Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

राजकुलेश्वर जीवनयोगको चौथो वर्ष : स्वास्थ्य, साधना र सकारात्मक जीवनको उत्सव

राजकुलेश्वर जीवनयोगको चौथो वर्ष : स्वास्थ्य, साधना र सकारात्मक जीवनको उत्सव

नेपाल सम्वत् ११४६, दिल्लागाः १२ द्वादसी (२५ साउन, २०८३, १० अगष्ठ २०२६) सोमबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२, तल्लोटोलस्थित राजकुलेश्वर जीवनयोग प्रयोगशालाको चौथो स्थापना दिवस विशेष समारोहबीच सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले योग, साधना तथा जीवन विज्ञानले मानिसको शारीरिक र मानसिक स्वास्थ्यसँगै सकारात्मक जीवनशैली विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको बताएका छन्।

प्रयोगशालाका संयोजक बबिता श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्दै उपप्रमुख बस्नेतले मानव जीवनलाई स्वस्थ, सकारात्मक र ऊर्जावान् बनाउन जीवन विज्ञानले महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभयो।

shibir.jpg

समारोहमा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा जीवन विज्ञान प्रयोगशाला दोलखाका संयोजक सुरेशचन्द्र खड्का, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, कार्यपालिका सदस्य मुना श्रेष्ठलगायत विभिन्न जीवन विज्ञान प्रयोगशालाका संयोजक, प्रशिक्षक तथा साधक–साधिकाहरूको उपस्थिति थियो।

मंसिरमा ‘चक्र विज्ञान’ कार्यक्रम

स्थापना दिवसको अवसरमा जीवन विज्ञान परिषद् दोलखाका संयोजक सुरेशचन्द्र खड्काले आगामी मंसिर १ गतेदेखि ७ गतेसम्म दोलखा जिल्लामा ‘चक्र विज्ञान’ कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो। उहाँले कार्यक्रमको उद्देश्य, सञ्चालन प्रक्रिया तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी गराउनुभएको थियो।

त्यस्तै, जीवन विज्ञान परिषद् दोलखाकी संस्थापक अध्यक्ष तथा प्रशिक्षक सोममाया श्रेष्ठले जीवन विज्ञानको सुरुवातदेखि हालसम्मको विकासक्रमबारे जानकारी गराउँदै यसको उद्देश्य र गतिविधिबारे प्रकाश पार्नुभयो।

कार्यक्रममा प्रयोगशालाका कोषाध्यक्ष कृष्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सहभागी साधक–साधिकाहरूलाई प्रयोगशालाकी सदस्य पार्वती श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

योग र साधनाबाट स्थानीय लाभान्वित

भीमेश्वर नगरपालिका–२ मा राजकुलेश्वरसहित अन्य चारवटा जीवन विज्ञान केन्द्र सञ्चालनमा रहेका छन्। स्थानीय नागरिकहरूले नियमित योग तथा साधनाबाट शारीरिक र मानसिक रूपमा लाभ प्राप्त गरिरहेको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठ, नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत, धुलिखेल–दोलखा अस्पतालका प्रमुख विराट आचार्य तथा कल्याण मित्र जित श्रेष्ठले राजकुलेश्वर जीवनयोग प्रयोगशालाको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो।

विभिन्न प्रयोगशालाका प्रशिक्षक, स्थानीय साधक–साधिका तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमको सञ्चालन साधक ज्ञानेन्द्र प्रधानले गर्नुभएको थियो। समारोहमा योग, साधना र जीवन विज्ञानको महत्वबारे चर्चा गरिनुका साथै अन्त्यमा भजन–कीर्तन तथा नाचगानसहित स्थापना दिवस उल्लासमय वातावरणमा सम्पन्न गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार