Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

लाखे नाच मर्यादित र व्यवस्थित गर्न १३ बुँदे आचारसंहिता जारी

लाखे नाच मर्यादित र व्यवस्थित गर्न १३ बुँदे आचारसंहिता जारी

नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ४ चौथी (३१ साउन, २०८३, १६ अगष्ठ २०२६) आईतबार, बाँपिझ्याला, विराटनगर । लाखे नाचलाई मर्यादित, व्यवस्थित तथा सांस्कृतिक रूपमा संरक्षण गर्ने उद्देश्यले विराटनगरमा १३ बुँदे आचारसंहिता जारी गरिएको छ। लाखे नाच सञ्चालन तथा व्यवस्थापनका क्रममा सहभागी समूह, संस्था र सर्वसाधारणले पालना गर्नुपर्ने विभिन्न नियम समेटेर आचारसंहिता सार्वजनिक गरिएको हो।

आचारसंहिताअनुसार विराटनगरभित्र रहेका सम्पूर्ण लाखे नाच नचाउने समूह वा संस्थाले आफूलाई भक्ति/विराट नेवा पुचः, रानी नेवा समुदाय, नेवा देय् दबु विराटनगर वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अन्य नेवा: संस्थामध्ये सम्बन्धित निकायमा अनिवार्य रूपमा सूचीकृत गर्नुपर्नेछ।

लाखे समूह वा संस्थाले आफ्नो परिचय खुल्ने गरी ब्यानर, परिचयपत्र वा टीसर्ट लगाएर प्रदर्शन गर्नुपर्ने व्यवस्था गरिएको छ। आधिकारिक संस्थाको ब्यानर अनिवार्य रूपमा प्रदर्शनस्थलमा राख्नुपर्ने आचारसंहितामा उल्लेख छ।

लाखे नाच गराउँदा घरधनी, व्यापारी तथा प्रतिष्ठित संघ–संस्थाबाट श्रद्धाले दिइएको आर्थिक सहयोग (भेटी) स्वीकार गर्न पाइने भए पनि जबर्जस्ती थप रकम माग्न नपाइने व्यवस्था गरिएको छ।

त्यस्तै, बजार, सार्वजनिक स्थल तथा प्रदर्शनस्थलमा सामाजिक वातावरणमा खलल पुग्ने गरी मादक पदार्थ सेवन गर्न वा नगरी होहल्ला तथा अश्लील शब्द प्रयोग गर्न प्रतिबन्ध लगाइएको छ। संवेदनशील क्षेत्र, विद्यालय, अस्पताल वा अन्य प्रतिष्ठानसँग सम्बन्धित संस्थाको अनुमति नलिई प्रदर्शन गर्नसमेत नपाइने उल्लेख छ।

बाल कला प्रदर्शनका लागि बाहेक उमेर नपुगेका बालबालिकालाई लाखे नाच समूहमा हिँडाउन नदिन अभिभावकहरूलाई अनुरोध गरिएको छ। कुनै अप्रिय दुर्घटना भएमा त्यसको जिम्मेवारी सम्बन्धित लाखे नाच समूह वा अभिभावकको हुने आचारसंहितामा स्पष्ट गरिएको छ।

लाखे नाच राति ९ बजेसम्म मात्र प्रदर्शन गर्न पाइने व्यवस्था गरिएको छ। अन्य नेवा संस्थाका लाखे समूहसँग भेट हुँदा मित्रवत् व्यवहार गर्दै एक–अर्काको सम्मान गर्नुपर्नेमा पनि जोड दिइएको छ।

आचारसंहितामा लाखे नाच नेवार समुदायको पवित्र पर्व भएकाले यो निश्चित समयभित्र मात्र नचाइने परम्परा रहेको उल्लेख गर्दै अन्य महिनाका अन्य दिनमा कुनै पनि संघ–संस्था वा स्थानीय निकायले लाखे नाच ननचाउन आग्रह गरिएको छ।

त्यस्तै, लाखे नाचमा अन्य जातजातिको रुचि एवं सहभागितालाई स्वागत गरिए पनि लाखेको महत्व नबुझी छुट्टै समूह खडा गरी नाच नचाउनुअघि नबढ्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ।

उल्लिखित नियमहरूको कार्यान्वयन तथा अनुगमनका लागि अनुगमन समितिले सक्रिय भूमिका निर्वाह गर्नेछ। आवश्यक परेको अवस्थामा समितिले स्थानीय प्रशासन तथा प्रहरीसँग लिखित वा मौखिक सहयोगसमेत माग्न सक्ने व्यवस्था गरिएको छ।

आचारसंहिता जारी गर्ने तथा अनुगमनमा रानी नेवा: समुदाय, विराट नेवा: पुचः, नेवा: देय् दबु र भक्ति पुचः, विराटनगर लगायतका संस्थाको सहभागिता रहेको छ।

लाखे नाचलाई सांस्कृतिक पहिचान, मौलिक परम्परा र सामाजिक सद्भावसँग जोडेर मर्यादित रूपमा सञ्चालन गर्न आचारसंहिताले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार