Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दोलखामा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा भव्य रूपमा फूलपाती पर्व सम्पन्न

दोलखामा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सहभागितामा भव्य रूपमा फूलपाती पर्व सम्पन्न

नेपाल सम्वत् ११४६, कौलाथ्वः ६, षष्ठी (३१ असोज २०८३, १७ अक्टोबार, २०२६) शनिवार, बाँपिझ्याला । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत घटस्थापनाको सातौँ दिन अर्थात् सप्तमीका अवसरमा दोलखामा परम्परागत विधि, पूजाआजा र बाजागाजासहित फूलपाती पर्व भव्य रूपमा सम्पन्न भएको छ। प्राचीन सहर दोलखाको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको यस पर्वमा स्थानीय गुठीयार, पुजारी, पुरोहित तथा सर्वसाधारणका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका जवानहरूको उत्साहजनक सहभागिता रहेको थियो। दोलखामा सुरक्षा निकायको सहभागिता २०८२ सालको दसैँदेखि सुरु भएको हो।

phulpati1.gif

दोलखाको ऐतिहासिक तथा सांस्कृतिक पहिचानका रूपमा रहेको फूलपाती पर्वमा पुस्तौँदेखि चलिआएको धार्मिक विधि र गुठी परम्परालाई निरन्तरता दिइँदै आएको छ। फूलपातीका दिन दोलखाका विभिन्न टोलमा दाजुभाइहरू एकत्रित भई परम्पराअनुसार राँगो काटेर चाड मनाउने चलनसमेत रहेको छ।

यस दिन दिउँसो राजकुलेश्वर तलेजु मन्दिरबाट फूलपाती भित्र्याउन आवश्यक पूजासामग्री तयार गरिन्छ। कल्कीसहित पूजासामग्री बोकेर पुजारी, पुरोहित, ब्राह्मण, गुठीयार तथा बाजागाजाको टोली भीमेश्वर मन्दिरतर्फ प्रस्थान गर्ने परम्परा छ। फूलपातीको दिनदेखि दसैँका बाजागाजामा दमाई समुदायका वाद्यवादकले नगरा बजाउने चलनसमेत रहेको छ।

भीमेश्वर मन्दिर पुगेपछि विशेष पूजाआजा गरिन्छ। त्यसपछि उत्तर दिशामा रहेको डोक्लुङ्गा जोशीहरूको मूलघरमा राखिएको डोली निकालिन्छ। फूलपातीका लागि उक्त डोलीलाई विशेष पूजाआजा र सिङ्गारपटार गरी तयार राखिएको हुन्छ।

डोली बोक्ने दुई गुठीयारमध्ये अगाडिको व्यक्तिको त्यस वर्ष पालो परेको हुन्छ भने अर्का व्यक्तिको अर्को वर्ष पालो पर्ने परम्परा छ। त्यस्तै, केराको थाम बोक्ने गुठीयारहरू त्यसपछिका वर्षमा पालो पर्ने व्यक्ति हुन्छन्। यसरी गुठीयारहरूको पालोअनुसार पुस्तौँदेखि चल्दै आएको परम्परालाई विधिपूर्वक निरन्तरता दिइन्छ।

डोलीमा विधिपूर्वक पूजाआजा गरेपछि बलिका लागि राखिएको बोकालाई संकल्प गरी पर्साउने परम्परागत विधि पूरा गरिन्छ। त्यसपछि डोलीमुनि मार हानेर बोकाको टाउको डोलीमा राखिन्छ। बोकालाई तीनपटक डोली घुमाएर पूजाआजा गरेपछि डोलीलाई बाजागाजा र भजनकीर्तनसहित राजकुलेश्वर तलेजु मन्दिरतर्फ लगिन्छ।

राजकुलेश्वर तलेजु मन्दिर पुगेपछि विशेष पूजाआजा गरी विधिपूर्वक फूलपाती भित्र्याइन्छ। यसै दिन पालो परेको गुठीयारले विभिन्न देवीदेवताको पूजाका लागि राखिएको राँगो कसाईलाई जिम्मा दिने परम्परासमेत रहेको छ।

दोलखामा मनाइने फूलपाती पर्व धार्मिक अनुष्ठानमा मात्र सीमित नभई यहाँको प्राचीन संस्कृति, गुठी व्यवस्था, सामूहिक सहभागिता र मौलिक परम्पराको जीवन्त प्रतिबिम्बका रूपमा रहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहभागिताले पर्वको सामूहिक महत्त्वलाई थप उजागर गरेको छ। यस्ता सांस्कृतिक पर्वले दोलखाको ऐतिहासिक पहिचान संरक्षण गर्नुका साथै नयाँ पुस्तामा मौलिक संस्कार, संस्कृति र सम्पदाप्रतिको सम्मान अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार