Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

५० प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गर्दै भीमेश्वर नगरपालिका

५० प्रतिशत अनुदानमा घाँसको बिउ वितरण गर्दै भीमेश्वर नगरपालिका

नेपाल सम्वत् ११४६, गुंल्लागाः १४, चतुर्दशी (२५ भाद्र २०८३, १० सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत पशु आहार उत्पादन तथा पशुपालन प्रवर्द्धनका लागि हिउँदे घाँसको बिउ वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नगरपालिकाको पशु सेवा शाखाले सूचना जारी गर्दै ५० प्रतिशत अनुदानमा वर्षिम र जै घाँसको बिउ वितरण गर्न लागिएको जनाएको छ। कार्यक्रमअन्तर्गत भीमेश्वर नगरपालिकाभित्रका सम्पूर्ण वडा क्षेत्रका कृषक तथा व्यावसायिक पशुपालक कृषकबाट बिउको माग संकलन गरिनेछ।

सूचनाअनुसार कृषकहरूले आवश्यक घाँसको बिउको नाम, परिमाण तथा आवश्यक कागजातसहित पशु सेवा शाखामा सूचना प्रकाशित भएको सात दिनभित्र निवेदन पेश गर्नुपर्नेछ। मागका आधारमा बिउ वितरण गरिने नगरपालिकाले जनाएको छ।

आवश्यक कागजात

५० प्रतिशत अनुदानमा वर्षिम तथा जै घाँसको बिउ प्राप्त गर्न कृषकहरूले घाँसको नाम, आवश्यक परिमाण तथा पशु संख्या खुलाएर निवेदन दिनुपर्नेछ। व्यावसायिक पशुपालक कृषकले व्यवसाय दर्ताको प्रमाणपत्र, व्यवसाय कर चुक्ताको प्रमाण तथा नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। नगरपालिकाभित्र स्थायी बसोबास नभएका तर व्यवसाय सञ्चालन गरिरहेका कृषकले व्यवसाय दर्ता तथा नवीकरणसम्बन्धी कागजात समेत बुझाउनुपर्नेछ।

वितरणका मापदण्ड

नगरपालिकाले बिउ वितरणका लागि पशु संख्याका आधारमा मापदण्ड निर्धारण गरेको छ। व्यवसाय दर्ता नभएका कृषकमध्ये १ देखि ५ वटा गाई–भैंसी वा ५ वटा भेडा–बाख्रा पाल्ने कृषकलाई सीमित परिमाणमा बिउ उपलब्ध गराइनेछ। व्यवसाय दर्ता भएका कृषकलाई भने पशु संख्याका आधारमा बढी परिमाणमा वर्षिम र जै घाँसको बिउ वितरण गरिनेछ।

पशु सेवा शाखाका अनुसार माग अत्यधिक भएमा वा खरिद गरिएको बिउ अपुग भएमा वितरण परिमाणमा आवश्यक समायोजन गरी नगरपालिकाले थप निर्णय गर्नेछ।

नगरपालिकाले किसानलाई गुणस्तरीय पशु आहार उत्पादनमा प्रोत्साहन गर्दै दुग्ध तथा मासु उत्पादन वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ। सूचना प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद सुवेदीद्वारा प्रकाशित गरिएको हो।

bhimmeshwor-muni.gif

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार