Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

पूनर्मन्चित "मिसामी" नाटक आफ्नै नजरमा

पूनर्मन्चित "मिसामी" नाटक आफ्नै नजरमा

प्रा.डा. श्याम जोशी, दोलखा, हाल शान्तीनगर, काठमाण्डौ ।

मिसामी नाटक द्वाल्खा नेवारी भाषामा र दोलखाकै पृष्ठभूमिमा लेखिएको अत्यन्त सफल र विशिष्ट नाटक थियो । यो नाटक दोलखाली दर्शकहरु माझ अत्यन्त लोकप्रिय र प्रभावशाली बनेको थियो । नाटक हेर्दाहेर्दे नायिकाको दुःख देखेर धेरै महिलाहरुले आँसु झारेका थिए र आँसु पुछेका थिए । नाटक अवलोकन गर्दागर्दै यस्तो विधि महिलाहरुले आँसु झारेको मैले पहिलो पटक–पटक देखेको थिएँ ।

प्राचिन दोलखा शहरको स्वयम्भुथानमा २०३० सालको दशैको पहिलो पटक मन्चन गरिएको नाटक त्यसको ४६ बर्ष पछी २०७६ असोजमा ‘समय सान्दर्भिक ‘ पत्रिकामा मैले “ मिसामी ः छायाँ परिवारको सफलतम नाटक” शिर्षकमा एक लेख प्रकाशित गरेको थिएं । अहिले मैले कहिले पनि नचिताएको कुरा यो नाटक यही २०८२ सालको जेठ १० गते उपत्यकाको रास्ट्रिय नाच घरमा पुनः प्रदर्शन भयो । अधिकांस दोलखावासी र युवा पुस्ताले रमाइलो मानेर आफ्नो मातृभाषाको नाटक अवलोकन गरे ।

मेरो उपर्युक्त लेखको निस्कर्ष थियो – “अहिले पछाडि फर्केर हेर्दा यस्तो सफलतम नाटक त्यो पनि ऐतिहासिक रुपमा आफ्नै मातृभाषामा प्रदर्शन गरेकोमा गर्व पनि लाग्छ । अर्कातिर, त्यस्तो राम्रो नाटक राम्रो तयारी नगरेर अत्यन्त कम समयमा प्रदर्शन गरेकोमा पश्चाताप पनि लागेर आउँछ । पश्चाताप यो कुरामा लाग्छ कि स्थानीय सामाजिक परिवेशमा लेखिएको एक सशक्त नाटक लामो समयसम्म पूर्वाभ्यास गरेर पूर्ण तयारी साथ देखाइएको भए अझ बढी प्रभावकारी हुन्थ्यो” ।

अहिले पुनः प्रदर्शन गरिसके पछि पनि मैले बोल्दा मुख बाट फ्वात्त फुत्किहाल्यो –“थोरै समयमा राम्रो संग प्रस्तुत गरेकोमा सबै लाई धन्यबाद छ” । यो मेरो मनमा भित्र भित्र पूर्ण सन्तुष्ट हुन् नसकेको अभिव्यक्ति थियो चालै नपाइकन प्रस्फुरित । यो नाटक तयार गर्न शुरुमा रोजिएको निर्देशकले मलाई सुनाएका थिए – “हामिले जनवरी देखि मिसामीको काम गरि राखेका छौं” । तर करिव ३ हप्ता जति मात्र बांकी हुँदा नयाँ निर्देशक केदार श्रेष्ठ देखा पर्नु भयो जसले सिकारु कलाकार लाई सिकाउने खास समय दुई हप्ता जति मात्र पाउनु भयो ।

यो नाटकको निर्देशक केदार श्रेष्ठ आफ्नो क्षेत्रमा सिद्धहस्त नै हुनुहुदो रहेछ भन्ने मैले नाटक हेरे पछि मात्र बिश्वास गरेको थिएँ। उहाँले नाटक मार्फत गरिएका मेरा परिकल्पना लाई रंगमञ्चमा करिब करिब हुबहु उतारी दिनु भएको थियो । उहाँले हाम्रो अर्थशास्त्रमा भने जस्तो ‘आफू लाई प्राप्त सिमित समयको उच्चतम उपयोग’ गर्नु भयो । उहाँले हामीले दर्शक लाई हँसाउन मात्र कमिकको रुपमा राखेको तीन दृश्यहरु हटाउनु भयो । तर दर्शकहरु लाई बुझ्न बढी सजिलो होस् भन्ने अभिप्रायःले नाटकमा भनिएका तर नदेखाइएका दृश्यहरु थप्नु भयो । सायद हामीसंग अहिलेको प्रबिधि नभएर पनि हामीले ती दृश्यहरु स्वतः बुझछन भन्ने मान्यता राखेका थियौ होला । ती दृश्यहरु थिए – नायिका लाई घर बाट निकाल्ने बेला नै गर्भवती थिइन् भन्ने देखाएको; घरमा घाँस लिएर आएको र बाख्रा लाई खुवाएको; घरमा धान कुटेको; फूलमायाँ संग छोरा लाई धान बोकाएर पठाएको, माइतमा सुत्केरी भएको अनि छोरा संग खेलेको । नायक विक्षिप्त भएर रक्सीको सुरमा लट्ठिएर हिंड्दा आकासबाणीमा श्रीमतीको स्वर सुनेको र नायिकाले अन्तरद्वन्द गरेको हुबहु मेरै कल्पना अनुसार थियो ।

त्यस्तै मेरो उपर्युक्त लेखको अर्को निस्कर्ष थियो “उक्त नाटकमा सहभागी कलाकारहरु पेसेवार थिएनन् र तिनका अभिनय त्यति स्वाभाविक थिएनन् । पुरुषहरुले नै महिला पात्रहरुको भूमिका गरेका थिए । कलाकारको भेषभूषा, श्रृङ्गार र रङ्गमञ्चको साजसज्जा खासै हुन सकेको थिएन । कथा तथा सम्वादको भरमा मात्र महिलाहरुलाई आँसु झार्न लगाउन सफल भएको थियो । उसबेला बिजुली नभएकोले एक दुइ वटा म्यान्टोलको भरमा नाटक देखाउनु पर्दथ्यो। अनि आजभोलि जस्तो माइक्रोफोन नहुने भएकोले दर्शकको भीड लाई सुन्ने पार्नको लागि ठुलो ठुलो स्वरमा सम्बाद गर्नु पथ्र्यो जसको कारणले सम्बाद मिठो र स्वाभाविक हुँदैनथ्यो। यी कमीकमजोरीहरुलाई सुधार गरेर पुनः प्रदर्शन गरिएमा अहिले पनि ‘मिसामी’ नाटक त्यत्तिकै सफल हुनेमा मलाई पूर्ण विश्वास छ’।

यी कमजोरीहरु लाई देशकै ठुलो र सुविधासम्पन्न रास्ट्रीय नाच घरमा प्रदर्शन गर्दा स्वभावतःः हटाइएका थिए । कलाकारको भेषभूषा, श्रृङ्गार र रङ्गमञ्चको साजसज्जा राम्रो गरिएका थिए । खास गरेर कलाकारको भेषभूषा र श्रृङ्गार दोलखा शहरमा प्रचलित भन्दा फरक थिएनन् र केही नसुहाउने लागेन । नाटक दोलखा शहरको स्वयम्भुथान अगाडि देखाइएको थियो जसको नजिकै महादेवको मन्दिर छ , ठिक त्यस्तै झल्को दिने गरि अहिले रंगमञ्चमा चित्रहरु कोरिएका थिए ।

नाटक लाई प्रभाबकारी पार्न र कथा सलल बगाउन अर्थात हामीले जस्तो पर्दा खोल्ने र बन्द गर्नेमा समय फाल्ने नगरेर प्रकाशको व्यवस्था गरिएको थियो । त्यस्तै बाटोमा कुहिरो लागेको देखाउन आवश्यक स्थानमा कुहिरो लागेको दृश्य पनि देखाइएको थियो । सायद हलको बनावटले हो कि नाटकमा माइक्रोफोन प्रयोग नगरिएको भए पनि दर्शकहरु लाई सुन्ने पार्नको लागि ठुलो ठुलो स्वरमा सम्बाद बोल्नु पर्ने र अस्वाभाविक रुपले बोल्नु पर्ने समस्या उहिले जस्तो अहिले बिल्कुलै भोग्नु परेन । आबश्यक दृश्यमा पाश्र्व संगीत दिइएका थिए हाम्रै दोलखाका युवा गितकार दीपक स्वप्निल श्रेष्ठले जस्तो कि बनको बाटो हिँड्दा चराहरु कराएको, घरमा बाख्राहरु कराएको, धारा बाट गाग्रीमा पानी खसिराखेको, मन्दिरमा घन्टी बजाइएको आदि । उसबेला हामीले उदघोष गर्न र गीतहरु गाउंन मात्र जिल्ला पंचायत कार्यालय बाट ल्याइएको हाते माइक प्रयोग गरेका थियौं ।

यो नाटकमा समावेस गरिएका चार वटा गीतहरु यो नाटकको मुटु नै थियो । किनकि यो नाटकको कथा लाई बढी हृदयस्पर्शी र मार्मिक यही गीतहरुले बनाएका थिए । यी मध्य निम्न दुई गीतहरु अहिले सम्म पनि उसबेला नाटक हेर्नेहरूको मुख मुखमा झुन्डिरहेको कुरा भर्खरै म दोलखाको भ्रमणमा जाँदा ज्ञात भयो ।

नायकले पत्नीको वियोगमा गाएको:
“पापी मिखानुङ् जन छन्त तुङ खोबि हु खोनै,
नुगरय देउनङ् थनु छिन्तुङ् सत्तय टोनै,
कि चरबुकु गुखी जोडेत कि जननाप नाता जोडेत,
मिय भुंग्रोकु च्वङन जी म्वारेउ गुलनु हतन ।”


नायिकाले पतिको सम्झनामा गएको :
“या याना कार या, या याना कार या,
छन लागिन तुङ् रातदिन खोबी हुयन चोनगी।
छन लागिन् तुङ रातदिन जन्त सुखय भोग मन्त,
छन य लागिन् खोरङ् जन मिखाकु निर मन्त,
छि खेङ् राजा अभागी जि उ मनुकु टोनगी,
छन लागिन् तुङ् रातदिन खोबी हुयन चोनगी ।”

अहिले देखाउंदा गीतको संगीत निर्माण, पूर्वाभ्यास र महिला स्वरको लागि समय अभावले गर्दा औपचारिकता बाहेक गीतहरु बिल्कुलै आकर्षक हुन् सकेनन्, गीतले रुवाउने त् कुरै छोडौं ।

यो नाटकको अर्को प्राण भनेको यसका सम्बादहरुमा प्रयोग गरिएका द्वाल्खा नेवारी भाषाका ठेट बोली, थेगो, उखानहरू हुन् । हामीले धेरै मिहेनत गरेर उसबेला जीवित महिलाहरुले यथार्थमा बोलेका शब्दहरु लाई नाटकमा उतारेका थियौ । यसको प्रभावकारिता भने बोल्ने तरिकामा भर पर्ने भएकोले शत प्रतिशत न्याय भयो भन्न सकिने अवस्था छैन । उसबेला नाटकमा सहभागी कलाकारहरु पेसेवार थिएनन् र तिनका अभिनय त्यति स्वाभाविक थिएनन् । अहिलेका कलाकारहरु पनि पेसेवार त् हैनन् तर निर्देसंनले गर्दा र नाटक देखिरहेका कारणले होला यिनका अभिनय त्यति अस्वाभाविक थिएन ।

अहिले कलाकार दुई थरी थिए – द्वाल्खा नेवारी भाषा बोल्ने र उपत्यकाको नेवारी भाषा बोल्ने स्वभावतःः दोलखाकै दिप नारायण श्रेष्ठको सहजिकरंणको बाबजुद उपत्यकाको नेवारी भाषा बोल्नेहरूले सहज र शुद्ध रुपमा द्वाल्खा नेवारी भाषा उच्चारण गर्न सकेनन् र सम्बादहरु बढी स्पष्ट र प्रभावपूर्ण हुनसकेनन् । अव्यस्त नभएका बोलीका सम्वादहरू कम समयमा कण्ठसंग कतै नअलमलिएर सहज बोलेर कलाकारहरुले आफ्नो खुबी देखाए जसले अभिनय लाई सहज बनाएको थियो । उसबेलाका कलाकारहरुले भने आफ्नै बोली भएर पनि कसैले कण्ठ पार्न सकेका थिएनन् । द्वाल्खा नेवारी भाषा बोल्नेहरूले सम्बाद त् राम्रै बोले तर केहीको अभिनय स्वाभाविक हुन् सकेन।

किटान गरेर भन्नु पर्दा द्वाल्खा नेवारी भाषा बोल्ने तिर सासु हुने बिना चाकुबजीको अनुहार, हाउभाउ, भेषभुषा, सम्बाद र अभिनय सबै कमसेकम यो नाटकको सन्दर्भमा उत्कृष्ट मान्नुपर्छ । त्यसपछि फूलमायाँ हुने अन्नपूर्ण श्रेष्ठको पनि भेषभुषा, सम्बाद र अभिनय हामीले सोचे जस्तै उसबेलाका दोलखाका महिलाहरुको जस्तै थियो । बाल कलाकार दिपटनसु श्रेष्ठको सबैले प्रशंशा बटुलेको पाएँ जसबाट प्रभावित भएर प्रा. हरि दर्शन श्रेष्ठले “ अ स्टार इज बर्न” भन्नु भएको थियो। उपत्यकाको नेवारी भाषा बोल्ने तिर पहिला पूर्वाभ्यास हेर्दा पत्यार नलागेको बुहारी लक्ष्मी हुने सुशिला लक्ष्मी महर्जनले अत्यन्त प्रभावकारी अभिनय गरिन । तर कतै कतै त्यति स्पष्ट बुझिने गरि शब्दहरु उच्चारण गर्न सकिनन् । नायक किरण हुने अमिर ताम्राकारले खोट लाउने ठाउँ नदिएर जीवन्त अभिनय गरे , तर सम्वादमा स्वर सानो र अस्पष्ट गरेर आफ्नो अभिनय लाई पूर्णता दिन सकेनन् ।

संक्षेपमा भन्नु पर्दा छोटो समयको पूर्वाभ्यास बाट डेड घन्टाको नाटक सलल बगेको देख्दा अचम्मै लागेको थियो । अतः सम्बाद लाइ बिर्शीदिने हो भने यो नाटक अत्यन्त सफल भएको मान्नु पर्छ । हाम्रो लागि राजधानीको रास्ट्रीय नाच घरमा हाम्रो मातृभाषाको नाटक प्रथम पटक मन्चन हुनुनै ठुलो गौरब र एतिहासिक घटना हो । यसका लागि निर्देशक केदार श्रेष्ठ लगायत सबै कलाकार निसन्देह बधाईका हकदार छन् । अन्तमा मेरो फेरी उही भनाई – “यो नाटक लेखकको कल्पना अनुसार शुद्ध दोलखा बोलीमा, प्रत्यक संवादको भावना अनुसार गरियो र गीतहरु दुखान्त बनाउन सकियो भने नेपाली नाटकहरु मध्यनै अत्यन्त उत्कृस्ट ठहरिने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार