श्रेष्ठ सत्य, दोलखा
फणिन्द्र मामालाई पुस्तकप्रति विशेष प्रेम र आकर्षण थियो । उहाँ जहिले पनि कुनै न कुनै किताब पढेरै बस्नु हुन्थ्यो । किताब नपढे पनि कि त केही लेखेर, कि त नक्शा कोरेर कि त केही डिजाइनहरु बनाउन मै व्यस्त हुनुहुन्थ्यो । उहाँ आफ्नो जागीरसँग सम्बन्धित योजनाहरु बनाउनमा या कुनै किताब पढेरै बस्नुहुन्थ्यो सधैं । उहाँको यस्तो स्वभाव देखेर कहिले काहीं माइजु पनि दिक्क मानेर भन्नुहुन्थ्यो ः “तिम्रो मामाले त मसँग होइन, कितावसँगै विवाह गरेको भए हुन्थ्यो ।
उहाँलाई त किताबसँग मात्रै माया छ ।” साँच्चै नै उहाँ किताव, कपी र कलम विना एक छिन पनि बस्न सक्नुहुन्नथ्यो । यहाँ सम्म की दशैं तिहारको बिदामा घर आउँदा पनि उहाँ कार्यालयकै काममा व्यस्त हुनुहुन्थ्यो । शनिबारको बिदाको दिन पनि उहाँ कार्यालयकै काममा खटिइ नै रहनुहुन्थ्यो । उहाँले कोही नेताहरुको कहिल्यै चाकडी गर्न जान्नुभएन ।
आफुले जनता र स्थानीयको हीतको लागि निरन्तर कोहीसँग पनि नडराएर काम गरिरहनुभयो । त्यसैको फलस्वरुप उहाँले जीवनमा कहिल्यै कुनै पनि पदक पाउनु भएन । यहाँसम्मकी उहाँले जीवनभर देश र जनताको हीतमा खटिरहँदा पनि उहाँको कहिल्यै बढुवा पनि भएन । यसैले प्रमाणित गर्छ की उहाँले जीवनमा कोही नेता या बडा हाकिमहरुको चाकडी चाप्लुसी नगरी देश र जनताको सेवा गरिरहनुभयो ।
अरु देशहरुमा कडा मेहनत गर्ने, कसैको करकापमा नपरि देश र जनताको हीतलाई सर्वोपरि मानेर काम गर्नेलाई बढुवा र पदकहरुबाट सम्मानित गरिन्छ भने हाम्रो नेपालमा भने जसले नेता र बडा हाकिमको चाकडी चाप्लुसी गर्छ अनि पैसा खुवाउँछ उनीहरुले मात्र बढुवा र पदकहरुले सम्मानित हुने अवसर पाउँदछ । त्यसैले उहाँले कहिलेकाहीं मजाक गर्दै भन्ने गर्नु हुन्थ्यो ः “मैले कुनै दिन पदक पाएँ र मेरो बढुवा भयो भने मैले बुझ्नेछु की मैले देश र जनताको सेवा गर्न छाडेर गलत बाटोतिर लागेछु भनेर ।”
शायद धेरै अध्ययन गर्ने बानी भएरै होला उहाँलाई प्रायः सबैजसो विषयको ज्ञान थियो । विज्ञान, दर्शन, मानवशास्त्र, समाजशास्त्र, वातावरण आदि विषयहरुमा उहाँको गहिरो रुचि थियो । उहाँलाई अध्ययन गर्न मात्र होइन आफूले जानेको कुरा अरुलाई सजिलो तरिकाले बुझाउन सक्ने कला पनि थियो । कतिपय समयमा मैेले मेरा क्याम्पसका शिक्षकहरुले पढाउँदा बुझ्न नसकेको कुराहरु पनि उहाँले मलाई सरल ढंगले छर्लंगै पारिदिनु हुन्थ्यो । उहाँले मानवशास्त्र र इन्जिनीयरिङमा स्नातकोत्तर गर्नुभएको थियो ।
उहाँ इण्डियामा इन्जिनीयर पढ्ने बेलाको कुरा हो । उहाँ नेपालबाट क्याम्पसको बिदा सकेर इण्डिया जाँदै हुनुहुन्थ्यो रे । सदा झैं इण्डिया जाने गाडी चढ्ने बित्तिकै उहाँ आफ्नो सीटमा बसेर किताब पढ्नमा व्यस्त हुन थाल्नुभएछ । उहाँ आफुले पढिरहेको किताबमै यत्तिसम्म डुब्नु भएछ की आफु चढेको गाडी कतिखेर पल्टिसकेको रहेछ उहाँलाई त थाहै भएनछ । उहाँ होशमा आउँदा गाडीको सीट मुनि हातको किताबले मुख छोपिएको अवस्थामा आफुलाई पाउनुभएछ । उहाँ होशमा आउँदा त्यहाँको हालत कहाली लाग्दो थियो रे ।
कोही मरेको कसैको हात खुट्टा भाँचिएको । आया र आत्थुको आवाजले पूरै वातावरण भयभीत भएको थियो । उद्धार टोलीले गाडी भित्रका मान्छेहरुलाई बाहिर निकाल्ने क्रममा उहाँलाई पनि निकालेछन् । सौभाग्यले उहाँको ढाडमा अलिकति चोट मात्र लागेछ र उहाँको ज्यान बचेछ र अंगभंग हुनबाट पनि बच्नुभएछ । यो घटना पछि उहाँलाई जीवनभरि नै ढाडको समस्याले भने सताइ नै रह्यो । तैपनि उहाँले अध्ययनलाई कदापि छाड्नुभएन, उहाँको पुस्तकप्रतिको प्रेममा अलिकति पनि कमी आएन ।
मेहनती, अध्ययनशीलता र निस्वार्थ सेवा फणिन्द्र मामाबाट सबैले सिक्नुपर्ने गुण हो । यौटा सानो पदकका लागि आफ्नो कर्तव्य भुलेर नेताहरुको चाकडी चाप्लुसी गर्ने अनि बढुवाको लागि आफ्नो काम छाडेर नेताहरुको पछि लाग्ने, लाखौं करोडौं रुपैयाँ खर्चिन तम्सिने कर्मचारीहरुले फणिन्द्र मामाबाट सिक्नुपर्ने कुरा के छ भने वास्तविक आत्मसन्तुष्टी पद र पदकबाट होइन निस्वार्थ सेवाबाट मात्र मिल्दछ । यसको जीवन्त उदाहरण हुनुहुन्थ्यो फणिन्द्र मामा आफैं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij