Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

बुबाको मुख हेर्ने दिन : जीवित बुबालाई माया र सम्मान गरौँ

बुबाको मुख हेर्ने दिन : जीवित बुबालाई माया र सम्मान गरौँ

आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन। नेपाली समाजमा यो दिन बुबाप्रति सम्मान, माया, कृतज्ञता र समर्पण व्यक्त गर्ने विशेष अवसरका रूपमा मनाइन्छ।

आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरिन्छ, गुरु पूर्णिमामा गुरुको सम्मान गरिन्छ भने कुशे औँसीमा बुबाको मुख हेरेर उहाँप्रति श्रद्धा र सम्मान प्रकट गर्ने परम्परा छ। बुबा जीवित हुनेहरू उहाँलाई भेट्न घर पुग्ने, मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिने गर्छन्। टाढा वा विदेशमा रहेका छोराछोरीले फोन तथा सञ्चारका माध्यमबाट बुबासँग कुराकानी गरी शुभकामना दिने गरेका छन्।

भौतिक रूपमा बुबा संसारमा नरहनुभएको अवस्थामा भने उहाँको सम्झना गर्दै तस्बिरमा श्रद्धा अर्पण गर्ने, पितृको नाममा श्राद्ध तथा तर्पण गर्ने र विभिन्न तीर्थस्थलमा पुगेर सिदा दान गर्ने परम्परा पनि छ।

संसारको हरेक बिहानी विस्तारै साँझमा परिणत हुन्छ। उदाएको सूर्य अस्ताउनु प्रकृतिको नियम हो। यही दिन र साँझको क्रमसँगै मानिसको जीवन पनि अघि बढिरहन्छ। जीवनको यही चक्रमा मानिस कहिले छोरा हुन्छ, कहिले बुबा; कहिले छोरी हुन्छ, कहिले आमा। यो प्राकृतिक जीवनचक्रसँगै पुस्ताहरू परिवर्तन हुँदै जान्छन्।

हामीमध्ये धेरैले बुबाको हात समातेर तोते बोली बोल्दै लरबराएका पाइला चाल्न सिकेका छौँ। ‘ताते–ताते’ गर्दै हिँड्न सिकाउने, जीवन सजाउन दिनरात खटिने, दुःख–सुखमा साथ दिने र सुरक्षा प्रदान गर्ने बुबाको योगदान शब्दमा पूर्ण रूपमा व्यक्त गर्न कठिन हुन्छ।

सानो हुँदा हाम्रो हरेक आवश्यकता पूरा गर्न बुबाआमाले गरेको त्याग र संघर्ष सम्झिँदा जीवनमा उहाँहरूको महत्व कति ठूलो छ भन्ने महसुस हुन्छ। बुढेसकालमा त्यही बुबाआमाको बलियो लाठी बन्नु नै सन्तानको वास्तविक जिम्मेवारी हो।

हरेक आमाबुबाको मनमा एउटा आशा हुन्छ—‘यी छोराछोरी ठूला होलान्, कमाइ गर्लान् र बुढेसकालमा हामीलाई माया गरेर राख्लान्।’ सानो हुँदा आफ्ना छोराछोरीको फोहोर सफा गर्ने, नुहाइदिने, खुवाउने, रुँदा फकाउने र माया गरेर हुर्काउने अभिभावकले बुढेसकालमा सन्तानबाट त्यही माया र साथको अपेक्षा गर्नु स्वाभाविक हो।

मानिसको जीवन असल सन्तान बन्ने प्रयास र असल अभिभावक बन्ने अभ्यासमै बित्छ। त्यसैले हाम्रो संस्कारले पनि बुवाआमाप्रतिको जिम्मेवारीलाई अत्यन्त महत्वपूर्ण स्थान दिएको छ।

आजको दिन बुबाको भौतिक उपस्थिति हुनेहरूले उहाँको मुख हेरेर आशीर्वाद लिनुका साथै मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्छन्। विदेश वा टाढा रहेका सन्तानले फोन, भिडियो कल वा अन्य माध्यमबाट बुबासँग कुरा गरेर भावनात्मक रूपमा नजिक हुने प्रयास गर्छन्।

भौतिक रूपमा संसारबाट बिदा भइसकेका बुबाहरूलाई भने सन्तानले उहाँको तस्बिरमा श्रद्धा अर्पण गर्दै तथा गोकर्णेश्वर महादेव, बेत्रावती, देवघाट, विष्णुपादुका, बराहक्षेत्रलगायतका पवित्र तीर्थस्थलमा पुगेर पितृको नाममा श्राद्ध, तर्पण र सिदा दान गरी सम्झने परम्परा छ।

धर्म र समुदायअनुसार बुबालाई सम्झने र सम्मान गर्ने विधि फरक हुन सक्छ। तर बुबाप्रतिको माया, आदर, सत्कार र सामीप्यताको भावना सबै संस्कारमा समान रूपमा महत्वपूर्ण छ। हामी आफ्ना बुवाआमाको माया, संस्कार, सपना र संघर्षकै प्रतिफल हौँ। हाम्रो शरीरमा बगेको रगतदेखि हाम्रो संस्कार र जीवनका सपनासम्म अभिभावकसँग जोडिएका हुन्छन्।

तर बढ्दो आधुनिकतासँगै वृद्ध बुवाआमालाई वृद्धाश्रममा राख्ने, समयको अभाव देखाउँदै बेवास्ता गर्ने तथा उहाँहरूको भावनालाई नबुझ्ने प्रवृत्ति पनि देखिन थालेको छ। बुबाआमालाई माया र सम्मान गर्ने जिम्मेवारी कुनै एक दिनमा मात्र सीमित हुनु हुँदैन।

आज सामाजिक सञ्जालमा स्वर्गीय बुबाको तस्बिर खोजी–खोजी राखेर श्रद्धा व्यक्त गर्छौँ। त्यो राम्रो कुरा हो। तर त्यही श्रद्धा जीवित बुबाको जीवनमा पनि देखिनुपर्छ। स्वर्गीय बुबाको तस्बिरमा श्रद्धाञ्जली दिनुभन्दा जीवित बुबालाई समय दिनु, उहाँसँग केहीबेर कुरा गर्नु, उहाँको हात समात्नु र उहाँलाई आफूले माया गरेको अनुभूति गराउनु अझ ठूलो सम्मान हो।

बुबाको माया गर्न धर्मले बाँधेको छैन, समयले छेकेको छैन र भूगोलले पनि स्नेह तथा सम्झनालाई रोक्न सक्दैन। हिउँको कठ्याङ्ग्रिँदो चिसोमा हुनुहोस्, मरुभूमिको गर्मीमा हुनुहोस्, समुद्रपारि हुनुहोस् वा नेपालमै अवसरको खोजीमा संघर्ष गरिरहनुभएको होस्—जन्म दिने बुबालाई एकपटक हृदयदेखि सम्झौँ।

एकपटक बाल्यकालका ती दिन सम्झौँ, जब बुबाको औँला समातेर हामीले संसार चिन्न सिकेका थियौँ। उहाँसँग कुरा गरौँ, मुस्कुराऔँ र आफ्नो माया व्यक्त गरौँ।

सामाजीकरण, सभ्यता र संस्कारको यो चक्रमा मानिस कुनै दिन अभिभावक बन्छ। त्यसैले आजैदेखि असल सन्तान बन्ने र भविष्यमा असल अभिभावक बन्ने संस्कार विकास गरौँ।

यस वर्षको बुबाको मुख हेर्ने अर्थात् कुशे औँसीको अवसरमा संसारभर रहनुभएका सम्पूर्ण बुबाहरूप्रति हार्दिक सम्मान तथा नमन। जीवित बुबालाई माया, समय र साथ दिऔँ; दिवंगत बुबाको सम्झनालाई हृदयमा सधैँ जीवित राखौँ। सम्पूर्ण बुबाहरूमा हार्दिक शुभकामना।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार