Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दोलखा भीमेश्वर मन्दिरः सिंहका संरक्षकसँगै शक्ति, भव्यता र पवित्रताको प्रतीक

दोलखा भीमेश्वर मन्दिरः सिंहका संरक्षकसँगै शक्ति, भव्यता र पवित्रताको प्रतीक

दोलखा जिल्लामा अवस्थित प्राचिन नगरी दोलखा ऐतिहासिक पहिचान बोकेको भीमेश्वर मन्दिर धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले अत्यन्तै महत्वपूर्ण धार्मीक तीर्थस्थल हो। यो मन्दिर स्थानीय नेवारी समुदायका लागि मात्र होइन, देशभर र छिमेकी मुलुक भारत, चिनका भक्तजन तथा पर्यटकका लागि प्रमुख आकर्षणको केन्द्र भएको छ। मन्दिरको विशिष्टता यसका प्रवेशद्वारदेखि भित्री परिसरसम्म राखिएका सिंहका मूर्तिहरूमा छ, जसलाई संरक्षकको रूपमा राख्ने हिन्दू परम्परा सदियौंदेखि चलिआएको छ।

हिन्दू धर्म र नेवारी परम्परामा सिंहलाई जंगलको राजा, शक्ति र साहसको प्रतीक मानिन्छ। देवी दुर्गाको वाहनको रूपमा सिंहलाई शक्ति, साहस र बाधा पार गर्ने क्षमताको प्रतिनिधित्व गर्ने विश्वास छ। मन्दिरमा सिंह राख्नु केवल सांकेतिक होइन; यसले पवित्र स्थल र भक्तहरूको रक्षा गर्ने आध्यात्मिक उद्देश्य पुरा गर्छ।
सिंहको उपस्थिति मानिसलाई पवित्रता र भक्ति भावको अनुभूति गराउँछ। मुख्य प्रवेशद्वारमा सिंह राख्ने परम्पराले नकारात्मक ऊर्जा र दुष्ट आत्माबाट मन्दिरलाई सुरक्षित राख्ने विश्वास जगाएको छ।

भीमेश्वर मन्दिरको मुख्य प्रवेशद्वारको दुई छेउमा ठूला ढुङ्गाका सिंह राखिएका छन्, जसले दोलखा भीमेश्वर दर्शनको लागि आउनु हुने भक्तजन पर्यटकहरुलाई शक्तिशाली संरक्षकको उपस्थितिबाट स्वागत गरेको छ । भित्र प्रवेश गर्दा पनि दायाँ–बायाँ थप दुई सिंहका मूर्तिहरू छन्, जसले मन्दिर परिसरलाई अझ सुरक्षित र पवित्र बनाउँछ।

मन्दिरको मुख्य ढोकामाथि “छ्यापर” भनिने कलात्मक संरचना छ, जसमा दायाँ–बायाँ सिंहका चित्रहरू कुँदिएका छन्। इतिहास अनुसार ढोकाको माथि सुनको तोरण छ, जसमा गजुर, गरुड, विभिन्न देवी–देवताका चित्र र दायाँ–बायाँ सिंहसँगै गदा बोकेको भीमसेनको चित्र समेत अंकित छ।

यसै गरी मन्दिरको पश्चिमतिर लगभग २५ फिट अग्लो ढुङ्गाको स्तम्भ छ, जसको टुप्पोमा तामाले बनेको गर्जिरहेको सिंहको मूर्ति राखिएको छ। यो स्तम्भ सदरमुकाम चरिकोट लगायत आसपासका क्षेत्रबाट समेत सजिलै देख्न सकिन्छ। स्तम्भको दायाँ–बायाँ साना ढुङ्गाका स्तम्भमा पनि तामाका सिंह मूर्तिहरू राखिएका छन्। यी मूर्तिहरू मन्दिरको भव्यता र भक्तको आध्यात्मिक अनुभव दुबै बढाउँछन्।

सिंहको मूर्तिले भक्तहरूको मनमा शक्ति र साहसको भावना जगाउँछ। मन्दिरमा प्रवेश गर्दा श्रद्धालु भक्तजनहरूले सिंहहरूले रक्षा गरिरहेको अनुभूति गर्छन्। यसले तीर्थयात्राको महत्व बुझ्न र धार्मिक अनुशासन पालन गर्न मद्दत पु¥याउँछ। नेवारी परम्परामा अज्ञानता नष्ट गर्ने र पवित्र स्थलको रक्षा गर्ने उद्देश्यले प्रवेशद्वारमा सिंह राखिने चलन अझ अर्थपूर्ण मानिन्छ ।

भीमेश्वर मन्दिरमा सिंहका मूर्तिहरू राख्ने परम्परा सदियौं पुरानो हो। यो परम्परा केवल वास्तुकला र कलाको दृष्टिले होइन, सांस्कृतिक इतिहास र धार्मिक विश्वासको दृष्टिले पनि महत्वपूर्ण छ। ढुङ्गा र तामाबाट बनेका सिंहहरूले मन्दिरलाई न केवल संरक्षित बनाउँछन्, तर यसको भव्यता र धार्मिक महत्वलाई पनि दर्शाउँछन्।

दोलखा भीमेश्वर मन्दिर सिंहका संरक्षकसँगै शक्ति, साहस, भव्यता र पवित्रताको प्रतीक बनिसकेको छ। ढुङ्गा र तामाले निर्मित यी मूर्तिहरूले मन्दिरको आध्यात्मिक वातावरणलाई सशक्त बनाउँछन्। भक्तहरूका लागि सिंहहरू केवल संरक्षक होइनन्, तर विश्वास, भक्ति र धार्मिक अनुशासनको प्रतीक पनि हुन्।

भीमेश्वर मन्दिरमा सिंहका मूर्तिहरूको उपस्थिति भक्तहरूको तीर्थयात्रालाई आध्यात्मिक अनुभवमा रूपान्तरण गर्छ र मन्दिरलाई नेपालको सांस्कृतिक सम्पदाको महत्वपूर्ण अंश बनाउँछ। जुन आफैमा ऐतिहासिक महत्व रहेको सावित गरेको पाईन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार