Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

घटस्थापना संगै दशै शुरु, दोलखामा परम्परागत जमरा थापना

घटस्थापना संगै दशै शुरु, दोलखामा परम्परागत जमरा थापना

यसवर्षको दशैंको शुरुआत असोज महिनाको १७ गतेको घटस्थापनाबाट शुरु भएको छ । विशेषतः नेपाल राज्य भर नै करीब ८९% नेपाली र नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषी मात्रै नभएर भारत, बङ्गलादेश लगायत अन्य देशहरूमा पनि दशैंलाई विशेष महत्वकासाथ मनाउने गर्छन् । दशैं मूलतः हिन्दूहरुले विशेष प्रमुखताका साथ मनाउँदै आएका छन् । पहिले पहिले आदिवासी जनजाति वर्गका केही जातिले मनाउने गरेका थिएनन्, तर समयको बदलाव संगै उनीहरुले पनि मनाउन थालेका छन् ।

फोटो शिवजी प्रधान, दोलखा

आश्विन शुक्ल प्रतिपदा (परेवा) देखि आश्विन शुक्ल पूर्णिमासम्म मनाइने यो पर्वमा ७ दिन विशेष रूपमा मनाइन्छ भने बाँकी दिन आवतजावत र आरामको हिसाबले हेर्न सकिन्छ । जस्तो कि परेवाको दिन घटस्थापना, सप्तमीको दिन फूलपाती बढाइँ, अष्टमीको दिन दशैं (उपत्यकाको नेवारहरुको कुछिभ्वय्), नवमीको दिन विभिन्न देवी भगवतीको पूजा अर्चना, दशमीको दिन विजयोत्सवको रूपमा टीका ग्रहण र पूर्णिमाको दिनलाई कोजाग्रत पूर्णिमाको रूपमा मनाइन्छ । तर दोलखामा भने यसमा अलिक भिन्नता छ ।

अन्यत्र जस्तै दशैंको रीतिरिवाज एउटै भएपनि दोलखाको पौराणिक शहर भनेर चिनिने अभयपुर नगर भित्र घटस्थापनालाई ’स्वन तइरी’ (फूलको स्थापना) भनेर पर्वको शुरुआत गरिन्छ ।

तेस्रो प्रहरको भाले बासेको आवाज संगै अन्य चराचुरुङ्गीहरु गुँडबाट बाहिर ननिस्केकै बेलामा दोलखाका ६ थरि, ४ गुठियार र एक कुमार बालक सहितको समूह दोलखा शहरको दक्षिण–पश्चिममा रहेको राजहिटी (राइती) तीन धारामा जम्मा भएर स्थानीय पुरोहितले मन्त्र जपेर पूजा गरि सकेपछि कुमार केटोलाई माटाको घैलोमा चोखो पानी थाप्न लगाएपछि अन्य उपस्थितहरुले पनि आआफ्नो घरमा लानको निमित्त चोखो पानी थापेर लग्ने गरिन्छ ।

मूल गुठियारहरुले आआफ्नै कुल देवता थानमा पानी लगेर घट स्थापना गर्ने चलन छ । मुख्यतः दशैंको विशेष कुल घर राजकुलेश्वर कुल मन्दिर, भीमसेन देव मन्दिर र त्रिपुरासुन्दरी मन्दिरमा लगेर घटस्थापना गरिन्छ । यसैबेला खोलाबाट ल्याइएको शुद्ध बालुवा र थोरैमात्र माटो मिसाएर मण्डप जस्तो बनाएर त्यसमाथि जौ तीलले पूजा गरि जौ छर्ने गरिन्छ, त्यसकै बीच भागमा घटस्थापना गरि तरवार, खड्ग, खुकुरी जस्तो हतियारलाई पनि संगै राखेर पूजा गर्ने प्रचलन छ । जुन जौ छरिएको ठाउँबाट उम्रेर आएको विरुवालाई नै जमरा भनेर चिनिन्छ ।

दोलखामा यसै दिनदेखि प्रत्येक कुल देवताहरुमा नेवार जात भित्रकै कसाई र कुसुले वर्गले मालश्री धुनमा बाजा बजाउँदै हरेक देवी भगवतीलाई प्रार्थना गरेको संकेत देखाउने गरेको पाईन्छ । यसै दिनदेखि नै हरेक भजन मण्डलले मालश्रीकै नाममा टफ्फा भजन र बुढ्यौली भजन गाउने गरिन्छ ।

पहिले पहिले दोलखामा माटोको अधिकांश घरहरु भएकोले तल भूईँमा रातोमाटो र घरको भित्तामा सेतो कमेरोले पोत्ने गरिन्थ्यो । यतिबेला कमेरो रातो माटो लिनको लागि १ महिना अगावै लिन जानुपर्ने अवस्था थियोे । तर समय परिस्थिती अनुसार हरेक कुराको फेर बदल संगै कमेरो र रातो माटोको सट्टामा सिमेन्टको प्लाष्टर र डलानले गर्दा त्यो मौलिकता हट्र्दै गएको छ ।

दोलखाको ऐतिहासिक चलनमा रहेका राजा खलक, मन्त्री खलकहरुको घरमा भने सामुहिक रूपमा कुल देवता रहेको घरमै जमरा राख्ने (उमार्ने) चलन भएकोले निजी घरमा राख्दैनथे । यसरी दोलखामा दशैंलाई आमन्त्रण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार