम्म मणीराज जोशी, डोकलुङा टोल
वि.सं. १९९५ देखि २०१९ सम्म बिष्णुलाल प्रधान, गुर्कोट टोल
वि.सं. २०१९ देखि २०४३ सम्म धन बहादुर जोशी, डोकलुङा टोल
वि.सं. २०४३ देखि २०५३ सम्म ज्ञानबहादुर प्रधान, गुर्कोट टोल
वि.सं. २०५३ देखि २०६५/११/०१ सम्म मानकाजी आचाजु दुङ्गल टोल
वि.सं. २०६५/११/०२ देखि हालसम्म मोहन कृष्ण आचाजु, दुङ्गल टोल रहेका छन् ।
यस मन्दिरमा विहान नित्य पूजा र साझँ धुपबत्ति बालेर सन्ध्या जगाईन्छ । यसै गरी मन्दिरमा नित्यपूजा जहिले पनी गर्नु पर्छ कहिले पनी टुटाउनु र खाली गर्नु हुदैन । यसरी पुजारीको आफ्नै घरका बाबु आमा, परिवार लगाएत अन्य सदस्यहरुको मृत्यु भएमा अशौच बार्नु हुदैन र अशौच बारी पूजा गर्नु हुदैन । चाडपर्वमा नैवेध सहित विशेष पूजा आजा गर्ने गरिन्छ भने दशैमा यहाँ ८ वटा बोका र १ वटा राँगोको भोग दिने चलन रहेको छ । नित्य पूजाका लागि मासु, चिउरा, रक्सी, निगार नभई हुदैन । यहाँ चढाईने निगार अर्थात छ्याङलाई स्थानिय दोलखाली नेवारी भाषामा काता भनिन्छ । कातालाई जुनसुकै बेला बनाउनु हुदैन भन्ने भनाई रहेको छ । भाद्र पुर्णीमाको दिन नुहाई दुवाई गरि सकेपछी शुद्ध भई बनाउनु पर्छ यसरी बनाईएको काता बर्षदिनसम्म पू¥याउनु पर्छ भन्ने मान्यता रहेको छ ।
यसै गरी दैनिक पूजाआजा र व्यवस्थापनका लागि खेतबारीको व्यवस्था गरिएको छ । जस अनुसार ओजानवली बारी, ड्वाकुपटी, डोकथली बारी, चकचके थली बारी, देबिकोट चोबु खेत, मतानदिलो बारी आदी रहेका छन् । यी जग्गाहरु पूजा र गुठी व्यवस्थापन गर्ने दोलखाली नेवार जातीले उपभोग गर्दे आईरहेका छन् ।
दुङ्गल टोलका नेवार जातीले यस मन्दिरलाई आफ्नो कुलदेवता मान्ने गरिन्छ । यसै गरी भक्तजन महानुभावहरुले भाकल अनुसार बलि पूजाआजा गर्ने गरिन्छ । यसरी यहाँ बलि पूजाआजा गरेको अन्यत्र जस्तो घर लान पाउन चलन छैन । यही सकाउनु पर्ने मान्यता रहेको छ । प्रसाद ग्रहणको लागि आफन्तहरुलाई यही मन्दिरमा बोलाई प्रसाद खुवाउने चलन रहेको छ । विशेष गरी यहाँ बली दिएको बोकाको मासुको रसको आफ्नौ मौलिक विशेषता रहेको पाउँछौं । जुन रसमा जती पानी राखेर पकाएपनी स्वाँदमा पहिला जस्तो हुन्छ त्यस्तै अन्तसम्म पनी रही रहन्छ । बली दिएको बोको भोलीपल्ट मात्र पकाई विधिपूर्वक खाने चलन छ जसलाई दोलखाली नेवारी भाषामा शिरकाई भन्ने नामले चिनिन्छ । यो शिरकाई जस्को बलिपूजा हो त्यो पूजा गर्नेको १३ दिने दाजुभाई, खलकहरु र त्रिपुरासुन्दरीको थाकती अर्थात पूजारीले मात्र लिने प्रचलन रहेको छ ।
सन्दर्भ ग्रन्थ :
दोलखाको ऐतिहासिक रुपरेखा, दोलखाको साँस्कृतिक सम्पदा दोश्रो संस्करण र दोलखाबाट प्रकाशित अन्य स्थानिय पत्रपत्रिकाहरुबाट ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij