यसवर्षको दशैंको शुरुआत आज असोज महिनाको १७ गतेको घटस्थापनाबाट शुरु भएको छ । दशैको शुरुवात आज पहिलो दिन घटस्थापना !
नेपाली र नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषी मात्रै नभएर भारत, बङ्गलादेश लगायत अन्य देशहरूमा पनि दशैंलाई विशेष महत्वकासाथ मनाउने गर्छन् । दशैं मूलतः हिन्दूहरुले विशेष प्रमुखताका साथ मनाउँदै आएका छन् । पहिले पहिले आदिवासी जनजाति वर्गका केही जातिले मनाउने गरेका थिएनन्, तर समयको बदलाव संगै उनीहरुले पनि मनाउन थालेका छन् ।
प्राचिन शहर दोलखामा आज न्हिलोखु (चोखो पानी) थाप्ने कार्य सम्पन्न हुनुका साथै । स्थानिय गुठीयार, दोलखावासी र थाकतीहरुले आ–आफ्नो कुलघर, कुल्याण र देविकोटमा नवरात राख्नको स्थानिय बाजागाजा साथ लागि चोखोपानी थापेर तिनधारा राईतीबाट थापेर लगी सम्पन्न गरेका छन् ।
दोलखामा यो चाड आश्विन शुल्क प्रतिपदा घटस्थापना देखि पूर्णिमाको दिनसम्म बढो धुमधामका साथ मनाउने गर्दछन् । यो चाडको नौ दिनसम्म नौ दुर्गाको विभिन्न रुपलाई मानेर चण्डी पाठ गर्नुका साथै पूजाआजा गर्दछन् । यसरी मनाइने यो चाड दोलखामा आफ्नै किसिमको मौलिकता र इतिहास बोकेको महत्वपूर्ण महान चाडको रुपमा लिएका छन् ।
ऐतिहासिक तथ्य अनुरुप पहिलादेखि चलिआइरहेको बडा दशैं रामनवमी (चैते दशैं), वैशाख, श्रावण, कात्र्तिक, माध ४ पूर्णिमा, ४ पर्वको निम्ती श्री भीमेश्वर, त्रिपुरासुन्दरी लगायत अन्य देव देवताको पूजा दोलखाका शासक महिन्द्र सिंह देवले गुठीको रुपमा गुठी जग्गा तोकी दिएको तामा्रपत्रबाट थाहा पाउन सकिन्छ । त्यसपछि केही जग्गा थपेर रणबहादुर शाहले वि.सं. १८५० सालमा पुन उक्त गुठी राम्ररी संचालन गर्न गुठी जग्गाको साँध किल्ला तोकेर ताम्रा–पत्र गरी दिएको छ । ताम्रापत्र अनुसार भेड्पु जग्गाको साँध किल्ला पूर्व बेलबोट खेत पिपल्या र सहेल्या, दक्षिण फटक्या खोला, पश्चिम सैलुङको पानी ढलो, उत्तर लटके खोला तोकिएको छ ।
यसरी उक्त जग्गा तोकेर त्यहाँको आम्दानीबाट ४ गुठीयार डोक्लुङ्गा टोल, डोक्छेँ टोल, कोर्छेँ टोल, विहार्छेँ टोललाई जिम्मा दिइएको देखिन्छ । यसरी वडा दशैं उक्त जग्गाबाट आउने आयस्ताबाट चल्ने गरेकोमा हाल आएर उक्त ठाउँबाट कुनै आयस्ता नआएकोले चन्दा उठाइ, श्री भीमेश्वरमा बलि पुजाबाट उठेको रकमबाट गठी संचालन भईरहेको छ ।
भाले बासेको तेस्रो प्रहरको आवाज संगै अन्य चराचुरुङ्गीहरु गुँडबाट बाहिर ननिस्केकै बेलामा दोलखाका ६ थरि, ४ गुठियार र एक कुमार बालक सहितको समूह दोलखा शहरको दक्षिण–पश्चिममा रहेको राइती तीन धारामा जम्मा भएर स्थानीय पुरोहितले मन्त्र जपेर पूजा गरि सकेपछि कुमार केटोलाई माटाको घैलोमा चोखो पानी थाप्न लगाएपछि अन्य उपस्थितहरुले पनि आ–आफ्नो घरमा लानको निमित्त चोखो पानी थापेर लग्ने गरिन्छ ।
मूल गुठियारहरुले आ–आफ्नै कुल देवता थानमा पानी लगेर घटस्थापना नवरात राख्ने चलन रहेको छ । मुख्यतः दशैंको विशेष कुल घर राजकुलेश्वर कुल मन्दिर, भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी मन्दिर संगै आ–आफ्नो कुलघर कुल्याणमा लगेर घटस्थापना गरिन्छ । यसैबेला खोलाबाट ल्याइएको शुद्ध बालुवा र थोरैमात्र माटो मिसाएर मण्डप जस्तो बनाएर त्यसमाथि जौ तीलले पूजा गरि जौ छर्ने गरिन्छ, त्यसकै बीच भागमा घटस्थापना गरि तरवार, खड्ग, खुकुरी जस्तो हतियारलाई पनि संगै राखेर पूजा गर्ने प्रचलन छ । जुन जौ छरिएको ठाउँबाट उम्रेर आएको विरुवालाई नै जमरा भनेर चिनिन्छ ।
देवीकोटको पुजारी, डमरु, उनिहरुको मन्दिरसम्म बाजा बजाएर पु¥याउन जान्छन् । त्यही दिन शुभ साइतमा गणेश स्थनमा विशेष पूजाआजा गरेर बोका बलि दिएर फर्की आएर तलेजु मन्दिर र राजकुलमा गुठीयार पुरोहित र पुजारीले संयूक्त रुपमा जमरा राख्दछ ।
यसरी नै देवीकोट लगायत अन्य देव मन्दिरहरु र टोल टोलका कुल्यानहरुमा जमरा राखिन्छ । त्यस दिन देखी प्रत्येक विहान र साँझ देवस्थलहरुमा दशैँको बाजा बजाउने प्रचलन रहेको छ ।
अन्यत्र जस्तै दशैंको रीतिरिवाज एउटै भएपनि दोलखाको पौराणिक शहर भनेर चिनिने अभयपुर नगर भित्र घटस्थापनालाई ’स्वन तइरी’ (फूलको स्थापना) भनेर पर्वको शुरुआत गरिन्छ ।
दोलखामा यसै दिनदेखि प्रत्येक कुल देवताहरुमा नेवार जात भित्रकै कसाई र कुसुले वर्गले मालश्री धुनमा बाजा बजाउँदै हरेक देवी भगवतीलाई प्रार्थना गरेको संकेत देखाउने गरेको पाईन्छ । यसै दिनदेखि नै हरेक भजन मण्डलले मालश्रीकै नाममा टफ्फा भजन र बुढ्यौली भजन गाउने गरिन्छ ।
पहिले पहिले दोलखामा माटोको अधिकांश घरहरु भएकोले तल भूईँमा रातोमाटो र घरको भित्तामा सेतो कमेरोले पोत्ने गरिन्थ्यो । यतिबेला कमेरो रातो माटो लिनको लागि १ महिना अगावै लिन जानुपर्ने चलन थियोे । तर समय परिस्थिती अनुसार हरेक कुराको फेर बदल संगै कमेरो र रातो माटोको सट्टामा सिमेन्टको प्लाष्टर र डलानले गर्दा त्यो मौलिकता हट्र्दै गएको छ ।
दोलखाको ऐतिहासिक चलनमा रहेका राजा खलक, मन्त्री खलकहरुको घरमा भने सामुहिक रूपमा कुल देवता रहेको घरमै जमरा राख्ने (उमार्ने) चलन भएकोले निजी घरमा राख्दैनथे । यसरी दोलखामा दशैंलाई आमन्त्रण गरिन्छ ।
यस्तो ऐतिहासिक तथ्यमा आधारित चाड दशैंको निम्ती कहिले कहिले, कसरी, कहाँ कहाँ पूजा गर्ने गरिन्छ भन्ने बारे घटस्थापनादेखि द्वादशीसम्म हुने यस्तो प्रकारबाट हुने गरिएको छ ।
घटस्थापनालाई दोलखा नेवारी भाषामा “स्वन तइ” भन्ने गर्दछन् । यस दिन देखि दोलखामा वडा दशैंको चाड शुरु हुन्छ । यसै दिन देखि नव दुर्गाको नौ रुपको पूजा हुने गर्दछ । जुन निम्न अनुसार छन् ।
प्रथम दिन : श्री ब्रम्हायणी देवी
द्वितिय दिन : श्री महेश्वरी देवी
तृतिय दिन : श्री कौमारी देवी
चतुर्थ दिन : श्री भद्रकाली देवी (भैरवी)
पञ्चमी दिन : श्री वराही देवी
छैठौं दिन : श्री इन्द्रायणी देवी
सातौं दिन : श्री महाकाली देवी
आठौं दिन : श्री महालक्ष्मी देवी
नवौं दिन : श्री त्रिपुरासुन्दरी देवी
आश्विन शुक्ल प्रतिपदा (परेवा) देखि आश्विन शुक्ल पूर्णिमासम्म मनाइने यो पर्वमा ७ दिन विशेष रूपमा मनाइन्छ भने बाँकी दिन आवतजावत र आरामको हिसाबले हेर्न सकिन्छ । जस्तो कि परेवाको दिन घटस्थापना, सप्तमीको दिन फूलपाती बढाइँ, अष्टमीको दिन दशैं नेवार समूदायहरुको कुछिभ्वय्, नवमीको दिन विभिन्न देवी भगवतीको पूजा अर्चना, दशमीको दिन विजयोत्सवको रूपमा टीका ग्रहण र पूर्णिमाको दिनलाई कोजाग्रत पूर्णिमाको रूपमा मनाइन्छ ।
लेख संयोजन : तिर्थनारायण जोशी, दोलखा


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij