नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ६ षष्ठी (२ भाद्र २०८३, १८ अगष्ठ २०२६) मंगलबार, बाँपिझ्याला । दोलखा जिल्लाव्यापी अन्तरविद्यालयस्तरीय फुटबल लिग प्रतियोगिता–२०८३ सोमबारदेखि चरिकोटमा सुरु भएको छ । चरिकोट खेलकुद विकास समाजको आयोजनामा सुरु भएको प्रतियोगिताको भीमेश्वर नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धरले भीमेश्वर रङ्गशालामा आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख मानन्धरले निर्माणाधीन भीमेश्वर रङ्गशाला सम्पन्न गर्न आवश्यक बजेटको सुनिश्चितता भइसकेको बताउनुभयो । उहाँले रङ्गशाला निर्माण सम्पन्न भएपछि राजधानीबाहिरको काठमाडौं नजिकैको महत्वपूर्ण वैकल्पिक रङ्गशालाका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।
उहाँले जिल्लामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणसँगै विद्यालय तहबाटै खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । निर्माणाधीन रङ्गशाला जिल्लाको खेलकुद गतिविधि विस्तारका लागि महत्वपूर्ण आधार बन्ने उहाँको भनाइ थियो ।
चरिकोट खेलकुद विकास समाजका अध्यक्ष राजेन्द्र भुजेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, नेपाल पत्रकार महासङ्घ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतियोगिताअन्तर्गत सोमबार भएको उद्घाटन खेलमा मोर्डन नेपाल स्कूल चरिकोटले कालिञ्चोक माध्यमिक विद्यालय चरिकोटलाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि मोर्डन नेपाल स्कूलले निर्णायक अग्रता कायम गर्दै प्रतियोगिताको पहिलो खेल आफ्नो पक्षमा पारेको हो ।
जिल्लाका विद्यालयहरूबीच खेलकुदको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्ने तथा विद्यालय तहबाटै फुटबल खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा दोलखा जिल्लाका विभिन्न विद्यालयबाट नौ वटा विद्यालय सहभागी भएका छन् । विद्यालयस्तरीय फुटबलमा विद्यार्थीको सहभागिता बढाउँदै जिल्लामा खेलकुदको वातावरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका आगामी खेलहरू पनि भीमेश्वर रङ्गशालामा सञ्चालन हुने आयोजकले जनाएको छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij