Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

एनसेलको लाइसेन्स नै धरापमा, नवीकरण गर्नेभन्दा सरकार रिझाउन बढी केन्द्रित

एनसेलको लाइसेन्स नै धरापमा, नवीकरण गर्नेभन्दा सरकार रिझाउन बढी केन्द्रित

नेपाल सम्वत् ११४४ गुँलागाः १० (१२ भाद्र २०८१), बुधबार, बाँपीझ्याला । नेपालको दोस्रो ठूलो दूरसंचार सेवाप्रदायक एनसेल अहिले अनिश्चिततामा अल्झिएको छ । कम्पनीको मोबाइल सेवाको लाइसेन्स नवीकरण होला कि नहोला भन्ने अनिश्चितता बढ्दै जाँदा एनसेलको भविष्य नै जोखिममा परेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले ५ बर्षपछि कम्पनी सरकारको स्वामित्वमा आउने शर्तमा लाइसेन्स नवीकरण गर्न खोजेपनि एनसेलले हालसम्म आफ्नो लाइसेन्स नवीकरण गराउनेतर्फ भन्दा सरकार रिझाउनतर्फ बढी केन्द्रित हुँदा कम्पनीको लाइसेन्स नै धरापमा पर्नसक्ने जोखिम बढेको हो ।

एनसेललले तेस्रोपल्टको लाइसेन्स नवीकरण गराउनका लागि लाइसेन्सको म्याद सकिनुभन्दा ३ महिना अघि अर्थात गएको जेठ १५ भित्रै २० अर्ब रुपैयाँ बुझाएर नवीकरण गराउनुपर्ने थियो । तर, त्यसबेला मन्त्रिपरिषदको बैठकले नै निर्णय गरेर कम्पनी ५ बर्षपछि सरकारको स्वामित्वमा आउने शर्तमा मात्रै लाइसेन्स नवीकरण गर्नुपर्ने भनेपछि कम्पनी हच्कियो । जसका कारण कम्पनी दूरसंचार ऐनको प्रावधानअनुसार थप १५ प्रतिशत विलम्ब शुल्क तिर्नुपर्ने समस्यामा फस्दै गएको छ र लाइसेन्स नवीकरण गर्न आनाकानी गर्दै आएको छ ।

अब भने कम्पनीको लाइसेन्सको अवधि सकिन आज (बुधबार)बाट जम्मा ३ दिन मात्रै बाँकी छ । यस ३ दिनभित्र कम्पनीले लाइसेन्स नवीकरण नगराएको खण्डमा कम्पनीको लाइसेन्स नै स्वतः खारेज हुने प्रक्रियामा जानेछ । तर, कम्पनीले भने यसतर्फ भन्दापनि सरकार रिझाएर लाइसेन्स नवीकरण वापतको शुल्क किस्तामार्फत तिर्न लगातार लबिङ गरिरहेको पाइएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमलाई दिइएको सुविधासरह आफुले पनि किस्ताबन्दीको सुविधा पाउनुपर्ने भन्दै एनसेलले पटकपटक प्राधिकरणमा अनुरोध गरेको थियो । तर, प्राधिकरणले भने पटकपटक एनसेललाई पत्र पठाउँदै लाइसेन्स नवीकरणवापतको बाँकी रहेको १९ अर्ब रुपैयाँ बुझाउन ताकेता गर्दै आएको छ ।

पछिल्लो समय प्राधिकरणले भदौ ६ गते मात्रै एनसेलका नाममा पत्र पठाउँदै विलम्ब शुल्कसहित १९ अर्ब बुझाएर लाइसेन्स नवीकरण गर्न निर्देशन दिएको दिएको थियो । त्यसबेला प्राधिकरणले किस्तावन्दीको सुविधा दिने अधिकार आफुसँग नभएको भन्दै यसबारेमा मन्त्रालयमा जानकारी गराएको बताएको थियो ।

प्राधिकरणले लगातार पत्र पठाएपनि पछिल्ला पत्रहरुको जवाफ भने एनसेलले नफर्काएको देखिन्छ । प्राधिकरणले पठाएको पछिल्लो पत्रको जवाफ एनसेलले हालसम्म नदिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेल बताउँछन् । उनका अनुसार प्राधिकरणले लगातार ताकेता गरिरहँदा पनि प्राधिकरणलाई एनसेलले अटेरजस्तै गरिरहेको देखिन्छ । अर्थात कम्पनीले सीधै मन्त्रालय र सरकारसँगै लबिङ गरिरहेको छ भने प्राधिकरणलाई वेवास्ता गरिरहेको छ ।

लगातारको लबिङ र आग्रहपछि एनसेलले भने सरकारबाट ग्रीन सिग्नल भने पाइसकेको छ । यसै हप्ताको मंगलबार प्रधानमन्त्री र संचारमन्त्री पृथ्वी सुव्वा गुरुङबीच भएको छलफलले एनसेललाई किस्तावन्दीको सुविधा दिन सकिनेगरी निष्कर्ष निकालेको संचार मन्त्रालयका एक अधिकारीले बिजखबरलाई बताए । तर, यसको अन्तिम निर्णय भने मन्त्रिपरिषदले गर्नुपर्ने भएकाले संचार मन्त्रालयले यसको प्रस्ताव मन्त्रिपरिषदमा लगेपछ र मन्त्रिपरिषदको बैठकले निर्णय गरेपछि मात्रै एनसेललाई राहत मिल्नेछ ।

यति मात्रै नभई एनसेलले ५ बर्षपछि कम्पनी सरकारको स्वामित्वमा जाने शर्त पनि परिवर्तन गरिदिनका लागि लगातार लबिङ गरिरहेको उनी बताउँछन् । एनसेलले टेलिफोन सेवा प्रदान गर्नका लागि पाएको लाइसेन्सको तेस्रोपटकका लागि गएको जेठ १६ सम्म २० अर्ब रुपैयाँ तिरेर नवीकरण गराउनुपर्ने थियो ।

उक्त समयसम्म कम्पनीले प्राधिकरणलाई बुझाउनुपर्ने नविकरवापतको २० अर्ब रुपैयाँ नबुझाउँदा त्यसको १५ प्रतिशतले हुन आउने थप ३ अर्ब रुपैयाँ जरिवानाको चक्करमा फसेको थियो । उक्त अवधिसम्म कम्पनीले किस्ता सुविधा माग गर्दैे तिर्नुपर्ने कुल शुल्कको २० प्रतिशत अर्थात २० अर्बमा जम्मा ४ अर्ब मात्रै बुझाएको थियो ।

एनसेलले २०६१ भदौमा जिएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स पाएको थियो । दूरसंचार ऐनमा तोकिएको व्यवस्थाबमोजिम कम्पनीले २०७१ सालमा पहिलोपटक १० बर्षमा, २०७६ सालमा दोस्रोपटक ५ बर्षमा र २०८१ सालको भदौ १५ सम्म तेस्रोपटक ५ बर्षका लागि उक्त लाइसेन्स नवीकरण गराउनुपर्छ ।

यसअघि प्रत्येकपटक २० अर्ब रुपैयाँ तिर्दै लाइसेन्स नवीकरण गराइसकेको एनसेलले यसपटक भने ३ महिनाअगावै जम्मा ४ अर्ब रुपैयाँ मात्रै भुक्तानी गरेपछि समस्या बल्झिएको हो ।

यसअघि गत बर्ष फागुन २६ गते बसेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्राधिकरणलाई सरकारले एनसेललाई तेस्रोपटक नवीकरण गर्ने बेलामा कम्पनीको सम्पत्ति, जायजेथा र स्वामित्व नै आगामी ५ बर्षमा सरकारका नाममा आउने गरी मात्रै नवीकरण गर्न निर्देशन दिएको छ । अर्थात कम्पनीले मन्त्रिपरिषदले तोकेका शर्तहरु मानेमा मात्रै उक्त लाइसेन्स नवीकरण हुने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार