Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिको श्रद्धा !

वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिको श्रद्धा !

आज नेपाल सम्वत ११४२ कौलागा द्वादशी तिथि ! नेपाल सम्वत् ११४२ को करीब अन्तिम साता । काठमाडौको बसन्तपुर कुमारी मन्दिर काष्ठमण्डप हनुमानढोका परिसर बेग्लै माहालले तात्तिएको यो क्षण । माहोल हेर्दा मन अत्यन्तै उत्साहित भएपनि वातावरणले मनमा कता कता चिसो पसेको महशुस । कुमारी मन्दिरको प्राङ्गणमा नेवार समुदायका ऐतिहासिक व्यक्तित्वहरूको जमघट थियो । नजिकैको पाँचतले मन्दिर सामु बनाइएको डबलीमा नेवाः समुदायका जल्दाबल्दा हस्ति नेवाः देय दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापित माइकबाट अत्यन्तै भावुक हुँदै उद्घोष गर्दै हुनुहुन्थ्यो नेपालकै एक नक्षत्र सम्पदाका पुजारी, कलाका साधक, संस्कृतिका हिमायती अनि साहित्यका देदिप्यमान हस्ती ऐतिहासिक पुरुष आदरणीय, पूजनीय र सम्माननीय दिवंगत सत्यमोहन जोशीको स्मरणमा ।

जुन शताब्दी पुरुषको समुपस्थितिमा त्यही डबलीमा कविता वाचन हुन्थ्यो कुनैबेला । नेवारी मंगल, लोक धुनहरू गुञ्जिन्थ्यो कुनैबेला । धिमे बाजा, बाँसुरी वादक, नायखिँ बाजाले वातावरण उल्लासमय भएको थियो कुनैबेला । तर आज वातावरण बिना सूर्यको रापले मन भतभती पोलिरहेको महशुस भैरहेको थियो किनकि आज त्यही शताब्दी पुरुषको तस्बिर मात्र थियो त्यो आँगनमा । नैराश्यको आभास थियो सबैको अनुहारमा । तर पनि उत्साहको झझल्को थियो चेतनशील मस्तिष्कमा जसले चिन्ता होइन चिन्तनको ब्रम्हज्ञान दिलाएर स्वयं ब्रम्हलीनमा सुस्ताउन पुगे उनै महा पुरुष हुन् नेपालका अस्तहीन तारा सत्यमोहन जोशी ।

गत साता असोज ३० गते सत्यमोहन जोशीको परम आत्मालाई देहबाट अलग्याएर हामीबाट कोसौँ टाढा पुर्यायो । त्यो आत्मालाई सम्हाल्न न त इन्द्रदेव नै आएर विलाप गरेपनि फर्काउन सक्छ न त ब्रम्हदेवले ध्यान गरेर नै फर्काउन सक्छ, हामी त मात्र आशावादी मानव न हौँ न ब्युँताउन सक्छौँ न ब्युँझाउन । केवल उनको दर्शनीय मार्ग पहिल्याउने झीनो प्रयास मात्र बाँकी छ श्रद्धेय सत्यमोहन जोशीलाई सम्झिने मात्र ।

उनैको स्मरणमा आज नेवाः देय् दबू लगायत विभिन्न नेवारी भाषा साहित्य खलः, ज्ञानमाला भजन खलः तथा अन्य संघसंस्थाको संयुक्त आयेजनामा आज श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम गरिएको हो आज । उनै ज्ञानदाता, बुद्धिदाता र साहसका कृतिदाताको स्मरणमा सम्झनाका लहरहरू व्यक्त गरेर स्मरण गर्ने क्षण थियो बसन्तपुरको प्राङ्गणमा । नेवारी साहित्यका मूर्धन्य जनकवि दुर्गालाल श्रेष्ठले असक्त शरीर बोकेर कविताबाटै स्मरण गरे । कसैले साहित्यिक आवाजबाट सम्झे। कसैले एक थुँगा पूmल अर्पण गरेर सम्झे । कसैले मन्त्रोच्चारण गरेर सम्झे । कसैले दबिएको स्वरलाई कण्ठबाट सकिनसकि निकालेर सम्झे । केवल सम्झे उनका कृति, संस्कृति र प्रकृतिलाई सम्झनसके ।

आजको श्रद्धाञ्जलि सभा स्मरणीय बन्न पुग्यो । आदरणीय दिग्गज, अग्रज सत्यमोहन जोशीले कृतिमात्र सुम्पेनन्, सीप मात्र सिकाएनन् मरणोपरान्त जीवन बोक्ने शरीर समेत ताजगी चेतना दिलाउन निस्प्राण शरीर समेत ज्ञान र ध्यानकालागि सुम्पेर गए । भलै तर्क वितर्क त आफ्नै ठाउँमा होला, शरीर नै दान दिएर उच्च चर्चाको शिखरमा पुगे । शायद यस्तो महान पुरुष जस्तोको नाम गिनिज बुक्स अफ वल्र्डमा नाम नहोलान् तर नेपालको इतिहासको पानामा यो नाम युगयुगान्तरसम्म रहिरहनेछ ।

आदरणीय व्यक्तित्वले शरीर त दान दिने निर्णय त गरे, परिवारजनले परम्परागत शैलीलाई तोडेर मृतात्माको इच्छालाई मुटुमाथि पत्थर राखेर स्वीकार गरे । तर दान प्राप्त गर्ने व्यक्ति या संस्था जसले भएपनि त्यो परित्यागको उपहास नगरोस्, इतिहासको पानामा गैह्र जिम्मेवारीको दाग नलागोस्, एक ऐतिकासिक पुरुषको पृष्ठभूमिमा ग्रहण नलागोस् । उनको त्यो परम आत्माले फेरि पनि पुनर्जन्म पाएर यही धरातलमा दिव्य ज्योतिपुञ्ज लिएर अवतरण गर्न सकोस् हाम्रो तर्फबाट यही प्रार्थना सहित श्रद्धाञ्जलि अर्पण छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार