Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

प्रेरक प्रसंग: सस्मरणमा मामा स्वर्गिय फणिन्द्र श्रेष्ठ ...

प्रेरक प्रसंग: सस्मरणमा मामा स्वर्गिय फणिन्द्र श्रेष्ठ ...

हामी सानो हुँदा राजकुलेश्वर प्राथमिक विद्यालयदेखि भीम माध्यमिक विद्यालय सम्म मेहनति र कडा परिश्रमी विद्यार्थीको उदाहरण दिनुपर्यो भने प्रायः शिक्षकहरुले फणिन्द्र श्रेष्ठको उदाहरण दिनुहुन्थ्यो । तिनताका राजकुलेश्वरमा हर्कबहादुर, कृष्ण मुरारी सरहरु देखि भीम मा वि मा तीर्थनारायण मानन्धर सर लगायत नारायणकृष्ण, जगतनारायण सरहरुले उहाँको उदाहरण प्रायः दिने गर्नुहुन्थ्यो । जगतनारायण उर्फ जे एन सरले त प्रत्येक दिन जसो नै तिमीहरु सबैजना फणिन्द्र श्रेष्ठ जस्तो मेहनती विद्यार्थी हुनुपर्छ भनेर उहाँको उदाहरण दिइ नै रहनुहुन्थ्यो ।

फणिन्द्र श्रेष्ठ नाताले मेरो आफ्नै मामा भएकोले उहाँको मेहनती स्वभावको बारेमा मेरी आमाले पनि मलाई बेला बेलामा बताउने गर्नुहुन्थ्यो । यहाँ त्यही मध्ये एक प्रसंगलाई यहाँहरु सामु राख्ने जमर्को गरेको छु ।

उहाँ त्यसबेला ७, ८ कक्षामा पढ्नुहन्थ्यो होला । उहाँको अन्तिम परिक्षा चलिरहेको थियो । यो वि. सं. २०३० साल तिरको कुरो हो । त्यसबेला विजुली बत्तीको व्यवस्था थिएन । दियो बाल्न तेल पनि धेरै थिएन । परिक्षा सकेर घर आइ पुग्ने बितिकै उहाँ कि त घाँस काट्न जानुपथ्र्यो कि त गाइवस्तु चराउन जानुपथ्र्यो । त्यसैले उहाँलाई अर्को दिनको परिक्षाको तयारी गर्ने समय नै हुँदैनथ्यो । उहाँको बुबा अत्यन्तै कडा स्वभावको हुनुहुन्थ्यो । उहाँसँग उहाँका तीनै सन्तानहरु बेस्सरी डराउँथे ।

उहाँको बुबा चाहिं शायद एक्लो अभिभावक भएर होला छोराको पढाइलाई भन्दा घरको कामलाई नै ज्यादा महत्व दिनुहुन्थ्यो । त्यस दिन उहाँ परिक्षा सकेर घर आउने बित्तिकै खाना साना खाएर उहाँको बुबाको आज्ञाको पालन गर्दै चाथली वनतिर गाई चराउन जानुभयो । बेलुकी गाई चराएर फर्किंदा अँध्यारो भइसकेको थियो ।

उहाँ गाइ चराएर आए पछि बेलुकीको खाना खाएर गाइगोठमै सुत्न जानुहुन्थ्यो । दिनभरि पढ्न नपाउनु भएकोले उहाँले भोलिपल्टको परिक्षाको लागि गोठमा आगो बालेर त्यही आगोको नजिकै बसेर आगोको उज्यालोमै पढ्न थाल्नुभएछ । दिनभरि थाकेको ज्यानले कति समयसम्म पढ्नुभयो कुन्नि पढ्दा पढ्दै उहाँ अचानक निदाउनुभएछ ।

केही समयपछि जब उहाँको टाउकोमा आगोेले पोल्न थालेपछि उहाँ बिउँझिनु भएछ । उहाँ ब्युँझिदा त आगोले उहाँको किताब र टाउकोमा लगाएकोे टोपीलाई खरानी बनाइसकेको रहेछ । उहाँ आँत्तिदै हातको नंग्राले नजिकैको बारीको माटोहरु कोतार्दै जम्मा गर्दै आगोतिर फाल्नुभएछ र गाइहरु र गोठ जल्नबाट बचाउनुभएछ ।

भोलिपल्ट परिक्षा दिएर आए पछि उहाँको बुबाले टोपी खोइ भनेर सोध्नुभएछ तर साँचो कुरा बतायो भने अत्यन्तै कडा मिजासको उहाँको बुबाले गाली गर्नुहोला भनेर खै राती टोपी लगाएरै सुतेको बिहान त भेटिन शायद गाइले खायो होला भनेर ढाँँट्नु भएछ तर उहाँले यो कुरा धेरै पछि इन्जिनीयर पास गरे पछि मात्र अरुलाई भन्नुभएको रहेछ ।

फणिन्द्र श्रेष्ठको यस्तै मेहनती स्वभावका कारण त्यस बेलाको समयमा पनि छात्रवृतिमा इन्जिनीयर पढ्ने मौका पाउनुभयो र इन्जिनीयर बने पछि पनि उहाँ मुगु, रोल्पा जस्ता दुर्गम ठाउँमा गएर सेवा देश र जनताको सेवा गर्नुभयो । भ्रष्टाचार, घुसखोरी र कमिसन तन्त्रमा चुर्लुम्मै डुबेको नेपाली कर्मचारी तन्त्रमा उहाँ हिलो माथिको कमल जस्तै रहनुभयो ।

आफ्नो कार्यस्थलबाट तालिम गोष्ठीहरुमा भाग लिन राजधानी आउँदा प्रायः सरकारीहरु कर्मचारीहरु हवाइजहाजमा उडेर आउँथे भने उहाँ भने सरकारसँग पैसा फल्ने रुख छैन भन्दै सार्वजनिक गाडी चढेर नै राजधानी आउनुहुन्थ्यो ।

आजकाल सबै सेवा सुविधाहरु भएर पनि पढाइलेखाइ गर्नको सट्टा रातदिन स्मार्ट फोन र आइप्याड आदिमा झुण्डिएरै समय खेर फाल्ने विद्यार्थीहरुले उहाँबाट अलिकति पनि मेहनतको अनि भ्रष्टाचार र लुटतन्त्रमा डुबिरहेका कर्मचारी र नेताहरुले उहाँबाट सच्चा राष्ट्रप्रेम सिक्न सके हाम्रो देशले पक्कै कोल्टे फेर्न सक्छ ।

श्रेष्ठ सत्य
दोलखा, नेपाल
हाल बेलायत

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार