Nov 14 2026 | २०८३, कार्तिक २८, गते

Nov 14 2026 | २०८३, कार्तिक २८, गते

दसैँमा टीका–जमरा नलगाउने खोकना, जहाँ घटस्थापनादेखि नवमीसम्म मनाइन्छ सिकाली जात्रा

दसैँमा टीका–जमरा नलगाउने खोकना, जहाँ घटस्थापनादेखि नवमीसम्म मनाइन्छ सिकाली जात्रा

नेपाल सम्वत् ११४७, कौलाथ्वः ७ अष्ठमी, (१ कार्तिक २०८३, १८ अक्टोबर, २०२६) आईतबार, बाँपिझ्याला । देशभर बडादसैँको रौनक छाइरहेका बेला ललितपुरको ऐतिहासिक नेवार बस्ती खोकनामा भने दसैँको सट्टा मौलिक ‘सिकाली जात्रा’ धुमधामका साथ मनाइएको छ। ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनाका बासिन्दाले घटस्थापनादेखि नवमीसम्म विभिन्न धार्मिक अनुष्ठान, देवीदेवताको पूजा, परम्परागत नृत्य तथा सामूहिक भोजका साथ यो ऐतिहासिक जात्रा मनाउने गर्छन्। देशका अधिकांश भागमा जमरा राख्ने, विजयादशमीका दिन टीका लगाउने र आशीर्वाद लिने चलन रहँदा खोकनावासी भने पुस्तौँदेखि चल्दै आएको आफ्नै मौलिक परम्परालाई निरन्तरता दिँदै आएका छन्।

नेपालको सांस्कृतिक विविधताको अनुपम उदाहरणका रूपमा रहेको खोकनामा बडादसैँका अवसरमा न जमरा राखिन्छ, न त निधारमा रातो टीका नै लगाइन्छ। यहाँका बासिन्दाका लागि सिकाली जात्रा नै प्रमुख चाड हो। जात्राका क्रममा गरिने पूजापाठ, तान्त्रिक विधिमा आधारित देवीदेवताको नृत्य, गुठीका गतिविधि तथा सामूहिक भोजले खोकनाको मौलिक संस्कृति र सामाजिक एकतालाई जीवन्त बनाउँदै आएको छ।

ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनका अनुसार खोकनावासीले परापूर्वकालदेखि नै दसैँ मनाउनेभन्दा सिकाली र रुद्रायणी देवीको जात्रालाई विशेष महत्त्व दिँदै आएका छन्। उहाँले भन्नुभयो, “हामीले दसैँको सट्टामा सिकाली देवी र रुद्रायणी देवीको जात्रा मनाउँछौँ। खोकनावासीले दसैँ मनाउँदैनन्। यहाँ जमरा राख्ने र टीका लगाउने चलन छैन। यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको हो। हाम्रा आराध्यदेवी भनेका सिकाली र रुद्रायणी हुन्।”

उहाँका अनुसार घटस्थापनादेखि नवमीसम्म चल्ने सिकाली जात्रा खोकनावासीको धार्मिक, सांस्कृतिक र सामाजिक जीवनसँग गहिरो रूपमा जोडिएको छ। जात्राको अवधिभर स्थानीयवासी पूजापाठ, देवीदेवताको नृत्य, गुठीका धार्मिक गतिविधि तथा सामूहिक भोजमा व्यस्त हुन्छन्। यस अवसरमा गाउँलेहरू आपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिक पहिचानअनुसार चाड मनाउँछन्।

तीन गुठीबाट जात्राको सुरुवात

सिकाली जात्राको सुरुवात आश्विन शुक्ल प्रतिपदाका दिन खोकनाका तीन प्रमुख गुठी—तः गुठी, जम्मू गुठी र साला: गुठीमा एक–एक वटा राँगाको बलि दिएर गरिन्छ। त्यसपछि तीनै गुठीका गुठियारहरू सामूहिक भोजमा सहभागी हुन्छन्। जात्राका क्रममा रुद्रायणी, भैरव, बालकुमारी, गणेश, ब्रह्मा, महादेव, कलः ज्व (करुणामय), दन्द्रायणणी, वज्रवाराही, महालक्ष्मी र नृत्येश्वरलगायत देवीदेवताको पूजा गरिन्छ। यसका साथै स्याल, कुकुरलगायत जनावरको समेत पूजाआजा गर्ने परम्परा रहेको छ।

चौथीका दिन बिहानै तीनवटै गुठीमा पुनः राँगाको बलि दिइन्छ। साँझ श्रीकाली चौरमा सामूहिक भोज आयोजना गरी त्यस दिनको धार्मिक कार्यक्रम सम्पन्न गरिन्छ। पञ्चमीका दिन गाउँका विभिन्न मन्दिरमा रहेका देवीदेवताका मूर्तिलाई बाहिर निकालेर खटमा राखी विशेष पूजाआजा गरिन्छ। गुठी र अग्रजको पूजा गरेपछि राति खटजात्रा गर्दै श्रीकाली चौर पुग्ने परम्परा रहेको वडाध्यक्ष महर्जनले बताउनुभयो।

षष्ठीका दिन रुद्रायणी गुठीको देवी नाच र सिकालीको नाचसहित तीनवटै गुठीबाट जात्रा निकालिन्छ। जात्रापछि सामूहिक भोज आयोजना गरिन्छ भने गुठीबाट निकालिएका देवीदेवताका मूर्तिलाई विधिपूर्वक पुनः प्रतिष्ठापन गरिन्छ।

सप्तमीका दिन दिनभर विभिन्न देवीदेवताको नाच प्रदर्शन गरिन्छ। साँझतिर नाच मन्दिरमा प्रवेश गराएपछि त्यस दिनको जात्रा सम्पन्न हुन्छ। अष्टमीका दिन गुठीहरूबाट देवीदेवताका मूर्ति पुनः बाहिर निकालेर गाउँभरि जात्रा गराइन्छ र राति तिनलाई विधिपूर्वक पुनःस्थापित गरिन्छ।

नवमीका दिन खोकनाका नेवार समुदायका घरघरमा पूजापाठ गरिन्छ। त्यसपछि सामूहिक भोज खाएर घटस्थापनादेखि सुरु भएको सिकाली जात्राको औपचारिक समापन गरिन्छ। यसरी नौ दिनसम्म चल्ने जात्राले धार्मिक आस्था, सामुदायिक सहभागिता र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक परम्परालाई एकै ठाउँमा जोड्ने काम गर्छ।

रुद्रायणीको मूर्ति र भालेसँग जोडिएको किंवदन्ती

सिकाली जात्रासँग खोकनाको रुद्रायणी देवीको मूर्तिसम्बन्धी रोचक किंवदन्ती पनि जोडिएको छ। स्थानीय जनविश्वासअनुसार कुनै समय रुद्रायणीको मूर्ति चोरेर लैजाने क्रममा अचानक भाले बासेपछि चोरले मूर्ति लसुनबारीमा छोडेर भागेको थियो। भोलिपल्ट खोकनावासीले मूर्ति फेला पारेर पुनः प्राणप्रतिष्ठा गरेपछि गाउँमा उन्नति र प्रगति भएको विश्वास गरिन्छ।

देवीकै कृपाले गाउँको विकास र समृद्धि भएको मान्यताका आधारमा सिकाली जात्राको परम्परा सुरु भएको स्थानीयवासीको विश्वास छ। भाले बासेकै कारण देवीको मूर्ति चोरी हुनबाट जोगिएको किंवदन्तीका कारण रुद्रायणी गुठीका गुठियारले अहिले पनि भालेको मासु नखाने परम्परा कायम राखेको बताइन्छ।

पर्यटकको आकर्षण बन्दै सिकाली जात्रा

बडादसैँका बेला काठमाडौँ उपत्यकाका धेरै बस्ती तुलनात्मक रूपमा सुनसान हुने गरे पनि खोकनामा भने सिकाली जात्रा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्ने गर्छ। सिकाली मन्दिर र रुद्रायणी मन्दिर आसपासका क्षेत्र परम्परागत धिमे, बाँसुरी तथा नेवारी बाजागाजाले गुञ्जायमान बन्छन्। देवीदेवताको नाच, खटजात्रा, धार्मिक अनुष्ठान र सामूहिक भोजले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्यसमेत बनाएको छ।

जात्राका अवसरमा घरघरमा पाहुनालाई निमन्त्रणा गरेर मौलिक नेवारी परिकारसहित सामूहिक भोज खुवाउने परम्पराले आपसी सद्भाव, सामाजिक सम्बन्ध र सामुदायिक एकतालाई थप बलियो बनाउँछ। गुठीमा आधारित सामूहिक सहभागिताले जात्राको व्यवस्थापन र परम्पराको निरन्तरतामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

दसैँ नमनाएर आफ्नै मौलिक जात्रा मनाउने खोकनाको परम्पराले नेपालको सांस्कृतिक विविधतालाई थप समृद्ध बनाएको छ। आधुनिकताको प्रभाव बढ्दै गए पनि खोकनाका युवापुस्ताले पुर्खाबाट प्राप्त संस्कृति, धार्मिक आस्था र परम्परागत विधिलाई उत्साहपूर्वक निरन्तरता दिइरहेको वडाध्यक्ष महर्जनको भनाइ छ।

सिकाली जात्रा केवल एउटा धार्मिक उत्सव मात्र नभई खोकनाको ऐतिहासिक पहिचान, सामूहिक जीवनशैली र सांस्कृतिक स्वाभिमानको प्रतीक पनि हो। देशभर दसैँका रङ र उल्लास छाइरहँदा खोकनामा गुञ्जिने परम्परागत बाजा, देवीदेवताको नाच र सामूहिक भोजले नेपालका चाडपर्व एउटै ढाँचामा सीमित नभई विविध संस्कृति र परम्पराले बनेको जीवन्त सम्पदा भएको सन्देश दिइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार