Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने

दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय, मंसिर १६ देखि २९ गतेसम्म हुने

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः २ द्वितिया (२९ साउन, २०८३, १४ अगष्ठ २०२६) शनिवार, बाँपिझ्याला । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ। पटक–पटक मिति तोकिएर पनि आयोजना हुन नसकेको प्रतियोगिताको नयाँ मिति राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले तय गरेको हो।

राखेपको बिहीबार बसेको १२५औँ बोर्ड बैठकले पाँचौँपटक दशौं राष्ट्रिय खेलकुदको मिति निर्धारण गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए। यसअघि नै दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय भइसकेको छ।

दशौं राष्ट्रिय खेलकुद २०७९ कात्तिक–मंसिरमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापन समारोहमा २०८१ मंसिरमा कर्णाली प्रदेशमा आयोजना गर्ने घोषणा गरिएको थियो। तर, आवश्यक पूर्वाधार निर्माण पूरा नभएको भन्दै निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन।

त्यसपछि २०८१ चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने मिति तोकियो। तर उक्त मितिमा पनि खेलकुद आयोजना हुन सकेन। त्यसपछि तेस्रोपटक २०८२ जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरियो। सो मिति पनि सर्दै चौथोपटक फागुन १ देखि ७ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको थियो।

आर्थिक अभावलाई कारण देखाउँदै फागुनको निर्धारित मितिमा पनि प्रतियोगिता आयोजना हुन सकेन। त्यसपछि राखेपले पुनः जेठमा दशौं राष्ट्रिय खेलकुद सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेन।

यसैबीच, तत्कालीन युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दशौं राष्ट्रिय खेलकुद २०८२ फागुनमा आयोजना गर्ने निर्णय गरेका थिए। तर, निर्धारित समय आउनुअघि नै मन्त्री पदबाट राजीनामा दिएर निर्वाचनमा लागेपछि उक्त निर्णयअनुसार पनि प्रतियोगिता हुन सकेन।

अब राखेपले आगामी मंसिर १६ देखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने नयाँ मिति तय गरेको छ। पटक–पटक मिति सर्दै आएको दशौं राष्ट्रिय खेलकुद यसपटक भने निर्धारित समयमै सम्पन्न हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार