Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक

मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला । नेपाली मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक भएको छ। बद्री पङ्गेनी र हेमन्ता भट्टराईको स्वर रहेको गीतमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेको अभिनय रहेको छ।

गीतको भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन्। साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो।

पछिल्लो समय तीज गीतमा पर्वको मौलिकता र धार्मिक तथा सांस्कृतिक भावनाभन्दा तडकभडकलाई प्राथमिकता दिइएको गुनासो भइरहेका बेला ‘पति परमेश्वर’ले भने तीजको धार्मिक तथा पारिवारिक भावलाई प्रस्तुत गर्न खोजेको निर्माण पक्षले जनाएको छ।

गीतमा पार्वतीले भगवान् शिवको दीर्घायु, सुख तथा शान्तिको कामना गर्दै व्रत बसेको धार्मिक प्रसङ्गलाई आधार बनाइएको छ। श्रीमान्–श्रीमतीबीचको प्रगाढ प्रेम, आपसी समझदारी र समर्पणले परिवारमा सुख, शान्ति र खुसी ल्याउँछ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको निर्माण पक्षको भनाइ छ।

गीतका शब्द तथा सङ्गीत हेमन्ता भट्टराईले तयार पारेकी हुन्। गीतको एरेन्ज लोकप्रिय गायक, सर्जक तथा एरेन्जर विनोद बाजुरेलीले गरेका छन्। गीतको रेकर्डिङ काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो।

भक्तपुरको गुन्डु मन्दिरमा छायाङ्कन गरिएको भिडियोमा अविशेक खड्का, गीता ढुङ्गाना, पुष्कर अवस्थी र करुणा पाण्डेले अभिनय गरेका छन्।

हरेक वर्ष तीजको अवसरमा मौलिक गीत प्रस्तुत गर्दै आएको बताउँदै गायिका हेमन्ता भट्टराईले यस वर्ष पनि दर्शक तथा श्रोताका लागि मौलिक तीज गीत ल्याएको बताइन्।

‘सधैँझैँ यस गीतमा पनि अझ बढी माया र साथ पाउने विश्वास लिएका छौँ,’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार