Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न मन्त्रालयको निर्देशन

नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न निर्देशन दिएको छ।

शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले देशभरका विद्यालयमा शिक्षकको राजनीतिक गतिविधिमाथि निगरानी गर्न र संलग्नता पुष्टि भए कारबाही गर्न निर्देशन दिएका हुन्।

मन्त्रालयको निर्देशनपछि शिक्षा विकास तथा समन्वय एकाइहरूले स्थानीय तहलाई शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिबारे निगरानी बढाउन पत्राचार गर्न थालेका छन्।

बैतडीमा १० स्थानीय तहलाई पत्राचार

शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भए–नभएको गहन निगरानी गर्न आग्रह गरेको छ।

एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही विद्यालयका शिक्षक विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।

प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा सरकारका पछिल्ला निर्देशनविपरीत शिक्षकको गतिविधि पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गर्न स्थानीय तहलाई आग्रह गरिएको छ।

एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत दिइएको छ।

सिन्धुलीमा चार शिक्षक तथा कर्मचारीको नाम उल्लेख

यता, शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।

एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ।

एकाइ प्रमुख तथा उपसचिव दिनेशप्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चारजना शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको उल्लेख गरिएको छ। पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख छ।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित शिक्षक आचरणसम्बन्धी व्यवस्थाविपरीत गतिविधि भएको पाइए सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ।

साथै, स्थानीय तहले गरेको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार