बालकृष्ण श्रेष्ठ “पासा”
एक कल्याणकारी मन र असल व्यक्तित्वका धनी मिलनसार समाजप्रेमी हँसमुख स्वभावका व्यक्ति आदरणीय मामा अक्कल बहादुर श्रेष्ठले यस धर्ती त्याग्नु भएको पनि आज तेह्रौं दिन भैसकेछ । उहाँको आत्माको चीर शान्तिको कामना गर्नु बाहेकको अरु विकल्प त के रह्यो र ! उहाँको सद्भावयुक्त सद्वाणी, आशिर्वाद र उपदेशलाई मनन गर्दै केही कुरा पोख्न यो मन हतासिएको आभास भएर औंलालाई चलाउन गैरहेको छु ।
भीमेश्वर नगरपालिका वडा नं. २ डोक्छें टोलका स्वर्गीय हजुर बा हस्त बहादुर श्रेष्ठ र स्वर्गीय हजुरआमा सुवर्ण लक्ष्मी श्रेष्ठको कोखबाट जन्मनु भएका पाँच दाजुभाई र दुई बहिनी मध्येमा अक्ल मामा माइलो छोरो हुनुहुन्थ्यो । जेठो दाई माणिक लाल श्रेष्ठ अनि भाइहरू खड्ग बहादुर श्रेष्ठ (लड्डु), ज्ञानकृष्ण श्रेष्ठ र मोहनकृष्ण श्रेष्ठ र बहिनीहरू कमल र अर्की एकजना हुनुहुन्छ । पाँच भाइमध्य कान्छो भाइ मोहनकृष्ण श्रेष्ठ बाहेक सबै दाजुभाइले यो संसार त्यागि सक्नुभएको छ । उहाँकी धर्मपत्नी रतन श्रेष्ठ माइजूले पनि एक वषृ अघिमात्र मामालाई विरानो बनाएर धर्तीबाट अलग हुनुभएको हो । स्वर्गीय मामा अक्कल बहादुर श्रेष्ठका दुई छोरा बलराम श्रेष्ठ र रामचन्द्र श्रेष्ठ अनि एक छोरी रमा श्रेष्ठ हुनुहुन्छ । साथमा नातीहरू र पनाति पनातिनी पनि ।
मामा अक्कल बहादुर संगको अतीत सम्झिंदा :
“हरेक मान्छेको अनेकौं चाहना हुन्छ, ती सबै चाहना पूरा होला कि भन्ने परिकल्पनामा डुब्यौ भने तिम्रो भोलिको सपना कहिल्यै पुरा हुँदैन, आफ्नो क्षमता र सिपलाई कुन हदसम्म उपयोग गर्न सक्छौ त्यहाँसम्म पाइला चाल अनि बिस्तारै अघि बढ..तिमीमा पढाइको लगनशीलता छ..” भन्नुहुन्थ्यो अक्कल मामा । त्यतिबेला मेरो पढाइ अब्बल दर्जामा भएपनि अलि आलाकाँचा नै थिएँ । आपूmभन्दा ठूलाले भनेको कुरालाई मनन त गर्थें नै तर आर्थिक अवस्थाको कारणले अलि निरास हुन्थेँ । मलाई लाग्थ्यो यो यति ठूलो काठमाडौं शहर जस्तो ठाउँमा घर बनाएर बस्नुभएको मेरो मामा त्यसमाथि उद्योगधन्दामा अनुभवी, सरकारी कार्यालयहरूमा असल सम्बन्ध भएको व्यक्तिले एउटा सानो जागीर त कसरी नमिलाउनु होला र भन्ने कुरामा विश्वस्त भएर लाजिम्पाटको गल्ली खोज्दै खोज्दै त्यही ठाउँमा पुगेको थिएँ, जहाँ अक्कल मामाको चारकोठे घर थियो जुन अद्यपि छँदैछ ।
त्यो बेला मामाले लगभग एक घण्टाजति ज्ञानगुनका कुरा पनि सुनाउनु भएको थियो, अनि अर्काको कुरा सुनेर भौंतारिंदै काठमाडौ आएको बारेमा अलिक गाली पनि गर्नृुभयो । दोलखामै त्यत्रो कलेज छ त्यहीं पढेर कम से कम आईए सम्म पढेपनि हुन्थ्यो भनेर सम्भाव्य सुविधाको कुरालाई मध्यनजर राखेर काठमाडौमा जेपनि किनेरै चलाउनुपर्ने, कोठा भाडा तिर्नुपर्ने अनि यहाँ ३००रूपैयाँ पनि तलब नपाउने ठाउँमा कसरी जागीर खाएर कलेजको सपना देख्छौ भनेर धेरै कुरा सुनेपछि म त्यहाँबाट रुझेको बिरालो झैं लुरुक्क परेर फर्कें ।
मामाले दिनुभएको उपदेश र सुझावलाई रत्नपार्कको जुत्ता पसलमा गएर व्यक्त गरें, त्यो मेरो कमजोरी रहेछ मैले बुझ्न कोसिस गरिन, मैले मेरो मन हलुका होला कि भनेर मामाको कुरालाई मननीय हिसाबले व्यक्त गरेको थिएँ तर हाम्रै समाजका एकदुई बुज्रुक भनाउँदाले मेरो कुरालाई नागबेली खोला जस्तै दायाँबायाँ पारेर पानीको मूल फुटेछ भन्ने कुरालाई पानीले पुल बगाएछ भन्ने तरिकाले रामायण नै सुनाइ दिएछ । अनि त म मामाको नजरबाट उल्लु, बकम्पुसे र फटाहाको दर्जामा पुगेछु । पछिल्लो पटक भेट्न जाँदा त मामाले आँखाले मात्र बोल्नुभयो मुखले बोल्नुभएन तैपनि रतन माइजू तर्फ हेर्नुहुँदै..“ल यिनलाई खाना खुवाएर पठाइदे..” भनेर मामा बाहिरतिर लाग्नुभयो । म मामाको हाउभाउ र इसारालाई अनुमान लगाएँ कि फेरि जागिरको कुरा लिएर आएर रिसाउनु भएजस्तो छ भन्ने लाग्यो मलाई अप्ठ्यारो लागेर एकछिन आलटाल गरेर एउटा बहाना बनाउँदै त्यहाँबाट बाटो तताएँ । त्यसपछि निकै समयसम्म लाजिम्पाट वरपर पनि पाइलो टेक्न गइन ।
त्यसपछि काठमाडौबाट अलिक पर साँखु जहरंिस पौवाको कालिका शरण माविमा शिक्षण पेशामा थिएँ । यता काठमाडौंतिर रहेका दोलखाली आफन्तजन संग सम्पर्क नै रहेन, साँखु बजार र जहरसिं पौवाबो बीचमा रहेको लप्सेफेदीमा रहनुहुने पवन पूmपूको माध्यमबाट मैले त्यो परिवेशमा शिक्षक हुने सौभाग्य मिलेको थियो । मैले अतीतलाई पुर्ण रुपमा भुलिसकेको थिएँ । विद्यालयमा आउनेजाने र साथीहरूसंग हेलमेल गर्ने गरेरै समय बिताइरहेको थिएँ ।
एकदिन त्यो ठाउँमा दोलखाबाट यज्ञ प्रधान मामा मलाई खोज्दै खोज्दै त्यहाँसम्म आइपुग्नु भयो मलाई आश्चर्य र खुशी एकैपटक लाग्यो । दोलखा र जहरसिं पौवाको दूरीको हिसाबले निकै टाढा नै हो । मलाई बाल्यकालदेखि नै धेरै स्नेह दिने मामा यज्ञले त्यहाँसम्म भेट्न आउनुहुँदा मेरो मुखबाट बोली नै फुट्न सकेन । पछि मामा त्यहाँसम्म आउनुको कारण खुल्दा म झन् आश्चर्यमा परें । उनै अक्कल मामाले नै मेरो हालखबर बुझ्न पठाउनु भएको रहेछ । हाम्रो दोलखा समाज भित्रकै कोही एकजनाले मैले बाँसबारी जुत्ता पसलमा गरेको कुरालाई उल्टो पारेर सुनाइ दिएछ, त्यही कुरामा मामा म प्रति अलिक पर हुनुभएको रहेछ ।
पछि फेरि त्यही कुरा भान्जोले त मामाले धेरै राम्रो अर्ति र ज्ञान दिनुभयो अब त्यही बाटो लाग्छु भनेको भन्ने कुरा सुनिसकेपछि मामाले मैले चित्त दुखायो होला भनेर धेरै जनासंग सोधखोज गर्नुभएछ । अनि यज्ञ मामालाई जसरी भएपनि भेटेर आउनु भनेर पठाउनु भएको रहेछ । त्यो कुरा सुनेर म आत्मविभोृर भएको थिएँ ।
अक्कल मामा दोलखाली सामाजिक संस्थातिर कतै पनि सहभागी भएको पाइँदैन तथापि दोलखा र दोलखालीको चिन्तन चाहिँ धेरै गर्नुहुन्थ्यो । त्यसताका जतिबेला उहाँ सर्लाही मलंगवामा मालपोत कार्यालयमा खरदारमा जागीरे हुनुहुँदा दशैंताका दोलखा आउनुहुन्थ्यो । उहाँको उपस्थिति नै दोलखाको लागि अपरिहार्य थियो ।
उहाँका परिवारजन दोलखाको तल्लो टोल शयामसुन्दर टोलमा बस्नुहुने उहाँका दाजु माणिकलाल श्रेष्ठको घरमा टिका लाउने क्रममा आउनुहुँदा हामी अति नै खुशी हुन्थ्यौँ टोलभरिका मान्छेहरू उहाँहरूको अगाडि पछाडि झुम्मिन पुग्थे । त्यतिबेला दोलखामा दशैँको बेलामा काठमाडौ लगायत विभिन्न ठाउँमा जागीर खाएर बस्नेहरू आउँदा जति रौनकता देखिन्थ्यो त्यो अहिले पाउन कठिन भैरहेको छ ।
दोलखाको गुठी सञ्चालनमा देखिएको अनियमित क्रियाकलाप प्रति उहाँ चिन्ता गर्नुहुन्थ्यो । भीमेश्वरलाई भनेर आएको दस्तुर बाटैमा गायब भएको कुरा सुन्दा साह्रै दुःख मान्नुहुन्थ्यो । दोलखाको मठ मन्दिर पुरानै स्वरुपमा राख्नुपर्ने कुरामा उहाँ विशेष जोड दिनुहुन्थ्यो । जात्रापर्वमा अक्कल मामाको अति नै रुचि थियो ।
अक्कल मामाको एकल व्यक्तित्व मात्र लोकप्रिय होइन दोलखाको लागि । उहाँको परिवारमा शैक्षिक मापदण्डमा कोही पनि पछि परेका छैनन् । जेठो छोरा बलराम श्रेष्ठ स्थानीय धार्मीक कलाकार र संस्कृतिप्रेमी हुनुहुन्छ । त्यस्तै कान्छो छोरा रामचन्द श्रेष्ठ इन्जिनियर पंक्तिमा हुनुहुन्छ भने छोरी रमा श्रेष्ठ वैवाहिक जीवनमा बाँधिएर पनि आफ्नो असल चरित्र बनाएर उद्यमी बन्न सफल भएकी छन् ।
अब त्यो प्राकृतिक देह त हाम्रो सामु रहेन तैपनि उहाँको आकृति हाम्रो लागि प्रेरणाको श्रोत बनेर भीमसेन थानको पत्थरको खम्बा झैं अटल भएर उभिरहनेछ, उहाँको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न सक्ने शक्ति पैदान गरुन् भन्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौं ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij