नेपाल सम्वत् ११४६, गुंल्लाथ्वः ९ नवमी (५ भाद्र २०८३, २१ अगष्ठ २०२६) शुक्रबार, बाँपिझ्याला । सरल सहयात्री पौडेल बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री किरण थापा मगरको नेतृत्वमा गठन भएको नयाँ मन्त्रिपरिषद्मा पौडेलले बिहीबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
पौडेल हाल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका अध्यक्षसमेत हुन्। माओवादी जनयुद्धको समयदेखि नै राजनीतिक आन्दोलनमा सक्रिय रहेका उनी लामो समयदेखि प्रदेशको राजनीति र संगठन निर्माणमा संलग्न रहँदै आएका छन्।
सिन्धुपाल्चोकको बाह्रबिसेमा २०३८ असोज २१ गते जन्मिएका पौडेलले निकै कम उमेरदेखि राजनीतिक यात्रा सुरु गरेका थिए। २०४८ सालमा सिन्धुपाल्चोकको मानेश्वरामा गठित बाल संगठनमार्फत राजनीतिक गतिविधिमा जोडिएका उनी २०४९ सालमा अखिल (छैटौँ) को जिल्ला सदस्य बनेका थिए। त्यसपछि २०५५ सालमा अखिल क्रान्तिकारीमा आबद्ध भएका उनी तत्कालीन माओवादी सशस्त्र संघर्षमा समेत सहभागी भए।
१८ वर्षकै उमेरमा जनमुक्ति सेनाको सदस्यका रूपमा युद्धमा प्रवेश गरेका पौडेलले पछि ब्रिगेड कमाण्डरको जिम्मेवारीसमेत सम्हालेका थिए। जनयुद्धका क्रममा करिब चार दर्जन भिडन्तमा सहभागी भएको उनको राजनीतिक जीवनमा पारिवारिक क्षतिसमेत जोडिएको छ। युद्धकै क्रममा उनले दाजु शम्भु पौडेल र बहिनी रीता पौडेललाई गुमाएका थिए।
शान्ति प्रक्रियापछि भने पौडेलको राजनीतिक यात्रा नयाँ चरणमा प्रवेश गर्यो। पार्टी संगठन निर्माण, संस्थागत विकास तथा प्रदेश राजनीतिमा सक्रिय हुँदै उनी बागमती प्रदेशको नेतृत्व तहमा पुगे। २०७८ सालमा नेकपा माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका उनी प्रदेशसभा सदस्यका रूपमा समेत जनप्रतिनिधिको भूमिका निर्वाह गर्दै आएका छन्।
२०७० सालको संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका पौडेल पराजित भएका थिए। २०७४ सालको निर्वाचनमा उनले प्रतिस्पर्धा गरेनन्। तर २०७९ सालको प्रदेशसभा निर्वाचनमा सिन्धुपाल्चोक–१ (क) बाट निर्वाचित हुँदै प्रदेशसभामा प्रवेश गरेका थिए।
राजनीतिसँगै पौडेल साहित्य र सामाजिक क्षेत्रमा पनि सक्रिय छन्। जनयुद्धका अनुभव, संघर्ष, पीडा र सपनालाई उनले साहित्यका माध्यमबाट अभिव्यक्त गर्दै आएका छन्। उनका ‘क्रान्तिका कथाहरू’, ‘छापामारका गीत’ तथा २०७५ सालमा प्रकाशित ‘शिखरको ढुङ्गा’ लगायतका कृति सार्वजनिक भएका छन्।
पौडेलले साहसिक गतिविधिमा समेत आफ्नो पहिचान बनाएका छन्। उनले सगरमाथा आरोहण गरी जनमुक्ति सेनाको झण्डा सगरमाथाको चुचुरोसम्म पुर्याएको बताइन्छ। यसले उनलाई राजनीतिज्ञसँगै युद्ध अनुभव र संघर्षलाई साहित्य तथा साहसिक यात्रामार्फत अभिव्यक्त गर्ने व्यक्तित्वका रूपमा स्थापित गरेको छ।
नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री पौडेलले प्रदेशलाई संविधानले दिएको अधिकार प्रभावकारी रूपमा प्रयोग गर्दै संघीयताको मर्मअनुसार अघि बढाउनुपर्ने धारणा राख्दै आएका छन्। प्रदेशप्रति देखिएको जनताको निराशा र वितृष्णा चिर्ने गरी प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी र प्रभावकारी बनाउनुपर्ने उनको जोड छ।
अब आर्थिक मामिला तथा योजनामन्त्रीको जिम्मेवारी पाएसँगै पौडेलसामु बागमती प्रदेशको आर्थिक नीति, बजेट व्यवस्थापन, विकास योजना तथा प्रदेशको वित्तीय अनुशासनलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी आएको छ। प्रदेश सरकारको आर्थिक स्रोतलाई प्राथमिकताका क्षेत्रमा परिचालन गर्दै जनमुखी विकास र सुशासन कायम गर्ने चुनौती पनि उनको कार्यकालमा रहनेछ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij