Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश नारायणहिटी दरवार हत्याकाण्डको आज २१ वर्ष

तत्कालीन राजा श्री ५ बीरेन्द्रको बंशनाश नारायणहिटी दरवार हत्याकाण्डको आज २१ वर्ष

२०५८ जेठ १९ मा राजा बीरेन्द्रको वंशनाश हुनेगरी नारायणहिटी दरबार हत्याकाण्ड भएको थियो । जुन आज २१ बर्ष पुगेको छ । बीरेन्द्रको बंशनाश हुनेगरी भएको त्यो हत्याकाण्डलाई आधुनिक नेपालको इतिहासमा सबैभन्दा चर्चित तथा कहालीलाग्दो घटनाका रुपमा लिइन्छ ।
बीरेन्द्र नेपालको दशौं शाह बंशीय राजा थिए । बीरेन्द्रले बि.सं. २०२८ सालदेखि २०५८ जेठ १९ गतेसम्म नेपालको शासन गरेका थिए । राजा बीरेन्द्रलाई विश्वभरी शान्तिवादी राजाको रुपमा लिइन्थ्यो । उनले बि.सं. २०३१ सालमा विश्वसामु नेपाललाई शान्ति क्षेत्र बनाउन प्रस्ताव घोषणा गरेका थिए ।

२००२ साल पुष १४ गते नारायण हिटी दरवारमा जन्मिएका राजा बीरेन्द्रको २०२२ सालमा ऐश्वर्य शाहसँग बिवाह भएको थियो । राजा बीरेन्द्र दक्षिण एशियाली क्षत्रिय सहयोग संगठन (सार्क) को संस्थापक मध्ये एक थिए । सार्कको स्थापना २०४२ सालमा भएको थियो ।

नारायणहिटी दरबार हत्याकाण्डमा राजा बीरेन्द्र शाहसहित उनको परिवारका १० जना सदस्यको हत्या भएको थियो । सो घटनामा राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन तथा युवराज्ञी श्रुती, अधिराजकुमार धिरेन्द्र, अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह लगायतको हत्या भएको थियो ।

राजा बीरेन्द्रलाई एसियाका प्रभावशाली व्यक्तिका रुपमा हेरिन्थ्यो भने उनी नेपालका लोकप्रिय, उदार र शालीन राजा थिए । राजा बीरेन्द्रले १० जेठ २०३६ मा बहुदलीय प्रजातन्त्र रोज्नेकि पंचायती व्यवस्था रोज्ने भनेर जनमत संग्रह गर्ने घोषणा गरेका थिए । २०३७ बैशाख २० गते जनमत संग्रहका लागि मतदान भयो । बहुदलले हार्यो । तथापि राजा बीरेन्द्रको यो कदमलाई सबैले प्रशंसा गरेका थिए । त्यसैगरी बि.सं. २०४६ सालमा उनले बहुदलीय प्रजातन्त्रको घोषणा गरे । बीरेन्द्रलाई प्रजातन्त्रवादी राजाका रुपमा हेरिन्थ्यो ।

तर उच्च सुरक्षाभित्र भएको उनको परिवारको हत्यालाई नेपालकै कहालीलाग्दो हत्याको रुपमा लिइन्छ । नारायणहिटी हत्या काण्डले देशनै स्तब्ध भएको थियो । उक्त हत्याकाण्ड देखेर विश्व नै आश्चर्य चकित बनेको थियो । देश ठप्प थियो, सबै नेपाली शोकमा थिए, सबैका आँखा रसाएका र अनुहार मलिन थियो । प्रायः जसो नेपालीले शोकमा कपाल मुण्डन गरे । राजालाई विष्णुको अवतारका रुपमा हेर्ने नेपालीले राजा बीरेन्द्रलाई पिता सरह मानेका थिए । हत्याकाण्डका बेला प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला थिए । राजा बीरेन्द्रलाई गुमाउँदा सबै नेपालीले अभिभावक गुमाएको महसुस गरे । दरबार हत्याकाण्ड छानविन गर्न तत्कालिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय, सभामुख तारानाथ रानाभाट र संसदमा विपक्षी दलका नेता माधवकुमार नेपाल सहितको उच्च स्तरीय छानविन समिति बनाइएको थियो । तर पछि नेपाल भने समितिमा बस्न मानेनन् । उक्त समितिले बीरेन्द्रका जेठा छोरा युवराज दीपेन्द्रले देवयानी राणासँगको प्रेम सम्बन्धका कारण नै आफ्ना परिवार सखाप पारेका र पछि आफूले पनि गोली हानेर आत्महत्या गरेको भन्ने प्रतिवेदन दियो । तर त्यसलाई अझै पनि नेपाली जनताले पत्याउन सकेका छैनन् । यो अझै रहस्यमय नै छ । २०६२÷ ०६३ को आन्दोलन ताका बीरेन्द्रका भाइ तत्कालीन राजा ज्ञानेन्द्रलाई नेपालका राजनीतिक दलहरुले दरबार हत्याकाण्ड गराएको पनि आरोप लगाए । तर नारायण हिटी दरबार छोड्ने बेला ज्ञानेन्द्रले यसलाई अस्वीकार गरेका थिए । कतिपय राजनीतिक विश्लेषकहरुले राजा बीरेन्द्रको बंशनाश हुनेगरी भएको हत्याकाण्डले नेपालमा गणतन्त्र स्थापनाको आधार बनेको समेत बताउने गरेका छन् । यही घटनाले नेपाललाई गणतन्त्रउन्मुख बनाएको उनीहरुको भनाई छ ।

कसरी भएको थियो नारायणहिटी दरबार हत्याकाण्ड ?
१९ जेठ २०५८ शुक्रबारको दिन दरबार हत्याकाण्ड भएको थियो । घटना त्यो दिन बेलुका सवा ९ बजे भएको थियो । त्यहाँ रात्रीभोज रहेको थियो । त्यस दिन राजपरिवारका सदस्य र तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई पनि रात्री भोजमा बोलाइएको थियो । तर प्रधानमन्त्री कोइराला भने राजपरिवारका सदस्यहरु सम्मिलित पारिवारिक जमघट भएको भन्दै रात्री भोजमा गएका थिएनन् । बीरेन्द्रका माहिला भाइ ज्ञानेन्द्र शाह सौराहाबाट पोखरा पुगेका कारण भोजको आमन्त्रित सूचीमा समेत थिएन् । उनकी श्रीमती कोमल भने गोली लागेर घाइते भएकी थिइन् । शुक्रबार राति ९ बजे घटना घटेता पनि धेरै जसोले जेठ २० गते बिहान मात्रै त्यसबारे थाहा पाए । नेपालको इतिहासमा सबैभन्दा क्रुर, अकल्पनीय र अविश्वसनीय घटनाका रुपमा यो हत्याकाण्डलाई हेरिएको छ । किनकि त्यतिबेला उच्च र पर्याप्त सुरक्षा व्यवस्था हुँदा हुदै पनि यो घटना भएको थियो । जसलाई हतपत पत्याउँन सकिने थिएन ।

नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा त्यो दिन राजपरिवारका सदस्यहरु बेलुकाको खाना खान जम्मा भएका बेला यो घटना भएको थियो । हत्याकाण्ड भएको भोलिपल्ट अचेत रहेका र आफूलाई गोली हानेर आत्महत्या गरेका भनिएका युवराज दीपेन्द्रलाई कोमामा अचेत रहेको अवस्थामै राजा घोषणा गरिएको थियो । दरबार हत्याकाण्ड भएको ४ दिनपछि उनको अस्पतालमै उपचारका क्रममा निधन भयो र औपचारिक रुपमा उनको मृत्युको घोषणा गरियो । त्यसपछि बीरेन्द्रका माइला भाई श्री ५ ज्ञानेन्द्र शाहलाई राजा बनाइयो । ज्ञानेन्द्रको राजकाज धेरै लामो समयसम्म रहेन ।

ज्ञानेन्द्र २०५८ जेठ २२ देखि २०६५ जेठ १४ सम्म राजा रहे । ज्ञानेन्द्र त्यसअघि २००७ कात्तिक २२ गते देखि पुष २३ गतेसम्म नावालक राजा बनेका थिए । उनका हजुरबुबा त्रिभुवन राणा शासनका बेला २००७ मा भारत निर्वासनमा गएका बेला ज्ञानेन्द्र भने छुटेका थिए । त्यसकारण उनलाई राजा घोषणा गरिएको थियो । तत्कालीन युवराज दीपेन्द्रले देवयानी राणासंगको बिहेको कुरालाई लिएर दरबार हत्याकाण्ड गराएका हुन भनेर भनिएता पनि आम जनताले विश्वास नगरेको अवस्थामा दरबार हत्याकाण्ड पछि नेपालमा धेरै सरकार परिवर्तन भए तर कुनै पनि सरकारले छुट्टै किसिमको छानविन समिति बनाएर हत्याकाण्ड कसरी भएको थियो भन्ने कुराको चुरो पत्ता लगाउने हैसियत र ल्याकत राख्न सकेनन् । दश–दश जनाको एकै चिहान हुने घटना के दीपेन्द्र एक्लैले गराएका हुन् त ? नेपाली जनताले यसलाई कसरी पत्याउने आङनै सिरिङग हुने घटना ?

त्यतिबेला छानविन समितिले दिएको प्रतिवेदनको सार र निष्कर्ष ?
तत्कालीन समयमा गठन गरिएको उच्च स्तरीय छानविन समितिले युवराज दीपेन्द्र शाहले शुरुमा आफ्नै परिवार माथि गोलि चलाएको र पछि आफैंलाई गोली हानेर आत्महत्या गरेको रिपोर्ट सार्बजनिक गरेको थियो । प्रतिवेदनले हत्यामा दीपेन्द्रको संलग्नता रहेको प्रतिवेदन सरकारलाई बुझाएर झारो टार्ने काम मात्र गरेको देखिन्छ । अहिलेसम्म पनि राजा बीरेन्द्रको हत्याको पछाडि क–कसको हात थियो भनेर खुल्न सकेको छैन । तत्कालीन प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा गठित समितिले सात दिन लगाएर प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदन तयार पार्ने क्रममा समितिले धेरै तथ्य बिवरणहरु संकलन गरेको थियो । कैयन मानिसहरुसंग सोधपुछ समेत गरेको थियो ।

२३ बुँदामा तयार पारिएको प्रतिवेदनमा जनाइए अनुसार २०५८ जेठ १९ मा घटना घटेको दिन दीपेन्द्रले दिउँसो राजा बीरेन्द्र र आमा ऐश्वर्यसँगै नारायणहिटी दरबारभित्र सँगै बिहानको खाना लिए । खाना खाएलगत्तै दीपेन्द्र चार बजे राष्ट्रिय खेलकुदको तयारी हेर्नका लागि ललितपुरको सातदोबाटो पुगे । त्यहाँबाट फर्किएपछि साँझ बुवा बीरेन्द्र र मुमा ऐश्वर्यसँगै उनी डिल्लीबजारस्थित बडागुरुज्यू नयनराज पाण्डेकोमा पुगे । त्यहाँ उनले बीरेन्द्र र ऐश्वर्यसँगै एक घण्टा समय बिताए । त्यसपछि उनी बुबा आमासँग छुट्टिए । साँझ ७ बजे पाहुनाहरु बोलाएको स्थान त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । त्यहाँ कोल्ड ड्रिक्स लिदै उनका पाश्र्ववर्ती गजेन्द्र बोहोरासँग केही समय बिताए । दीपेन्द्रले बोहरालाई ह्वीस्की झिकाउन आदेश दिए । बोहोराले अर्दली रामकृष्ण केसीलाई ह्वीस्की ल्याउन आदेश दिए ।

शुक्रबारको जमघटका लागि पाहुना आउन थालेपछि ह्वीस्कीमा रमाएका दीपेन्द्र आफैँ सर्भसमेत गर्न थालेका थिए । जमघटका लागि पुगेका पारस शाहलाई आफूले ह्वीस्की खाएर बसेको भन्दै दीपेन्द्रले के लिने भनेर प्रश्न गरे । पारसले कोक अर्डर गर्दै दीपेन्द्रलाई विवाहको प्रश्न सोधे । जवाफमा दीपेन्द्रले ’विवाहको कुरा भैराखेको छ । मैले मुमासँग पनि कुरा गरे । मुमा वडामहारानी रत्नसँग पनि कुरा गरेँ । दुवै जनाले हुन्न भन्नुभयो ।’

केही पेग ह्वीस्की लिइसकेका दीपेन्द्र मुमा बडामहारानी रत्नलाई लिन आफै सवारी चलाएर महेन्द्र मञ्जिल पुगे । मुमा बडामहारानीलाई त्रिभुवन सदनमा ल्याइसकेपछि दीपेन्द्रले त्रिभुवन सदनको विलियार्ड कोठाबाट राती ८ बजेर १९ मिनेटमा बोहोरालाई चुरोट ल्याउन फोन गरे । बोहोराले अर्दली केसीमार्फत शिखर चुरोटमा गाँजा र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई विलियार्ड कोठाको पूर्वढोकामा पठाए । तर, अर्दली केसीले दिएको चुरोट लिन भने पारस पुगेका थिए ।

राजा बीरेन्द्र त्रिभुवन सदनको हलमा प्रवेश गर्नु अघि दीपेन्द्र मादक पदार्थले ढलिसकेका थिए । ढलेका दीपेन्द्रलाई पारस, निराजन, राजीव र गोरखले उनको कोठामा पुर्याएर सुताए । कोठामा पुगेपछि दीपेन्द्रले बाथरुममा गएर उल्टी गरे । फर्किएर आएपछि आफ्नी प्रेमिका देवयानीसँग १ मिनेट ३९ सेकेण्ड फोनमा कुरा गरे । जुनबेला राति ८ बजेर ४० मिनेट गइसकेको थियो । देवयानीसँग कुराकानी गरेपछि दीपेन्द्रले देवयानीलाई सुत्न भने पनि आफू भने सुतेनन् । देवयानीसँग कुराकानी सकिएपछि एकैछिनमा मिलिटरी पोशाक लगाई तीन बन्दूक भिरेर उनी आफ्नो कोठाबाट तल ओर्लिए ।

माथिल्लो तलाबाट तल झरेपछि दीपेन्द्र सिधै त्रिभुवन सदनको बिलियार्ड हलमा पुगे । दीपेन्द्र आफ्ना बाबु बीरेन्द्र नजिक गए । उनले एमपि फाइभ अटोमेटिक सब मेशिन गनबाट कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फायरिङ गरे। त्यसपछि कुनै पनि संवाद बिना बीरेन्द्रको पेटमा ताकेर मेशिन गनबाट फायर गरे । गोली लाग्ने बित्तिकै बीरेन्द्र ढलेनन् । कोकको ग्लास हातमा लिएका बीरेन्द्रले ग्लास बिस्तारै भुइमा राखे । त्यहाँ उपस्थित पाहुना र बीरेन्द्रका परिवारका सदस्यहरु कोही आ–आफ्ना गफमा थिए भने कोही त्यतिबेला बिलियार्ड हलको कुनाका म्यूजिकमा रमाइरहेका थिए ।

बीरेन्द्रको पेटबाट रगत बगेर सुरुवालसम्म पुगेको थियो । त्यहाँ उपस्थित भएका एकजनाले डाक्टर डाक्टर भनेर चिच्याएपछि राजीव विक्रम शाह दौडिएर बीरेन्द्रको छेउ पुगे । राजीव बीरेन्द्र सैनिक अस्पतालका चिकित्सक पनि थिए । राजीव पुग्दा बीरेन्द्र ढलिसकेका थिए । बीरेन्द्रलाई गोली हानेर हलबाट बाहिर निस्केका दीपेन्द्रले परिवारका अन्य सबै सदस्यलाई गोली हानिसकेपछि अन्तिममा आफूलाई पनि गोली हानेका थिए । २०५८ जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरबारमा घटेको घटनामा परी मृतक हुने सबैको मृत्युको कारण बन्दूकको गोली लागेको कारणबाट भएको कुरा बीरेन्द्र सैनिक अस्पताल छाउनीका सम्बन्धित चिकित्सकहरूको राय समेतबाट देखिएको छ ।

घटनाबाट पीडित घाइतेहरूको घाउ चोट समेत गोली लागेको कारणबाट भएको कुरा स्वयं घाइतेहरूको सोधपुछका क्रममा उल्लेख गरेको पाइयो । बीरेन्द्र सैनिक अस्पतालबाट प्राप्त जानकारी अनुसार पनि घाइतेहरूको घाउ चोटको कारण बन्दूकको गोली लागी परेको भन्ने देखियो । छानविन समितिको प्रतिवेदनको सार यहि नै हो ।

कसरी भएको थियो दीपेन्द्र र देवयानीवीचको प्रेम ?
सन् १९८७ देखि १९९० सम्म दीपेन्द्रले बेलायतको इटन कलेजमा अध्ययन गरेका थिए । देवयानीलाई दीपेन्द्रले बेलायतमा देवयानीको साथीको घरमा भेटेका हुन् । करिब १२ वर्ष चलेको उनीहरुको प्रेम सम्बन्ध त्यहि भेट पछि शुरु भएको थियो  ।

उनीहरुको विवाहको कुरालाई लिएर रानी ऐश्वर्यले अस्वीकार गरेपछि उनीहरूको विवाह हुन सकेन । यहि विवादका कारण दीपेन्द्रले राजदरबार हत्याकाण्डको रचेको हुनसक्ने शंका गर्ने गरिएको छ । देवयानी यो घटना लगत्तै नयाँ दिल्ली पुगेकी थिइन । राजदरबारको पर्खालभित्र कडा सुरक्षा घेराभित्र भएको यस्तो कहाली लाग्दो घटनाको यथार्थ अझै पनि के हो भन्ने थाहा हुन सकेको छैन । छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

यो हत्याकाण्डबारे अनेक आशंका र अनुमान गरिए पनि घटना अहिले पनि रहस्यमय नै छ । किन र कसरी यो घटना भएको थियो भन्ने विषयमा धेरैले आ–आफ्ना तर्क भने गर्ने गरेका छन् भनी ईमेज खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार