“छोराले खोलेको नयाँ कम्पनीको आज उद्घाटन छ रे।” दीपेशका बुबा अलि झर्किएको स्वरमा बोले।
उच्च शिक्षा हासिल गरेर विदेशबाट फर्किएको छोराले अब केही ठूलो काम गर्ला भन्ने आशा दीपेशका बाबुआमाको थियो। उनीहरूले सोचेका थिए—छोराले आफ्नै देशको विकासमा योगदान दिनेछ, स्वदेशमै युवाहरू र बेरोजगारहरूलाई रोजगारी दिनेछ। तर सुरुमा छोराले उनीहरूको चाहनाविपरीत निर्णय गर्दा उनीहरू केही असन्तुष्ट भएका थिए।
“हामीले भनेको मानेन, चित्त बुझेन भनेर के गर्नु र? हेर्नुस् त, कस्तो राम्रो ठाउँमा ठूलो भवन बनाएको रहेछ।” आमाले खुशी हुँदै भनिन्।
“अब आइसकेपछि रिसाउनु हुँदैन,” उनले बिहान छोराले आशीर्वाद माग्दै ढोगेर गएको क्षण सम्झिइन्।
कम्पनी भव्य रूपमा सजाइएको थियो। चारैतिर चहलपहल थियो। तर दीपेशलाई भने निकै चटारो थियो। उसले आफ्ना बाबुआमालाई सम्मानपूर्वक अगाडि लगेर विशेष स्थानमा बसायो र कार्यक्रम सुरु गर्यो।
“मेरा बाबुआमा मेरो जन्मदाता मात्र होइन, मेरा पहिलो गुरु पनि हुनुहुन्छ। उहाँहरूले देखाउनुभएको बाटो र दिनुभएको संस्कारलाई जीवनभर पछ्याउने प्रण गर्दछु।”
छोराको कुरा सुनेपछि बाबुआमाको मनमा रहेको रिस र गुनासो सबै हराइसकेको थियो।
दीपेशले फेरि बोल्न थाल्यो -
“अब म धेरै लामो कुरा गर्दिनँ। यो कम्पनी स्थापना भएको पन्ध्र दिन भइसकेको छ, तर विधिवत् उद्घाटन भने आजको यस विशेष दिनमा हुँदैछ। आज गुरु पूर्णिमाको पावन अवसरमा यस कम्पनीको नामको पर्दा हटाई उद्घाटन गरिदिन र दीप प्रज्वलन गरिदिनका लागि श्री रामप्रसादज्यूलाई हार्दिक अनुरोध गर्दछु।”
“उहाँ शिक्षक पदबाट अवकाश लिनुभएपछि हिजोसम्म यही कम्पनीमा सुरक्षा गार्डको रूपमा कार्यरत हुनुहुन्थ्यो। आज गुरु पूर्णिमाको अवसरमा उहाँलाई यस कम्पनीको प्रमुख पदमा रहेर जिम्मेवारी सम्हालिदिन गुरु दक्षिणास्वरूप अनुरोध गर्दछु।”
दीपेशका शब्दसँगै सबैको आँखा रसाए। बाबुआमाले महसुस गरे—छोराले केवल एउटा कम्पनी खोलेको थिएन, उसले आफ्ना गुरु, अभिभावक र समाजप्रतिको सम्मानलाई नयाँ उचाइ दिएको थियो।
जानकी कर्माचार्य
हरिसिद्वि, ललितपुर
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij