Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दोलखाको परम्परागत दीक्षाकर्म जोगाउन भीमेश्वर गुठीको अग्रसरता

दोलखाको परम्परागत दीक्षाकर्म जोगाउन भीमेश्वर गुठीको अग्रसरता

नेपाल सम्वत् ११४६, दिल्लागाः १० दशमी (२३ साउन, २०८३, ८ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । प्राचीन शहर भीमेश्वर नगर वडा नं. २ दोलखामा पुस्तौँदेखि चल्दै आएको कुलदेवताको पूजा तथा परम्परागत नीति–विधि संरक्षण गर्न दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिले विशेष पहल थालेको छ।

दोलखाका विभिन्न थर तथा कुलघरमा परम्परागत विधिअनुसार पूजाआजा सञ्चालन गर्ने ‘थाकती’ (दीक्षाकर्म लिएका मुख्य व्यक्ति) को संख्या पछिल्लो समय घट्दै गएपछि यो मौलिक परम्परा नै लोप हुने जोखिम बढेको भन्दै गुठीले संरक्षण अभियान अघि बढाएको हो।

यसैक्रममा आगामी पुस्तामा दीक्षाकर्मसम्बन्धी ज्ञान र परम्परा हस्तान्तरण गर्ने उद्देश्यले गुठी व्यवस्थापन समितिले शनिबार स्थानीय बासिन्दा तथा सरोकारवालाको विशेष भेला आयोजना गरेको छ।

भेलामा भक्तपुरबाट आमन्त्रित विज्ञ प्रमोदराम मिश्रको विशेष उपस्थिति रहेको थियो। स्वयं दीक्षाकर्म लिएका मिश्रले यस विषयमा लामो समयदेखि अध्ययन गर्दै आउनुभएको छ। उहाँलाई आगामी दिनमा दोलखामा दीक्षाकर्मसम्बन्धी ज्ञान प्रदान गर्ने तथा गुरुको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइएको गुठीले जनाएको छ।

दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भेलामा समितिका सचिव अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठले कार्यक्रमको उद्देश्य तथा दीक्षाकर्म संरक्षणको आवश्यकताबारे जानकारी गराउनुभएको थियो।

भेलामा दीक्षाकर्म सम्पन्न गरिसकेका स्थानीय ज्येष्ठ तथा अनुभवी व्यक्तित्वहरूका साथै विभिन्न स्थानीय सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा विज्ञ मिश्रले दीक्षाकर्मको परम्परालाई आगामी पुस्तासम्म कसरी निरन्तरता दिने, प्रशिक्षण कहिलेदेखि सुरु गर्ने तथा यसमा स्थानीयस्तरबाट को–को इच्छुक छन् भन्ने विषयमा सहभागीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो।

स्थानीय बासिन्दाले दोलखाको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा संरक्षणका लागि गुठीले थालेको पहललाई सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूले यस्ता परम्परागत ज्ञान र विधिलाई पुस्तान्तरण गर्न सके दोलखाको मौलिक पहिचान तथा सांस्कृतिक सम्पदा जोगाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार